मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १३ मंगलबार २१:१२:००
Read Time : > 1 मिनेट
खेलकुद

प्रशिक्षणमा फर्किए वेस्टइन्डिजका क्रिकेटर

Read Time : > 1 मिनेट
२०७७ जेठ १३ मंगलबार २१:१२:००

कोरोना भाइरस (कोभिड– १९) महामारी सामान्य अवस्थामा फर्किए वेस्टइन्डिजले जुलाई महिनामा इंग्ल्यान्डविरुद्ध टेस्ट खेल्नेछ । त्यही आशाका साथ वेस्टइन्डिजका टेस्ट खेलाडीले प्रशिक्षण थालेका छन् ।

कोरोना भाइरस महामारीका कारण उनीहरू दुई महिना प्रशिक्षणविहीन भएका थिए । यद्यपि, खेलाडीहरूले घरमा फिजिकल फिटनेस भने कायम राखेका थिए । लकडाउनका कारण बाहिर आउन भने सकेका थिएनन् । कप्तान जासन होल्डरसहित अन्य खेलाडीले सोमबार प्रशिक्षण गरेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत साता क्रिकेट खेल सुचारु गर्न एउटा गाइडलाइन्स सार्वजनिक गरेको थियो । आइसिसीको गाइडलाइन्सअनुरूप नै वेस्टइन्डिजका खेलाडीले प्रशिक्षण लिएका छन् । क्रिग्ग ब्राथवेट, साई होप, केमर रोच, साने डोविच, सम्रह ब्रुक्स तथा रयमान राफेलले किङ्सटन ओभलमा बिहानी सत्रमा अभ्यास गरेका छन् । 

बन्द रंगशालाभित्र भएको प्रशिक्षणमा खेलाडीहरूले सामाजिक दूरी कायम राखेका छन् । स्थानीय सरकारले पनि सामाजिक दूरी कायम राख्दै सुरक्षित ढंगले प्रशिक्षण गर्न अनुमति दिएको छ । ‘स्थानीय सरकारले प्रशिक्षण गर्न अनुमति दिएको छ,’ वेस्टइन्डिजको कन्टी क्रिकेट बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीहरूले आइसिसी र स्थानीय सरकारको नियम पालना गरेका छन् ।’ 
वेस्टइन्डिज क्रिकेट बोर्डले आफ्नो चिकित्सक सल्लाहकार कमिटीसँग पनि बन्द रंगशालाभित्र खेलाडीलाई प्रशिक्षण गराउनुअघि वार्ता गरेको थियो । सो वार्ता खेलाडीको स्वास्थ्य सम्बन्धमा केन्द्रित थियो । ‘स्वास्थ्य सल्लाहकार कमिटीसँगको वार्तामा खेलाडीको स्वास्थ्य नै पहिलो प्राथमिकता परेको थियो,’ विज्ञप्तिमा भनिएको छ । 

प्रशिक्षणको क्रममा खेलाडीलाई सहायक प्रशिक्षक रोडी इस्टिवकले हेरेका थिए । यसैगरी बाबाडोर्स क्रिकेट एसोसिएसनका पदाधिकारी पनि रंगशालाभित्र उपस्थित थिए । ‘खेलाडीहरू मैदानमा अभ्यास गर्न पाउँदा खुसी देखिए,’ वेस्टइन्डिज क्रिकेट बोर्डका सिइओ जोनी ग्राभेले भने, ‘प्रशिक्षणमा उपलब्ध खेलाडीहरूको स्वास्थ्य अवस्था राम्रो छ ।’ 

यता क्रिकेट बोर्डले नियमित रूपमा इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) सँग सिरिज हुने वा नहुने विषयमा वार्ता गरिरहेको छ । नियमित कार्यक्रमअनुसार वेस्टइन्डिज इंग्ल्यान्डविरुद्ध तीन टेस्ट सिरिजमा सहभागी हुनेछ । ‘अहिले खेलाडीमा आत्मविश्वास देखिन्छ, उनीहरू सिरिजमा सहभागी हुन चाहन्छन्,’ सिइओ जोनीले भने, ‘हेरौँ अबको दिन कस्तो हुन्छ, हामी आशावादी छौँ जुलाईमा हामी बेलायतमा हुन्छाैँ ।’
२८ मेमा बोर्ड बैठक बस्ने सिइओ जोनीले बताएका छन् । उनी भन्छन्, ‘भिडियो कन्फ्रेन्समार्फत हुने बैठकले एउटा निर्णय लिनेछ ।’ यदि सिरिज रद्द नभए खेलाडीहरूलाई चार्टर्ड विमानमार्फत बेलायत पुऱ्याउने सिइओ जोनीले बताए । उनले भने, ‘यसका लागि बेलायत सरकारको अनुमति चाहिन्छ, इसिबीको सहयोग पनि उत्तिकै छ ।’

यसैबीच इंग्ल्यान्डका टेस्ट खेलाडी स्टुवार्ट बोर्ड, वेन स्टोक्स, क्रिस वार्कस तथा जेम्स एन्डसन पनि प्रशिक्षणमा फर्किएका छन् । कोरोना भाइरसबीच प्रशिक्षणमा इंग्लिस खेलाडी पहिलोपटक प्रशिक्षणमा फर्किएका हुन् ।