मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
घम्बर नेपाली
२०७७ जेठ १४ बुधबार १०:२०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

प्रेमवर्जित गणतान्त्रिक राज्य-व्यवस्था

जनयुद्धताका माओवादीले ऐतिहासिक सर्वहारा वर्ग भनेर परिभाषित गरेको दलित समुदाय आज सबैभन्दा बढी हिंसाको मारमा परिरहेको छ 

Read Time : > 5 मिनेट
घम्बर नेपाली
२०७७ जेठ १४ बुधबार १०:२०:००

विगत तीन वर्षदेखि अंकुराइरहेको एउटा निश्चल प्रेमको घाँटी निमोठिएको छ, रुकुम हत्याकाण्डमा । जेठ १० गतेको त्यो कालो साँझमा प्रेमी नवराज विकले मात्र होइन, उनको प्रेमलाई सार्थक बनाउन साथै गएका प्रिय साथीहरूले पनि बलिदान गर्नुप-यो । १८ जना साथी लिएर आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न निस्केकोमा तीनजना कहिल्यै नफर्कने गरी अस्ताए । नवराजका सहृदयी दुईजना मित्र टीकाराम सुनार र गणेश बुढामगरको शव भेट्टिसकेको छ । सञ्जु विक, लोकेन्द्र सुनार र गोविन्द शाही अझै भेरी नदीमा बेपत्ता छन् । ढुंगामुढा र घरेलु हतियारबाट अत्यन्तै पाशविक ढंगले कुटिएर उनीहरूको ज्यान गएको प्रारम्भिक अध्ययनले बताउँछ । बाँकी १२ जना लखेटिँदा-लखेटिँदै प्रहरीको शरणमा पुगेर आफ्नो जीवन बचाउन सफल भए । 

नवराज र उनका साथीहरूले सामाजिक रूपान्तरणको  लडाइँमा आफ्नो अमूल्य रगत सिँचित गरेका छन् । जातीय विभेदलगायत सबै अन्याय र असमानता हटाएर अग्रगामी परिवर्तन चाहने जोकोही यो लडाइँमा लाग्ने नै छन्, समानता, स्वतन्त्रता र मानवताको यो ऐतिहासिक यात्रालाई आफ्नो गन्तव्यमा पुर्‍याएरै छाड्नेछन् ।

दुईजना प्रेमी-प्रेमिकाको विवाहसम्बन्धी सवाल यति डरलाग्दो हत्याकाण्डमा बदलिनुको मूल कारण थियो, जात । नवराज यो समाजले बनाएको कथित अछुत जातलाई प्रतिनिधित्व गर्दथे भने उनकी प्रेमिकाले कथित माथिल्लो जातलाई । यही माथिल्लो र तल्लो जातको पर्खाल नै उनीहरूबीच सबैभन्दा ठूलो अवरोध बन्यो । त्यो सदियौँदेखि गाडिएको अवरोधलाई छिचोल्न उनकी प्रेमिका मात्र होइन, उनका सबै साथीको न्यानो साथ पाएका थिए, नवराजले । अफसोच ! त्यो साथ रुकुम चौरजहारीका सयौँ हिंस्रक जत्थाका अगाडि नकाम साबित भयो । चौतर्फी घेराबन्दीबीच उनीहरूले आफूलाई बचाउने प्रयास गर्दागर्दै क्रूर ढंगले मारिए । यो काण्डले पुनः जात–व्यवस्थाका पहरेदारहरूको भौतिक जित भएको छ । सच्चा प्रेम, न्याय, लोकतन्त्र, विवेक, मानवता र असली गणतन्त्रमाथि गम्भीर प्रश्न उठेको छ । 

जनयुद्धको आधारक्षेत्रमा प्रेमको अर्को बलिदानी : एक्काइसौँ शताब्दीको मानवीय संवेदनालाई नै गिज्याउने यो हत्याकाण्ड जनयुद्धको उद्गमस्थल मात्र होइन, आधारक्षेत्र मानिएको रुकुम जिल्लामा घटेको हो । जसले सामाजिक न्याय, समानता र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग तथा समुदायको मुक्तिका लागि आदर्शको शिक्षा सञ्चार गरेको थियो । त्यही आदर्शको अनुयायी भएर भीषण बलिदानीपूर्ण संघर्षमा सबैभन्दा उत्पीडित दलित समुदायलगायत आमन्यायप्रेमी जनसमुदायको साथ र सहयोग रह्यो ।

