मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १२ सोमबार १५:१६:००
Read Time : > 2 मिनेट
अर्थ

साढे चार लाख यात्रुबाहक सवारीसाधन ग्यारेजमा, बैंक ब्याजको मारमा व्यवसायी, हातमुख जोर्ने चिन्तामा यातायात मजदुर

Read Time : > 2 मिनेट
२०७७ जेठ १२ सोमबार १५:१६:००

कोरोना भाइरसको संक्रमण रोक्न गरिएको डकडाउनसँगै सार्वजनिक सवारीसाधन ठप्प छन् ।

कोरोनाले अन्य सबै क्षेत्रलाई धेरै–थोरै प्रभावित परेको भए पनि यातायात क्षेत्र शतप्रतिशत प्रभावित बन्न पुगेको छ । 

गत ११ चैतबाट देशभर लकडाउन भएसँगै  लामो तथा छोटाे दूरीका सबै सार्वजनिक  सवारीसाधन थन्किएका छन् । 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सार्वजनिक सवारीसाधन तत्काल खुल्ने अवस्था देखिँदैन । त्यसैले सार्वजनिक सवारीसाधन थन्कने समय अझै लम्बिने स्पष्ट देखिएको छ । 

लामो समयदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्किँदा यसका पार्टपुर्जाहरू नै खिया लाग्ने, टायरलगायत अन्य पार्टपुर्जाहरूमा समेत नराम्रो असर परेको यातायात व्यवसायीहरू बताउँछन् ।

यही २० जेठपछि पनि यातायात क्षेत्र चल्ने–नचल्ने विषय सरकारले लिने लकडाउनको निर्णयमा भर पर्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

साढे ४ लाख यात्रुबाहक सवारीसाधन ग्यारेजमा
यातायात व्यवसायी महासंघका अनुसार लकडाउनका कारण करिब साढे ४ लाख यात्रुबाहक सवारीसाधन ग्यारेजमा थन्किएका छन्  । 

यस क्षेत्रमा संलग्न दश लाखभन्दा बढी तत्काल बेरोजगार हुन पुगेको महासचिव सिटौलाले बताए ।

त्यसैगरी अप्रत्यक्ष रूपमा यस क्षेत्रमा आबद्ध अन्य लाखौँ बेरोजगार हुन पुगेको उनले बताए । 

सवारीसाधन ग्यारेजमै थन्किएसँगै सवारीसाधनसँग जोडिएका टायर फेर्ने, वर्कसप, गाडी धुनेलगायतका क्षेत्र प्रत्यक्ष रूपमा ठप्प बन्न पुगेका छन् । 

सवारीसाधनमा लगानी गरेका व्यवसायी र यस क्षेत्रमा काम गर्नेहरुलाई राहतका लागि कुनै न कुनै प्याकेज ल्याउनु पर्ने माग महासचिव सिटौलाको छ । 

उनले दिन दिनै कमाएर बैंकको ब्याज तिर्ने र मजदुरलाई पनि ज्याला दिने गरेकोमा ब्यवसाय पूर्ण रुपमा ठप्प बनेपछि अत्यन्त कठिनाई ब्योहर्नु परेको बताए । 

‘सवारीसाधन खोल्ने कुनै  अवस्था छैन, दैनिक ज्यालादारीमा काम गर्ने ती कर्मचारीको अवस्था कस्तो हुन्छ, त्यस्ता खालका बेरोजगारका लागि पनि छुट्टै राहत ल्याउनुपर्ने देखिन्छ, उनीहरूको अवस्था दैनिक कष्टकर बन्दै गइरहेको छ,’ सिटौलाले भने ।

बैंकको ब्याजको पिरलो
हालसम्म चालक र सहचालकलाई सम्बन्धित यातायात प्रालिले राहत उपलब्ध गराउँदै आइरहेको सिटौलाले बताए । 

त्यस्तै व्यवसायीले सवारीसाधनमा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने गरेको जनाएका छन् । सवारीसाधन किन्दा बैंक र वित्तीय संस्थाको ८० प्रतिशतसम्म ऋण लगानी हुने गरेकोमा अहिले त्यसको ब्याजको दबाब थपिएको व्यवसायीहरूको भनाइ छ । 

अर्थमन्त्री युवराज खतिवडाले असार मसान्तसम्ममा ब्याज दिन सकिने बताएको भए पनि लकडाउन लम्बिँदै गएमा असार मसान्तसम्म पनि ब्याज तिर्न सक्ने अवस्थामा नरहेको महासचिव सिटौलाको भनाइ  छ । 

‘बैंकले ब्याजले लकडाउन भन्दैन, केही ब्याज कम गर्न सके पनि हुने हो, नयाँ गाडी किन्नेहरू त झन् मारमा परेका छन्,’ सिटौलाले भने । 

सवारीसाधन खोल्ने विषयमा निर्देशिका तयार पार्दै विभाग 
कोरोना भाइरसको  संक्रमणबाट बच्ने गरी सवारीसाधन पनि चलाउन सकिन्छ कि भन्नेबारेमा छलफलमा जुटेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारीसाधनलाई कसरी परिचालित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विज्ञ, ट्राफिक प्रहरी, मन्त्रालयका अधिकारी, व्यवसायीसँग  छलफल गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

विभागले यसबारेमा निर्देशिका तयार पार्दै गरेको उनले बताए । 

विभागले  तयार पारेको प्रारम्भिक निर्देशिकामा यात्रुले अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने, चालक तथा सहचालकले सुरक्षाको सावधानी अपनाएको हुनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्न नपाइने,  सवारीसाधनमा अनिवार्य रूपमा  ट्रिप नै पिच्छे औषधि छर्कनुपर्नेलगायतका विषय उल्लेख गरिएको उनले बताए । 

‘अहिले निर्देशिकाको मस्यौदा तयार पारेका छौँ, यो मोडलमा जाँदा  हुन्छ कि हुँदैन भनेर विभिन्न  निकायसँग  छलफल गरेर मात्र लागू हुने गरी काम गछौँ,’ हमालले भने ।

तर, सार्वजनिक यातायात सञ्चालन गर्न दिने वा नदिने भन्ने विषयमा लकडाउनबारेको निर्णय र मन्त्रिपरिषद्को निर्णयमा भर पर्ने विभागको भनाइ छ ।