मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ १२ सोमबार १४:३६:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनका कारण सर्लाहीस्थित बागवानीको लिची ठेक्का लागेन

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ १२ सोमबार १४:३६:००

लकडाउनका कारण सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची ठेक्का लाग्न सकेको छैन ।

लालबन्दी नगरपालिकास्थित बागवानीमा उत्पादन भएको लिची ठेक्का नलागेको केन्द्रले जनाएको छ । केन्द्रले लिची बिक्रीका लागि प्रथमपटक १४ लाख १० हजार तीन सय दुई रुपैयाँ मूल्य राखेर बढाबढ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । १५ दिनमा कसैको पनि आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको छ ।

दोस्रोपटक सूचना जारी गरेको केन्द्रले लिचीको ठेक्का मूल्य करिब आधाले घटाएको छ । यसपटक ठेक्का मूल्य सात लाख ९२ हजार आठ सय १८ मात्र कायम गरेको केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले जानकारी दिए । गत वर्ष उक्त बगैँचाको लिची करिब २२ लाखमा ठेक्का लागेको थियो । तर, यसपटक पनि आवेदन पर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ ।

लकडाउनका कारण बजार तथा यातायातका साधन नखुल्ने भएपछि लिची बिक्री–वितरण गर्न नसकिने भएकाले पनि ठेक्का आवेदन नपरेको हुन सक्ने केन्द्रका प्रमुख डा. चौबेको भनाइ छ । ‘ठेक्का लिएर पनि लकडाउनले गर्दा व्यापारीलाई बिक्री गर्न समस्या छ,’ उनले भने, ‘समयमै बिक्री गर्न सकिएन भने ठेक्का डुब्ने डरले पनि कसैले ठेक्का नहालेको हुन सक्छ ।’

बगैँचामा लिची पाक्न सुरु भएको दुई हप्ताभित्रमा ठेक्का र बिक्री सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, ‘पाकेको लिची बोटमा धेरै दिन राख्न सकिँदैन । समयमै टिप्न भ्याइएन भने कुहिएर झर्छ ।’ केन्द्रको १५ बिघा क्षेत्रफल बगैँचामा १६ देखि २० लाख दाना लिची फलेको अनुमान छ । 

आँपको ठेक्का मूल्य पनि आधा घटाइयो
केन्द्रले बगैँचामा रहेको आँपको ठेक्काका लागि पनि १५ दिने बोलपत्र आह्वान गरेको छ । आँपमा पनि केन्द्रले गत वर्षभन्दा आधाले मूल्य घटाएर ठेक्का आह्वान गरेको छ । आँपको उत्पादन वृद्धि भए पनि लकडाउनका कारण बिक्री नहुने देखिएकाले केन्द्रले गत वर्षको भन्दा आधाले मूल्य कम गरेको हो ।

यस वर्ष आँपको न्यूनतम ठेक्का मूल्य १० लाख ११ हजार पाँच सय ६० रुपैयाँ तोकिएको केन्द्रका प्रमुख डा. चौबेले बताए । बागवानी केन्द्रले एक सय २० बिघा क्षेत्रमा आँप उत्पादन गर्दै आएको छ ।