परिणामस्वरूप तत्कालीन माओवादीले रुकुम, रोल्पा र अरू जिल्लालाई आधार इलाका घोषणा गरेको थियो । जहाँ कुनै पनि प्रकारको शोषण, विभेद, अन्धविश्वास, रूढिग्रस्त परम्परा र मूल्य-मान्यतालाई अस्वीकार र निषेध गर्ने अभ्यास गरिएको थियो । सबै आधारक्षेत्रलाई छुवाछूतमुक्त घोषणा गरी अन्तरजातीय विवाह र अरू सामाजिक अन्तरघुलनका क्रियाकलाप सुचारु भएका थिए । त्यतिवेला देशका अन्य भूभागमा कार्यरत कार्यकर्ता तथा जनतालाई जनसत्ताको नमुनाबारे बारम्बार लिइने उदाहरण बनेका थिए, रुकुम र रोल्पा । 

नवराज विक, उनकी प्रेमिका र सहृदयी साथीहरू पनि त्यही समाजवादी व्यवस्थाको भ्रूण जन्माउने आधारक्षेत्रमा जन्मिने अवसर पाएका थिए । हरेक विभेद र शोषणबाट मुक्त समाज निर्माण गर्ने माटोको सुगन्धमा हुर्किएका थिए । उनीहरू सबै मानिस समान हुन् भन्ने चेतनास्तरबाट निर्देशित थिए । त्यसैले नवराजकी प्रेमिकाले प्रेम गर्दा कुनै जातको सीमारेखा देखिनन् । उनका साथीहरूले असल प्रेमी-प्रेमिकाको विवाह गराउन थप उत्साहित गरे र साथमा लिएर प्रेमिकाको घरसम्म गए । बुबाले ‘विष्टसँग विवाह गर्न हुँदैन छोरा’ भन्दै गर्दा नवराजले आजको दुनियाँमा पनि त्यस्तो कुरा गर्ने हो ? भन्दै बुबालाई सम्झाए ।

उनीहरूमा देश राजतन्त्रबाट गणतन्त्रमा फड्को मारिसकेको, दशकौँअगाडि नै मुलुक छुवाछूतमुक्त भइसकेको, राम्रै संविधान, कानुन बनिसकेको कुराले आत्मबल बढाइरहेको हुँदो हो । तथापि, यी प्रगतिशील युवापुस्ताले हिजोको त्यो क्रान्तिकारी जनसत्तामा जात–व्यवस्थाको ऐँजेरु झांगिसकेको भेउ नै पाउन सकेनन् । उनीहरूले आदर्श मानेका अभिभावक कमरेडहरूको वैचारिकी र व्यवहारमा लागेको धमिरा उनीहरूले देख्नै सकेनन् । परिणामतः हिजो सारा देश–विदेशलाई क्रान्तिकारी व्यवस्थाको सन्देश दिने आधार इलाकामा आज अन्तरजातीय विवाहका खातिर फेरि तीनजना युवाले आफ्नो अमूल्य जीवन बलिदान दिनुप-यो र तीनजना बेपत्ता हुनुप-यो । 

अन्तरजातीय विवाह : जीवन-मरणको लडाइँ : प्रेमी र प्रेमिकाबीचको अटुट र बलियो प्रेमगाँठो हुँदै हो, अन्तरजातीय विवाह । त्यसभन्दा बढी जातपात र छुवाछूतसम्बन्धी विभेदको अवस्था मापन गर्ने एउटा महत्वपूर्ण सूचक अन्तरजातीय विवाह हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि दर्जनौँ व्यक्तिले अन्तरजातीय प्रेम र विवाहका कारण आफ्नो जीवन नै गुमाउनु परिरहेको छ । हालसालै अन्तरजातीय विवाह गरेकी रुपन्देही देवदह–११ की अंगीरा पासी गत शनिबार मृत फेला परेकी छिन् । लकडाउन सुरु भइसकेपछि बाग्लुङकी सम्झना किसानले आफ्नो पेटमा भएको बच्चा प्रहरी जवान राकेश दवाडीको भएको सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । गत फागुनमा बझाङ जयपृथ्वी–१ का मञ्जन विकको अन्तरजातीय प्रेमका कारण जंगलमा मारेर फालिएको किटानी जाहेरी दिए पनि प्रहरीले अभियुक्तलाई सामान्य सोधपुछ गरेर छोडिदिएको छ । 

