१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ १२ सोमबार ०९:१०:००
Read Time : > 2 मिनेट
सप्तरंग

हास्य कलाकार : कलाकारिताभन्दा टाढाको दैनिकी

हास्य टेलिशृंखलाहरू धमाधम बन्द, महामारी नियन्त्रणको प्रतीक्षामा कलाकार

Read Time : > 2 मिनेट
२०७७ जेठ १२ सोमबार ०९:१०:००

‘कसरी सुटिङ गर्ने ? ‘सक्किगोनि’ कहिलेदेखि पुनः प्रसारण गर्न पाइएला ?’ हास्य कलाकार कुमार कट्टेलको मनमा खेलिरहने प्रश्न हुन् यी । जवाफ उनीसँगै छ, ‘जब संसारबाट कोरोना भाइरसले बिदा लिन्छ, लकडाउन खुल्छ । त्यसैको पर्खाइमा छौँ ।’

सहर सुनसान छ । व्यवसाय, पेसा, कलाकारिता सबै ठप्प छन् । कलाकारले जबर्जस्ती घरभित्रै रहने आदत बसाइरहेका छन् । सुटिङ गर्ने, अन्तर्वार्ता दिने, दर्शकहरूसँग भेटघाट गर्नेलगायत दैनिकी लकडाउनअघिका हुन् । ‘लकडाउनले पहिलेको दैनिकी नै भुलाइदियो,’ कट्टेल भन्छन्, ‘अहिले त पहिलेको दैनिकी सोच्न पनि सकिँदैन ।’

‘सम्भव भएसम्म सीमित कलाकार जम्मा गरेर सुटिङ गर्ने योजना पनि बनाइरहेका छौँ । तर, निकै गाह्रो छ, पिसिआर टेस्ट पनि गर्नुपर्छ । हेरौँ के हुन्छ ।’

२७ चैतसम्म ‘सक्किगोनि’को नियमित प्रसारण भएको थियो । लकडाउनका कारण प्रसारण बन्द हुने सूचना भने ‘सक्किगोनि’को टिमले ९ चैतमै दिइसकेको थियो । त्यसयता केही दिन काठमाडौंमा बिताएर हास्य कलाकार कट्टेल चितवन पुगेका छन् । तरकारी बारीमा काम गर्नु र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा सक्रिय रहनु । कलाकारिताभन्दा परको दैनिकी छ अहिले उनको । ‘म कलाकार थिएँ भन्ने नै वेला–वेला बिर्सन्छु,’ उनी भन्छन्, ‘अब त यसैमा बानी लागिसक्यो।’

हास्य कलाकार पल्पसा डंगोलको दैनिकी पनि कलाकारिताभन्दा परको छ । हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गरिरहेकी उनी अहिले घरको छतमा रोपेका फूल र तरकारीको स्याहारमा लागेकी छिन् । ‘अभिनयको क्षेत्र बन्द छ ।

आफूलाई सक्रिय राख्न पनि तरकारी र फलफूल खेतीलाई समय दिइरहेकी छु,’ उनी भन्छिन् । ‘मेरी बास्सै’ आउँदो मंगलबारसम्मका लागि स्टक छ । लकडाउन सुरु हुनुअघि नै ‘मेरी बास्सै’ टिमले केही शृंखला सुटिङ गरिसकेको थियो । बीचमा थोरै कलाकार भेला भएर पनि सुटिङ गरे । पल्पसा भन्छिन्, ‘अब भने ‘मेरी बास्सै’ पनि बन्द हुने अवस्थामा छ । फेरि सुरु हुनका लागि लकडाउन नै खुल्नुपर्छ ।’

यस्तो वेलामा मानसिक स्वास्थ्यका लागि हास्य खुराकको महत्वपूर्ण भूमिका हुने मनोविद् करुणा कुँवर बताउँछिन् । ‘सर्वसाधारणले टिकटक बनाउँदै रमाउने बहाना खोजिरहेको देखिन्छ, जसले सकारात्मक प्रभाव पार्न सक्छन्,’ उनी भन्छिन्, ‘यो समयमा कसरी आफूलाई खुसी राख्न सकिन्छ भन्ने महत्वपूर्ण कुरा हो । त्यसका लागि कमेडी सिनेमा पनि उपयुक्त माध्यम हुन सक्छन् ।’

