१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १० शनिबार १५:४६:००
Read Time : > 1 मिनेट
समाचार

धादिङका किसानलाई कोरोनाभन्दा पनि फौजी किराको त्रास

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार १५:४६:००

धादिङका किसानलाई यतिवेला कोरोना संक्रमणको भन्दा पनि अमेरिकन फौजी किराको डर छ। लकडाउनको समयमा पनि यहाँका किसान दिनरात नभनी कृषि कर्ममा खटिइरहेका छन्। 

तर, अमेरिकन फौजी किराले बालीनाली सखाप पार्न थालेपछि किसामा चिन्ता छाएको छ। विशेष गरेर मकैबालीमा फौजी किराले क्षति पुर्‍याउन थालेको किसानहरूले बताएका छन्।
  
वर्षभरि खान भनेर लगाएको मकैबाली फौजी किराले सखाप पारेको गल्छी गाउँपालिका– १ की पुतली परियारले बताइन्। ‘फौजी किराले धानचमर आउने वेला भएको मकै सत्यानास गरेको छ,’ उनले भनिन्, ‘हामीलाई यतिवेला कोरोना भाइरसले भन्दा पनि फौजी किराले धेरै सताएको छ। लगाएको बाली सबै यही किरालाई ठिक्क हुने भयो।’ 

एकरातमै बारी नै बाँझो हुनेगरी फौजी किराले मकै नास गरिरहेको उनले बताइन्। ‘दिनमा राम्रै देखिएको मकै भोलिपल्ट बिहान भाँचिएको र किराले खाएर ढलेको अवस्थामा भेटिन्छ। साना मकै त किराले गुभोसम्मै खाएको छ। अर्को वर्ष वेलैमा अनिकाल लाग्ने भयो,’ चिन्तित हुँदै उनले भनिन्।

परियार मात्र होइन, जिल्लाभरका किसान यतिवेला अमेरिकन फौजी किराको आतंक झेलिरहेका छन्। किसान आफ्नो बलबुतामा फौजी किरा नियन्त्रण तथा रोकथाममा लागेका छन्। तर, किरा नियन्त्रण हुनुको साटो उल्टै फैलिँदै गएको छ। 

विषादी छर्दा पनि मकैमा लागेको फौजी किरा नमरेको अर्का किसान रेसमप्रसाद खतिवडाले बताए। उनले भने, ‘फौजी किरालाई विषमै डुबाउँदा पनि नमर्ने रहेछ। यस्तै अवस्था हो भने अब गाउँका कसैले पनि मकैबाली भित्र्याउन पाउँदैनन्।’ 

जिल्लाका अधिकांश किसानले मकैबाली लगाएका छन्। तर, सबै किसानको हालत परियार र खतिवडाकै जस्तो छ। खेतबारीबाट उब्जिएको अन्नबालीको भरमा घर व्यवहार चलाउँदै आएका किसान अहिले फौजी किराको कारण हातमुख जोड्ने चिन्तामा परेका नीलकण्ठ– ३ का होमनारायण श्रेष्ठले बताए।

गल्छी गाउँपालिका, नीलकण्ठ नगरपालिका, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकालगायत धादिङका सबैजसो स्थानीय तहमा फौजी किराको प्रकोप देखिएको छ। कृषि ज्ञान केन्द्र धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले जिल्लाभर नै फौजी किराको प्रकोप देखिएको बताए।