१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ जेठ १४ बुधबार १२:१४:००
Read Time : > 2 मिनेट
अर्थ

आन्तरिक उडान खुलाउने तयारी, पिसिआर वा आरडिटी परीक्षण प्रमाणपत्र अनिवार्य

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ १४ बुधबार १२:१४:००

हवाई उडान खुला गरिए पनि कोरोना संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । 

यसका लागि खुला गरिने विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो । 

प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिकासमेत पठाइसकेको छ । अन्तर्राष्ट्रिय उडानको पनि निर्देशिकाको तयारी प्राधिकरणले सुरु गरेको छ ।

निर्देशिकामा यात्रु, एयरलाइन्स र विमानस्थल सबै क्षेत्रले पालना गर्नुपर्ने नियमबारे उल्लेख हुनेछ । 

यात्रुले पिसिआर वा र्‍यापिड टेस्टको रिपोर्ट देखाउनुपर्नेछ । यसबाट धेरै हदसम्म उडानमा संक्रमण फैलिन रोक्नेछ ।   

विमानस्थलमा यात्रुहरूबीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचना तयार पारिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । ‘आन्तरिक विमानस्थलहरूलाई निर्देशिका पठाइसकेको र सोहीअनुसार संरचना तयारीमा एयरलाइन्स र विमानस्थल जुटेका छन्,’ क्षत्रीले भने ।

विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनुपर्नेछ । यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । 

यस्ता हुनेछन् नियम ? 

यात्रुले विमानस्थलमा प्रवेश र जहाज उडानदेखि अवतरण गरेर विमानस्थलबाट बाहिरिने वेलासम्म निर्देशिकाअनुसारका नियम पालना गर्नुपर्ने हुन्छ । 

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यात्रुलाई कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशिकामा उल्लेख गरेको छ ।

संक्रमणबाट जोगिन विमानस्थल, चेक इन काउन्टर, र्‍याम्प बस, टिकेटिङ काउन्टर, कार्गोलगायत स्थानमा एक–आपसमा घटीमा १ मिटरको दूरी कायम गर्नुपर्ने हुन्छ । र्‍याम्प बसको क्षमताको ७५ प्रतिशत हुने गरी मात्र यात्रुलाई सेवा दिइनेछ । 

बोर्डिङ हुनुअघि सबैको हात स्यानिटाइज्ड गराइने र एकपटकमा सिट नम्बरअनुसार चारजनालाई प्रवेश गराइने र ओराल्दा पनि चारजनाका दरले ओराल्नेछन् । 

तत्कालका लागि हवाई उडानमा घरपालुवा जनावर ओसारपसार गर्न नपाइने व्यवस्थासमेत लागू गरेको जनाएको छ । 

रुघाखोकी, जिउ दुख्नेलगायत लक्षण देखिएका यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइनेछ । श्वासप्रश्वासका रोगीलाई निषेध गरिनेछ । कोभिड–१९को लक्षण देखिएका यात्रुले अनिवार्य पूर्वजानकारी दिनुपर्ने हुन्छ । 

विमानमा स्यानिटाइज्ड गरिएका पानीबाहेक अन्य खानेकुरामा पूर्ण प्रतिबन्ध लाग्नेछ । 

उडान अवधिभर शौचालय प्रयोगलाई निषेध गरिनेछ । एयरलाइन्सका काउन्टरमा सिसा प्रयोग हुनेछ । 

एयरलाइन्सले कर्मचारी, कार्यालय, मर्मत–सम्भारस्थल, सवारीसाधन र विमानस्थलमा रहेका मेसिन संयन्त्रलाई संक्रमणरहित बनाउनका लागि छुट्टै निर्देशिका तयार गर्नुपर्नेछ ।

सम्पूर्ण सवारीसाधन, र्‍याम्प, बस, भ्यान, ट्याक्टर सञ्चालनअघि बिहान र दिउँसो स्यानिटाइज्ड गर्नुपर्ने हुन्छ । 

‘उडान सुरु हुनुभन्दा एक साताअघि यो निर्देशिका जारी गर्नेछौँ,’ प्रवक्ता क्षत्रीले भने । 

असार पहिलो सातादेखि आन्तरिक उडान खुल्न सक्ने 
उडान खुलाउनेबारे भने निर्णय भइसकेको छैन । तर, असार पहिलो साताबाट आन्तरिक उडान खुलाउने तयारी रहेको क्षत्रीले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय उडानको विषयमा निर्णय नभए पनि सम्भवत: असारको पहिलो साताबाट आन्तरिक उडान खुलाउने गरी छलफल भइरहेको छ,’ प्रवक्ता क्षत्रीले भने । 

बुद्ध एयरद्वारा निर्देशिका तयार, अन्य पनि बनाउँदै 
बुद्ध एयरले उडान निर्देशिका जारी गरिसकेको छ । अन्य एयरलाइन्सले पनि सोहीअनुसार निर्देशिका बनाएर उडानको तयारीमा जुटेका छन् । 

सरकारले विभिन्न सुरक्षा विधि अपनाएर भए पनि हवाई उडान खुलाउनुपर्नेमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । 

‘अब धेरै समय उडान रोक्नुहुँदैन,’ उनले भने, ‘आवश्यक तयारी गरेर उडान खुला गर्नुको विकल्प छैन ।’ 

उडान सुरु गरेर अर्थतन्त्र विस्तार सुरु गर्न सरकारले ढिलाइ गर्न नहुनेसमेत बस्नेत बताउँछन् ।