अन्तरजातीय विवाहकै कारण हत्या गरिएका अजित मिजारको लास चार वर्षदेखि टिचिङ हस्पिटलमा छ । तर, अहिलेसम्म न्याय पाउन सकेका छैनन् । छोराको अन्तरजातीय विवाहका कारण दैलेखका सेते दमाई मारिए । सप्तरी पेन्सरा–३ का शिवशंकर दासको पनि अन्तरजातीय प्रेमविवाहकै कारण ज्यान गयो । तनहुँकी संगीता परियारले पनि गैरदलितसँग प्रेमविवाह गरेकै कारण जीवन गुमाउनुप-यो ।

आफूले गरेको प्रेम विवाहमा परिणत हुन समाज पर्खाल बनिदिएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले पासो लगाएर आत्महत्या गरे । अन्तरजातीय विवाह गरेका कारण विवाहित जोडी, परिवार र समुदाय नै विस्थापित हुने घटना धेरै छन् । कैयौँ अन्तरजातीय विवाह गर्ने जोडी परिवार र समाजको विभेदलाई पचाउँदै आफ्नो कर्मभूमिमा संघर्षशील छन् । विस्थापित नै नभए पनि जन्म, विवाह, मृत्यु आदि सांस्कृतिक कार्यमा कथित उपल्लो जातबाट बहिस्कार तथा विभेद गरिएका अनगिन्ती उदाहरण भेट्टाउन सकिन्छ । 

यी प्रगतिशील युवापुस्ताले हिजोको त्यो क्रान्तिकारी जनसत्तामा जात–व्यवस्थाको ऐँजेरु झांगिसकेको भेउ नै पाउन सकेनन्, अभिभावक कमरेडहरूको वैचारिकी र व्यवहारमा लागेको धमिरा देख्नै सकेनन् । परिणातः हिजो क्रान्तिकारी व्यवस्थाको सन्देश दिने आधार इलाकामा आज अन्तरजातीय विवाहका खातिर युवाले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो ।

लोकतान्त्रिक गणतन्त्र कि हिन्दू जात–व्यवस्था ? : राणा शासन बहुसंख्यक जनताका लागि चरम अत्याचारी र दमनकारी भयो भनेर ००७ सालमा प्रजातन्त्र ल्यायौँ । राजा महेन्द्रले धोका दिएपछि फेरि ०४६ सालमा आन्दोलन गरेर प्रजातन्त्र पुनस्र्थापित ग-यौँ । देशमा विद्यमान विभेद र असमानता नफेरिएकाले १० वर्षे जनयुद्ध अनि १९ दिने जनआन्दोलनमा होमियौँ । अहिले हामीकहाँ ठूलो मूल्य चुकाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र छ । उत्पीडन र शोषणलाई उन्मूलन गरी समाजवाद स्थापना गर्ने अभीष्ट बोकेको कम्युनिस्ट पार्टीकै सत्ता छ । प्रधानमन्त्री देश अब छुवाछूतमुक्त भइसक्यो, जातको कुरा गरिन्न भन्नुहुन्छ ।

सत्ताको बागडोर सम्हाल्ने सबै माक्र्सवादलाई पानी पारिसकेर कठोर संघर्षबीच स्थापित भएका नेतृत्व छन् । तर, किन जनयुद्धताका माओवादीले ऐतिहासिक सर्वहारा वर्ग भनेर परिभाषित गरेको दलित समुदाय आज सबैभन्दा बढी हिंसाको मारमा परिरहेको छ ? किन नवराज विक र सम्झना किसानहरूले प्रेम र विवाह गर्ने अधिकारका लागि अग्रसर हुँदै गर्दा मर्नु–मारिनु परिराखेको छ ? किन मनवीर सुनारहरू चुलो छोएको निहुँमा मारिनु परिरहेको हो ? किन मलर सदाहरू भोकभोकै मर्न विवश छन्, यो गणतन्त्रमा?

