मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि ज्ञवाली
२०७७ जेठ १३ मंगलबार ०४:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गैरदलित समुदायको चेतनामाथि प्रश्न

Read Time : > 1 मिनेट
शिवहरि ज्ञवाली
२०७७ जेठ १३ मंगलबार ०४:१९:००

चौरजहारी घटनालाई दुई तरिकाले हेर्नुपर्छ । पहिलो, घटनामा सिंगो गाउँ नै संलग्न छ । यो कुनै दुई व्यक्तिबीचको सामान्य मनमुटावको परिणाम होइन । यो सामूहिक नरसंहार हो । दोस्रो, घटना भएको ठाउँ तत्कालीन माओवादी जनयुद्धको ठूलो प्रभाव भएको र छुवाछूतमुक्त जिल्ला पनि हो । यसले स्वभावैले तत्कालीन माओवादीको दलितप्रतिको वैचारिक दृष्टिकोण निर्माणको आधार के थियो भन्ने प्रश्न उठाउँछ । र, हामीले पछिल्लो दशकका राजनीतिक परिवर्तनहरूमार्फत बदलिँदो नेपाली समाजको परिकल्पना गर्दै गर्दा यो घटनाले हाम्रो समाज आधारभूत रूपमा बदलिएकै हो त ? सोच्न बाध्य बनाउँछ । 

यसअघि ०६८ भदौमा दैलेखका सेते दमाईंलाई गैरदलितहरूको समूहले खुकुरीले छातीमा हानेर हत्या गर्‍यो । त्यस घटनामा पनि सिंगो गाउँ नै दलित परिवारमाथि खनिएको थियो । ०६९ असारमा धादिङ पीडा– ५ मूलखर्कमा दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेमविवाह गरेपछि गैरदलितहरूले सिंगो दलितबस्तीमाथि आक्रमण गरे । आक्रमणबाट दलितबस्ती नै विस्थापित भयो । ०७३ मा काभ्रेका अजित मिजार पनि अन्तरजातीय विवाहकै कारण मारिए । उनको शव अझै शिक्षण अस्पतालमा छ । परिवारले हालसम्म न्याय पाएका छैनन् । केही अध्ययनहरूले ०६८ सालमा जातीय भेदभावविरुद्धको ऐन कार्यान्वयनमा आइसकेपछि अन्तरजातीय विवाहकै कारण आत्महत्या र हत्याका घटनाहरू बढ्दै गइरहेको देखाएका छन् । यसबीचमा २५ जना युवाले दलित समुदायकै भएका कारण ज्यान गुमाएका छन् । 

जनयुद्धको समयमा छुवाछूत गर्नेलाई जसरी माओवादी कार्यकर्ताले कारबाही गरे त्यसको डरले पनि कसैलाई दलितमाथि विभेद गर्ने आँट नआएको हुन सक्छ । जनयुद्धको पतनसँगै जनयुद्धमा सहभागी अधिकांश दलित अगुवाको हैसियत जनयुद्ध सुरु हुनुभन्दा पहिलेकै अवस्थामा पुर्‍याइयो । पूर्वपञ्चहरू र उच्च जातकाहरूकै राज्यका हरेक तहमा उपस्थिति यथावत् रह्यो । जब जनयुद्ध पतनपछि गैरदलितमा डर र कानुनी बन्धनले दबाएको जातीय अतिवादी मानसिकता छताछुल्ल भएर आयो । यस्तो प्रवृत्ति सामूहिक रूपमा देखियो न कि व्यक्तिगत रूपमा । अथवा स्वतन्त्र व्यक्तिहरूले पनि समूहको वैचारिक प्रतिनिधित्व गरे, जहाँ न्यायपूर्ण तर्क र तथ्यहरूको कुनै अर्थ रहँदैन । यो घटनामा पनि भएको त्यही हो । 

एकातिर राज्यसंरचनाको बलमा निश्चित समुदायलाई अछुत, अशुद्ध, हीन, अपवित्रको नाममा किनाराकृत बनाउने र अर्को तिनै वर्ण, जात र लिंगका मानिसका श्रम, सेवा र शरीर भोग्दै आफ्नो श्रेष्ठता, पवित्रता र शुद्धतामा गर्वबोध गर्ने । अहिले यो काम हिजोका क्रान्तिकारी भनिनेहरूकै नेतृत्वमा भइरहेको छ । जसरी धर्म, भूगोल र वर्णका आधारमा देशकै प्रधानमन्त्रीले सार्वजनिक रूपमा यस्ता समुदायको बारम्बार अपमान गरिरहेका छन् त्यस्तो देशमा सदियौँदेखि जन्मिँदै विशेषाधिकार पाएको खलकले दलितहरूमाथि सहजै अत्याचार गर्ने वातावरण पाउँछ । अहिले राज्यका सम्पूर्ण निकायहरू एउटै खलकको नेतृत्वमा चलेका छन् । समावेशीकरण र सहभागिता परिवारवादमा सीमित छ । नाजीहरूको नेतृत्व र हाम्रो नेतृत्वको प्रवृत्ति तात्विक रूपमा भिन्न छैन । 

यो घटनाले सिंगो गैरदलित समुदायमाथि प्रश्न उठाएको छ । यो प्रश्न गैरदलित समुदायको चेतनामाथिको प्रश्न हो । यो प्रश्न गैरदलित समुदायमा मानवीय मूल्यमाथिको प्रश्न हो । यो प्रश्न गैरदलित समुदायमा सामाजिकीकरणको प्रश्न हो । र, यो प्रश्न हरेक गैरदलितले आफ्ना सन्तान र आफूलाई अपराधी बनाउने कि मानवीयकरण गर्ने भन्ने हो । हामी जति नै मौन बसे पनि चौरजहारी घटनाले वर्षौंसम्म पछ्याइरहनेछ । र, हामीले एकएक जवाफ आफ्ना सन्तानलाई दिँदै जानुपर्नेछ । एक दिन यस्तो अवस्था आउनेछ आफ्ना सन्तानको जवाफ दिन उनीहरूका अघि आफैँलाई अपराधी स्विकार्नुपर्नेछ ।