यतिवेला मानिसले हास्य रसप्रधान सामग्री खोजिरहेको उदाहरण हो, टेलिशृंखला ‘मेरी बास्सै’ । यो टेलिशृंखलाका विभिन्न एपिसोड नेपालमा युट्युबका टप टेनभित्र ट्रेन्डिङमा आउने गरेका छन् । एकपटक ‘टप थ्री’सम्म पुगेको थियो, ‘मेरी बास्सै’ ।

भारतमा पनि यस्तै लोकप्रियता देखेर हुन सक्छ, भारतीय मनोरञ्जन टेलिभिजन च्यानलहरूले आफ्ना हास्य टेलिशृंखलाका पुराना एपिसोड दोहो-याएर भए पनि दर्शकलाई आफूसँग बाँधिरहने उपाय अपनाएका छन् । यसबीचमा ‘तारक मेहताका उल्टा चस्मा’जस्ता लोकप्रिय कमेडी शृंखलाका पुराना एपिसोड दोहो¥याएर देखाइरहेका छन्, भारतीय टेलिभिजन च्यानलहरूले । 

सिनेमा घरहरू बन्द रहेको र नयाँ एपिसोड सुटिङ गर्न रोकिएको अवस्थामा पुराना एपिसोड दोहो-याउने कदम पनि प्रभावकारी देखिएको ‘दंगल टिभी’का पूर्वसिइओ जय चक्रवर्तीले अनलाइन न्युजपोर्टल ‘द प्रिन्ट’लाई बताएका छन् । यस्तै, चेन्नईस्थित प्रतिष्ठित प्रोडक्सन हाउस ‘गणेश पिक्चर्स’का रवि कोटरकाराले पनि टेलिशृंखला उत्पादक कम्पनीहरूसँग पुराना एपिसोड दोहो-याउनुको विकल्प नरहेको ‘द प्रिन्ट’सँग बताएका छन् ।

‘लकडाउनले पहिलेको दैनिकी नै भुलाइदियो,’ हास्य कलाकार कुमार कट्टेल भन्छन्, ‘अहिले त पहिलेको दैनिकी सोच्न पनि सकिँदैन ।’

नेपालमा पनि लकडाउन खुकुलो हुँदा सुटिङ थाल्ने योजना रहेको, तर कोराना संक्रमण फैलिन थालेपछि फिर्ता हुनुपरेको मिडिया हबका निर्देशक सोम धिताल बताउँछन् । मिडिया हबबाट प्रसारण हुने हास्य टेलिशृंखला ‘भद्रगोल’ र ‘हल्का रमाइलो’ पनि बन्द छन् ।

अर्को टेलिशृंखला ‘उल्टो सुल्टो’ केही समय प्रसारण भएर रोकिएको छ । ‘मेरी बास्सै’ पनि रोकिने अवस्थामा छ । ‘सम्भव भएसम्म सीमित कलाकार जम्मा गरेर सुटिङ गर्ने योजना पनि बनाइरहेका छौँ,’ धिताल भन्छन्, ‘तर, निकै गाह्रो छ, पिसिआर टेस्ट पनि गर्नुछ । हेरौँ के हुन्छ ।’

‘सक्किगोनि’का कलाकार अर्जुन घिमिरे ‘पाँडे’को दैनिकी पनि पारिवारिक माहोलमै सीमित छ । ‘सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । सरकारको आदेश पालना गर्नुको विकल्प छैन,’ उनी भन्छन्, ‘सुटिङ गर्ने अवस्था नै छैन । ५०-६० जनाको टिम हुन्छ । भौतिक दूरीमा बस्नुपर्ने वेला सुटिङ त सोच्न पनि सकिँदैन ।’

उनीहरूको सुटिङस्थल थियो काभ्रे । अहिलेको अवस्थामा त्यति ठूलो टिमका साथ गाउँमा गएर सुटिङ गर्ने वातावरण नभएको उनी बताउँछन् । 

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ हालै चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाबाट काठमाडौं फिरे । श्रीमती कुञ्जना घिमिरेलाई साथमा लिएर उनले कहिले फ्रन्टलाइनमा खटिरहेका प्रहरी र स्वास्थ्यकर्मीको मनोबल बढाउने सन्देशमूलक भिडियो पनि बनाइरहेका छन् । ‘अहिले सबैको मनोबल उच्च राख्नुछ । त्यही हेतुले मोबाइलबाटै खिचेर सर्ट भिडियोहरू बनाइरहेका छौँ,’ उनी भन्छन् ।