मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुकुम घटनाप्रति मानवअधिकार आयोग : अनुसन्धान र शीघ्र कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १३ मंगलबार १५:३५:००

रुकुम पश्चिममा शनिबार घटेको अमानवीय घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगले जातीय विभेदको पराकाष्ठाको रूपमा देखिएको उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार र गणेश बुढामगरको हत्या तथा अन्य तीनजनाको अज्ञात रहेको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

साथै आयोगले रुकुम जिल्लास्थित मानवअधिकार अनुगमन समितिबाट घटनाको अनुगमन भइरहेको जनाएको छ । 

आयोगका प्रवक्ता सचिव वेद भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशैभरि बढ्दो रूपमा रहेका जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी अनुसन्धान र शीघ्र कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आयोगले त्यस्ता घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत भनेको छ । 

आयोगले सो घटना संविधानको धारा २४ बमोजिमको छुवाछुत तथा भेदभावविरुद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा १६ बमोजिमको सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव कसुर ऐन ०६८ तथा नेपाल पक्ष भएको सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ विपरीत भएको अमानवीय र आपराधिक घटना भनेको छ । 

आयोगले घटनाको सूक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।