मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ जेठ १० शनिबार १७:३६:००
Read Time : > 1 मिनेट
खेलकुद

आइसिसीले सार्वजनिक गऱ्यो गाइडलाइन्स

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार १७:३६:००

कोरोना भाइरसको महामारीबीच क्रिकेट खेल सुचारु गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गाइडलाइन्स सार्वजनिक गरेको छ । आइसिसीको मेडिकल एडभाइजरी कमिटीले आफनो चिकित्सक प्रतिनिधिहरूसँग सल्लाह लिएर ‘आइसिसी ब्याक टु क्रिकेट गाइडलाइन्स’ शुक्रबार सार्वजनिक गरेको हो । 

यससँगै फुटबलझैँ क्रिकेटका गतिविधि बिस्तारै सुरु हुने अपेक्षा गरिएको छ । आइसिसीको गाइडलाइन्स अनुसार व्यक्तिगतदेखि समूह बनाएर प्रशिक्षण गर्न पाउनेछन् । कम्तीमा दश खेलाडीबीच प्रशिक्षण गर्न पाउने गाइडलाइन्समा उल्लेख भएको छ । कोभिड– १९ पछि विश्व क्रिकेट कसरी सुरु गर्ने भन्ने छलफलसमेत भएको छ । गाइडलाइन्सबाट घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट पुनः सुचारु गर्न सहयोग मिल्ने आइसिसीले विश्वास लिएको छ । 

यद्यपि गाइडलाइन्स सार्वजनिक गरे पनि आइसिसीले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता कहिलेदेखि सुरु हुने जनाएको छैन । यसबारेमा छलफल भइरहेको आइसिसीको भनाइ छ । आइसिसीले आफ्ना  सम्पूर्णसदस्य राष्ट्रलाई गाइडलाइन्सलाई आधार मानेर गतिविधि सुचारु गर्न भनिएको छ । ती सदस्यराष्ट्रहरूले गाइडलाइन्सलाई परिमार्जित पनि गर्न सकिने आइसिसीले जनाएको छ । आइसिसीले गाइडलाइन्समा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । 

आइसिसीले सरकारको निर्देशन सबै राष्ट्रले पालना गर्नुपर्ने भनेको छ । गाइडलाइन्समा विशेषतः बलरहरूको पक्षमा केही नयाँ नियम उल्लेख छ । क्रिकेटका तीनवटै फर्म्याटमा प्रतिस्पर्धा गर्ने बलरले अब निश्चित नियम पालना गरी मैदानमा फर्कनुपर्ने हुन्छ । विशेषगरी चोटग्रस्त बलरले यो यस्तो नियम पालना गर्नुपर्ने आइसिसीले जनाएको छ । 

चोट लागेको वा शल्यक्रिया भएका बलरले टेस्टमा आठदेखि १२ हप्तासम्म आराम गर्नुपर्नेछ । एकदिवसीय क्रिकेटमा ६ साता र टी–२० खेलमा पाँच साता अनिवार्य रूपमा आराम गर्नुपर्ने आइसिसीको गाइडलाइन्समा उल्लेख छ । यसैबीच इंग्ल्यान्डका १८ बलरले व्यक्तिगत रूपमा प्रशिक्षण सुरु गरेको बिबिसीले जनाएको छ । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध ८ जुलाईमा तीन टेस्ट खेल्ने योजना छ । 

कोभिड– १९ का कारण यो सिरिज हुने वा नहुने निर्णय भइसकेको छैन । तर, इंग्ल्यान्डका बलरले सिरिजअगाडि आफूलाई तयार पार्न व्यक्तिगत अभ्यास गरेका हुन् । स्टुवार्ट बोर्डले दिनमा दुईपटक ट्रेन्ट ब्रिजमा अभ्यास गरेका छन् । एकपटकमा बलरले पाँच ओभर अभ्यास गरेका छन् । गत मार्चदेखि अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेट प्रतियोगिता स्थगित भएका छन् । 

जर्मनीको बुन्डेस लिगा फुटबलझैँ क्रिकेटका प्रतियोगिता पनि सुरु हुने अपेक्षाका साथ क्रिकेटर बसेका छन् । कोभिड १९ का कारण धेरै अन्तर्राष्ट्रिय सिरिज पनि स्थगित भए । पाकिस्तानले तालिकाअनुसार इंग्ल्यान्डविरुद्ध अगस्तमा तीन टेस्ट र टी–२० खेल्नेछ । तर, कोरोना कारण इंग्ल्यान्डले आसन्न सिरिज गुमाउन सक्ने अवस्थामा रहेको बिबिसीले जनाएको छ । यसैबीच इंग्ल्यान्डले खाली रंगशालामा गराउने प्रयासमा छ ।