मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ११ आइतबार ०९:२८:००
Read Time : > 1 मिनेट
समाचार

पोखरा महानगरको योजना ‘आफ्नै बैंक, एक वडा एक पब्लिक कम्पनी’

Read Time : > 1 मिनेट
२०७७ जेठ ११ आइतबार ०९:२८:००

पोखरा महानगरपालिकाले अगामी आर्थिक वर्षमा प्रत्येक वडामा पब्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने गरी छलफल अगाडि बढाएको छ । योसँगै आफ्नै बैंक स्थापना गर्ने योजना पनि महानगरले अगाडि सारेको छ । 

पोखरा महानगरका मेयर मानबहादुर जिसीले संविधानको मर्मअनुरूप समाजवादउन्मुख अर्थव्यवस्थाका लागि अब यस्ता योजना आवश्यक रहेको बताए । यसका लागि सरकार र नागरिकको उचित साझेदारी हुनुपर्नेमा उनको जोड छ ।

कोरोना भाइरस संक्रमणको वर्तमान अवस्थाले धेरै पाठ सिकाएको बताउँदै उनले भने, 'अब आत्मनिर्भर हुने अर्थतन्त्र आवश्यकता रहेको र प्रत्येक नागरिकलाई उत्पादनमा जोड्ने महानगरको अवधारणाअनुरूप आगामी आर्थिक वर्षमा आफ्नै बैंक र एक वडा एक पब्लिक कम्पनी लिमिटेडको अवधारणासहित अगाडि बढ्ने गरी तयारी भएको छ ।'

उनले भने, ‘संविधानको मर्म र भावनाअनुरूप समाजवादी अर्थव्यवस्थाको आधार बनाउने हाम्रो योजना हो । त्यसका लागि सरकारको आफ्नै बैंक जुन जनताको साझेदारीमा स्थापित होस् । उत्पादनमा हरेक नागरिकलाई जोड्न सकियोस् । कोही नागरिकले आफूलाई तल्लो र माथिल्लो महसुस नगरून् भन्ने हाम्रो प्रस्ट मान्यता हो । त्यसका साथै विपतका वेला महानगरवासीलाई सहुलियत दिने र सहकार्य गर्ने कुरामा पनि यस्तो योजना फलदायी हुने अपेक्षा राखेका छौँ ।’ 

पोखरा महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले यससम्बन्धी अवधारणा महानगरको ३८औँ कार्यपालिका बैठकमा पेस भएर छलफल अगाडि बढिसकेको जानकारी दिए । यिनै योजनामा टेकेर महानगरले रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको उनले बताए । 

यसरी स्थापित पब्लिक लिमिटेड कम्पनीमार्फत नागरिकलाई उत्पादनमा लगाउने र महानगरका थप ४० हजारलाई रोजगारी दिने उद्देश्य छ । यस्ता पब्लिक कम्पनीमार्फत उत्पादित वस्तु तथा सेवा अन्य उत्पादकले भन्दा गुणस्तरीय र सस्तोमा उपभोक्तालाई उपलब्ध हुने उनले दाबी गरे ।  

त्यसका लागि ७ अर्ब २० करोड लगानी हुने उपाध्यक्ष डा. लामिछानेले बताए । तीन अर्ब ६० करोड रुपैयाँ महानगरले लगानी गर्ने र त्यति नै रकम नगरवासी नागरिकले लगानी गर्नेछन् । 

प्रत्येक घरले निश्चित रकम सेयर हाल्ने र त्यहीअनुरूपको स्वामित्व रहने उनले बताए । लगानी गर्न नसक्ने परिवारका लागि महानगरले नै रोजगारी दिएर त्यसको पारिश्रमिकबाट लगानी जुटाउने योजना उनले सुनाए । 

वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले आफ्नै बैंक र वडामा पब्लिक लिमिटेड कम्पनीको अवधारणा माथि कार्यपालिका बैठकमा छलफल भएको जानकारी दिए । उनले भने, ‘राम्रो अवधारणा प्रस्तुत भएको छ । यो योजना कार्यान्वयनमा लैजान सके वडा र नगरवासी समेतको समग्र आर्थिक विकासमा फड्को मार्ने आधार तयार हुन्छ ।’