Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो
२०७७ जेठ १० शनिबार १२:५९:००
Read Time : > 1 मिनेट
समाचार

कोरोनाका कारण नारायणहिटी संग्रहालयको गुरुयोजना अघि बढेन

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार १२:५९:००

कोरोना भाइरस संक्रमण त्रासका कारण नारायणहिटी दरबार संग्रहालय, केशरमहल र गणतन्त्र स्मारक समेटेर बनाउने भनिएको गुरुयोजना अघि बढ्न सकेको छैन ।

सरकारले  गत फागुनमा नाराणहिटीदेखि गणतन्त्र स्मारकसम्मलाई समेटेर गुरुयोजना निर्माण बनाउने गृहकार्य गरेको थियो । 

त्यसवेला गुरुयोजना तयार पार्नका लागि उच्चस्तरीय छलफल थालिएको थियो । त्यसपछि यस योजनाका लागि केही काम अघि बढेको भए पनि कोरोनाको संक्रमणकाे त्रास फैलिएपछि तत्कालका लागि गुरुयोजनाको काम पछि धकेलिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा यी क्षेत्र समेटेर विस्तृत गुरुयोजना बनाउने प्रस्ताव  गरिएको थियो । 

त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा गुरुयोजना बनाएर काम अगाडि बढाउने निष्कर्ष निकालिएको थियो । 

त्यतिवेला गुरुयोजना बनाएर निर्माण कार्यलाई अगाडि बढाउने भनिए पनि सरकारले आगमी आवको नीति तथा कार्यक्रममा भने याे विषय समेटेको छैन । 

पुनर्निर्माण प्राधिकरण अधिकारीहरू भने नीति तथा कार्यक्रममा नसमेटिएको भए पनि कोरोनाको संक्रमण साम्य भएपछि यसबारे कार्य अघि बढाउने बताउँछन् ।

दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले कोरोना भाइरसको त्रासपछि संग्रहालयको व्यवस्थितिकरण र गुरुयोजनालाई अगाडि बढाइने बताए । 

‘कोरोना भाइरसको असर कस्तो पर्छ अहिले नै  केही भन्न सक्ने अवस्था छैन, कोरोनापछि मात्र यसअघि भएका सहमतिलाई निरन्तरता दिन्छौँ,’ उनले भने । 

केशरमहलको प्रबलीकरण कार्य थालिएको थियो । कोरोना भाइरसको संक्रमणपछि पुनर्निर्माणको काम पनि प्रभावित हुन पुगेको उनले बताए । 

त्यसैगरी नारायणहिटी संग्रहालयभित्रका भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको पनि पुनर्निर्माण गरी  संग्रहालयलाई थप परिमार्जन गर्ने कार्य पनि चलिरहेको थियो । 

साथै संग्रहालयमा तत्कालीन राजा वीरेन्द्रले प्रयोग गरेको निवास, उनले प्रयोग गरेको सरसामानको  प्रदर्शन गर्ने गरी काम थालिएको थियो । 

तर, कोरोना भाइरसका कारण उक्त निर्माणको काम पनि रोकिएको छ ।