Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ १० शनिबार १२:२६:००
Read Time : < 1 मिनेट
समाचार

धुलिखेल अस्पतालमा दैनिक स्वाब परीक्षण हुने

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १२:२६:००

धुलिखेल अस्पतालमा अब दैनिक स्वाब परीक्षण हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले दैनिक पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिने भएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले आज १० जेठबाट दैनिक स्वाब संकलन तथा परीक्षण गर्ने निर्णय गरेको हो । यसअघि धुलिखेल अस्पतालले हप्तामा दुई दिन मात्र स्वाब संकलन गर्ने गरेको थियो ।

बैठकले धुलिखेल अस्पतालमा रहेको आइसोलेसन बेडको क्षमता बढाएर ५० पुऱ्याउने पनि निर्णय गरेको छ । कोरोना परीक्षण ल्याब रहेकाले आइसोलेसन बेडको क्षमता बढाउनुपरेको प्रजिअ तिमिल्सिनाले बताए । हाल धुलिखेल अस्पतालमा आठ बेडको आइसोलेसन कक्ष रहेको छ । त्यस्तै, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष रहेको छ ।

त्यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले धुलिखेलमा तीन सय र बनेपामा तीन सय गरी ६ सय बेड क्षमताको जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गर्ने पनि निर्णय गरेको छ । विभिन्न जिल्ला तथा विदेशबाट आएकालाई स्वास्थ्य परीक्षण रिपोर्ट नआएसम्म राख्न क्वारेन्टाइन निर्माण गर्न लागिएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।

अहिले धुलिखेल नगरपालिकास्थित सञ्जीवनी माविमा ६५ बेडको क्वारेन्टाइन रहेको छ । त्यसैलाई बढाएर तीन सय बेड क्षमताको बनाइने र बनेपा नगरपालिकास्थित बनेपा प्राविधिक विद्यालयमा तीन सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको उनले बताए । बैठकले क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाबाट पाँच लाख र गाउँपालिकाबाट तीन लाख रकम संकलन गर्ने पनि निर्णय गरेको छ ।