मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन दुई महिना नाघ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १० शनिबार १६:२०:००

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनले दुई महिना नाघेको छ ।

लकडाउन कार्यान्वयनमा ल्याइएको शनिबार ६१औँ दिन पुगेको छ । 

गत ११ चैतदेखि जारी गरिएको लकडाउन पटकपटक समय थप गर्दै आउँदो जेठ २० गतेसम्म पुऱ्याइएको छ । 

लकडाउनका वेला सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर हिँडडुल गर्न निषेध गरिएको छ । त्यसैगरी अत्यावश्यक सेवाका सवारीसाधन र पासबाहक सवारीसाधनबाहेक सडकमा अन्य सवारीसाधनलाई चल्न निषेध गरिएको छ । 

जसले गर्दा लकडाउनका वेला देशका मुख्यमुख्य राजमार्गदेखि भित्रीसडकसम्म सुनसानजस्तै बनेका छन् । 

अत्यावश्यक सवारीहरू भित्रीसडकमा पनि गुडेका छन्, तर न्यून मात्रामा । चोकचोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । 

काठमाडौं उपत्यकासहित देशका मुख्यमुख्य सहरहरूमा आर्थिक गतिविधि ठप्प छन् । 

बिहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनका लागि खोल्न दिने गरिएको छ । 

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा अलि  कडाइ बढाएको छ । 

पास वितरणमा कडाइ गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरूको चेकजाँचमा पनि कडाइ गरिएको छ । 

सरकारले ११ चैतदेखि पहिलोपटक एक साताका लागि लकडाउन घोषणा गरेको थियो । 

त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लकडाउन गरियो । 

त्यसपछि तेस्रोपटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लकडाउनलाई चौथोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म पुऱ्याइयो । 

त्यसपछि पुनः १० दिनका लागि लकडाउन थप भएर वैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँपटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थपेको थियो । 

संक्रमणको दर बढ्दै गएपछि सरकारले फेरि निर्णय गरी जेठ २० गतेसम्म पुनः लकडाउनको अवधि बढाएको छ ।