मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १३ मंगलबार ०९:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

सिराहामा थप पाँचजनामा कोरोना संक्रमणको पुष्टि

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार ०९:२१:००

सिराहाको दक्षिणवर्ती भगवानपुर र नवराजपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको छ । 

पछिल्लोपल्ट संक्रमण पुष्टि भएका भगवानपुरका चारजनालाई गएराति धनगढीमाई नगरपालिका ११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा लगिएको छ । भगवानपुरका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण मण्डलका अनुसार चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

भगवानपुरको छिमेकी नवराजपुर गाउँपालिका– १ का १८ वर्षीय युवकमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भगवानपुरका चार र नवराजपुरका एकजना गरी पाँचजनाको पिसिआर जाँचमा संक्रमणको पुष्टि भएको जानकारी दिएको बताए ।

भारतको गुडगाउँबाट २ जेठमा आएका नवराजपुर– १ का १८ वर्षीय युवकलाई नवराजपुरको सोनवर्षास्थित जनता माविमा छुट्टै राखिएको छ । संक्रमण पुष्टि भएकाहरू भगवानपुरका  २५ देखि २९ वर्षका छन् । तीमध्ये तीनजना २ जेठमा भारतको हरियाणाको गुडगाउँ र एकजना दिल्लीबाट आएको खुलेको छ । 

दुई स्वास्थ्यकर्मीको आरडिटी पोजिटिभ

पछिल्लोपल्ट क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीको आरडिटी जाँच गरिएकोमध्ये दुईजनामा पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए । 

प्रमुख यादवका अनुसार औरहीका दुईजना स्वास्थ्यकर्मीको आरडिटी जाँच पोजेटिभ पाइएपछि सोमबार साँझ लहानमा पिसिआर जाँचका लागि स्वाबको नमुना लिइएको छ । 

त्यसअघि सिराहा नगरपालिका र अर्नमा गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी जाँच गरिएकामध्ये दुईजनामा पोजेटिभ पाइएको थियो । उनीहरू पनि छपराढीको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा छन् ।