दलित समुदायलगायत सारा उत्पीडित वर्गले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र सारमा जात–व्यवस्थामै आधारित छ । राज्यका सबै निकायमा कथित उच्च जातीय बाहुन, क्षेत्री शासकहरूको दबदबा कायम छ । सीमित केही कानुनी सुधार गर्न खोजिए पनि कार्यान्वयन गर्ने निकायको गठन नै गरिएको छैन । गठन भएका निकायहरू कथित माथिल्लो जातकै नियन्त्रण र निर्देशनमा चलिरहेका छन् । दैनन्दिन सामाजिक व्यवहार जंगबहादुरको पालाकै मुलुकी ऐनको ढाँचामा चलिराखेको छ । कथंकदाचित न्यायको कठघरामा उभ्याइए पनि जातीय शक्तिसंघर्षबाट अपराधीले सजिलै उन्मुक्ति पाउने स्थिति विद्यमान छ । समग्रमा, सिंगो गणतान्त्रिक राज्य संरचना मनुवादमा आधारित जात–व्यवस्थाबाट नराम्रोसित जकडिएको छ । 

न्यायको खोजीमा : रुकुम चौरजहारी नरसंहार जात–व्यवस्थाको पछिल्लो कुरूप र बर्बर शृंखला हो । यसअघिका घटना यति धेरैजनाको ज्यान जाने र बेपत्ता हुने गरी भएको थिएन । तर, यो नै अन्तरजातीय विवाह वा जातीय हिंसाको एक मात्र घटना होइन र अवश्य नै अन्तिम पनि हुनेछैन । जात–व्यवस्था रहुन्जेल यस्ता कैयौँ हत्याकाण्ड निम्तिने सम्भावना जीवित छ । किनकि, समाजमा डम्मरबहादुर मल्ल प्रवृत्ति हावी नै छ । जसले बाहिर क्रान्ति र समाजवादको गफ गरेर कहिल्यै थाक्दैनन्, तर भित्री स्वत्व जात–व्यवस्थाबाट निर्मित भएकाले कुनै पनि वेला सतहमा देखिन बेर लाग्दैन । यो प्रवृत्ति कथित माथिल्लो जातमा मात्र देखिन्छ भन्ने जरुरी छैन, उत्तिकै देखिने सम्भावना दलित समुदायमा पनि छ । 

इतिहासलाई हेर्दा सकारात्मक परिवर्तनका लागि बगेको रगत कतै खेर गएको छैन । नवराज र उनका साथीहरूले पनि सामाजिक रूपान्तरणको यो लडाइँमा आफ्नो अमूल्य रगत सिँचित गरेका छन् । जातीय विभेदलगायत सबै अन्याय र असमानता हटाएर अग्रगामी परिवर्तन चाहने जोकोही विवेकशील व्यक्ति यो अभियानमा लाग्ने नै छन् । समानता, स्वतन्त्रता र मानवताको यो ऐतिहासिक यात्रालाई केही पुरातन तत्वले केही बेर अलमल्याउन खोजे पनि आफ्नो गन्तव्यमा पु-याएरै छाड्नेछन् । 

नेपाली शासक वर्गले प्रायजसो हत्याकाण्डको राजनीतीकरण र जातीयकरण गर्दै आइरहेका छन् । रुकम हत्याकाण्डमा पनि त्यसका लागि उच्च राजनीतिक तहबाटै प्रशस्त चलखेल भइरहेको सूचना विभिन्न स्रोतबाट बाहिर आएका छन् । हत्याकाण्डका विभिन्न प्रमाण यथावत् हुँदाहुँदै पनि निर्मलाकाण्ड नहोला भन्न सकिन्न । त्यसैले सरोकारवाला सबैले चनाखो भएर निरन्तर खबरदारी गर्न जरुरी छ । सत्यतथ्य बाहिर ल्याउन मिडियाकर्मीहरूको भूमिका उत्तिकै जिम्मेवारपूर्ण रहन्छ । प्रहरी, सरकारी वकिल, न्यायालय, कानुन व्यवसायीको भूमिका सबैभन्दा महत्वपूर्ण छँदै छ । विभिन्न रूपमा धाँजा फाटेको दलित आन्दोलनले मात्र होइन, न्याय र मानवताका पक्षपाती सबैले साथ दिएमा नवराजले खोजेको प्रेमले सार्थकता नपाए पनि अपराधीलाई कडा सजाय दिलाउनु नै तत्कालका लागि राहत हुनेछ।