मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १३ मंगलबार ०६:५८:००
Read Time : < 1 मिनेट
अर्थ

पोखरा महानगरको योजना आफ्नै बैंक, एक वडा एक पब्लिक कम्पनी

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार ०६:५८:००

पोखरा महानगरपालिकाले अगामी आर्थिक वर्षमा पत्येक वडामा पब्लिक कम्पनीको स्थापना गर्ने गरी छलफल अगाडि बढाएको छ । त्यससँगै आफ्नै बैंक स्थापना गर्ने योजना पनि महानगरले बनाएको छ । यसका लागि सहरी योजना आयोगले महानगरको ३८औँ कार्यपालिका बैठकमा अवधारणा पेस भएर छलफल अगाडि बढाइसकेको सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए । 

यिनै योजनामा टेकेर महानगरले रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको उनले बताए । यसरी स्थापित पब्लिक लिमिटेड कम्पनीमार्फत उत्पादनमा लगाउने र महानगरका थप ४० हजारजनालाई रोजगारी दिने उद्देश्य राखिएको छ । यस्ता पब्लिक कम्पनीमार्फत उत्पादित वस्तु तथा सेवा अन्य उत्पादकले भन्दा गुणस्तरीय र सस्तोमा उपभोक्तालाई उपलब्ध हुने उनले दाबी गरे । 

त्यसका लागि ७ अर्ब २० करोड लगानी हुने उपाध्यक्ष डा. लामिछानेले बताए । ३ अर्ब ६० करोड रुपैयाँ महानगरले लगानी गर्ने र त्यति नै रकम नगरवासी नागरिकले लगानी गर्नेछन् । प्रत्येक घरले निश्चित रकम सेयर हाल्ने र त्यहीअनुरूपको स्वामित्व रहने उनले बताए । लगानी गर्न नसक्ने परिवारका लागि महानगरले नै रोजगारी दिएर त्यसको पारिश्रमिकबाट लगानी जुटाउने योजना उनले सुनाए । 

त्यसैगरी, धनीले पनि समान हैसियतमा यस्ता कम्पनीमा लगानी गर्नेछन् । जसका कारण कोही धनी र कोही गरिबको भावना नगरवासीमा नहुने डा. लामिछानेको तर्क छ । ‘लगानी गर्न नसक्ने नागरिकलाई महानगरले रोजगारी दिन्छ । उहाँहरूलाई समस्या आउन नदिई लगानी गर्ने वातावरण हामी बनाउँछौँ । धनी नागरिकले पनि धेरै सेयर हाल्न पाउँदैन । समान सहभागिताले कोही धनी र कोही गरिब भन्ने धारणा आउँदैन र सबैको लगानी भएकाले सबै उत्पादनमा जोडिनुहुन्छ,’ डा. लामिछानेले भने ।