भारतबाट भित्रिने बढेपछि विद्यालय भवनलाई बनाइयो क्वारेन्टाइन
सीमा क्षेत्रबाट उद्धार गर्ने कार्य सुरु भएसँगै कामको खोजीमा भारत गएका युवाहरू दैलेख भित्रिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । शनिबार मात्र १२ सयभन्दा बढी दैलेख आइपुगेका छन् । गुराँसे नाका हुँदै दैलेख प्रवेश गर्नेहरूको संख्या बढेसँगै जिल्लाका विद्यालय भवनहरूलाई धमाधम क्वारेन्टाइन बनाउन थालिएको छ । दैलेखको नारायण क्याम्पसमा एक सय ५० जनाका लागि क्वारेन्टाइन निर्माण गरिएको छ ।
सदरमुकाम दैलेख बजारभित्र रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालय र रेडक्रस मावि भुर्तीमा क्वारेन्टाइन निर्माण गरेर व्यवस्थापन गरिएको छ । दिनदिनै भारतबाट आउने बढेपछि व्यवस्थापनमा चुनौती थपिएको महाबु गाउँपालिकाका अध्यक्ष जंग शाहीले बताए ।
विदेशबाट ३९ सयभन्दा बढी भित्रिए
दैलेखमा शुक्रबार र शनिबारसम्म ३९ सय जना भित्रिएका छन् । तर, कुन पालिकामा कहाँबाट कति आए भनेर तथ्यांक राख्न नसकिएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । भारतबाट भित्रने क्रम बढेसँगै स्वाब परीक्षणको दायरा बढाइदिन केन्द्र र प्रदेश सरकारसँग दैलेखका स्थानीय सरकारले आग्रह गरेका छन् । अहिलेसम्म स्वाब परीक्षण भने दुई सय ५१ जनाको मात्र गरिएको छ । र्यापिड टेस्टमार्फत आठ सय ७२ जनाको स्वास्थ्य जाँच गरिएको छ । पिसिआर परीक्षण गरिएको छैन । कोरोना महामारीका वेला सबैलाई संयमता अपनाउन सुरक्षा निकाय र स्वाथ्यकर्मीले सुझाब दिएका छन् ।