मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १९ सोमबार
  • Monday, 01 June, 2020
नविन अर्याल काठमाडाैं
२०७७ जेठ १० शनिबार १०:१२:००
समाचार

त्रिवि परिसरको  प्राकृतिक संसार

नविन अर्याल काठमाडाैं
२०७७ जेठ १० शनिबार १०:१२:००

कोभिड–१९ को महामारी हुँदैनथ्यो भने त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यतिवेला खेलाडीहरू बलिङ र ब्याटिङ गरिरहेका हुन्थे । उनीहरूको प्रदर्शनमा चौरमै बसेर रमाइरहेका दर्शकको भिड हुन्थ्यो । मुलुककै एक मुख्य त्रिवि क्रिकेट मैदानमा राष्ट्रियस्तरका खेल सञ्चालनको तालिका तय भइसकेको थियो । तर, दुई महिनादेखि क्रिकेट मैदानको गेटमा ताला झुन्डिएको छ । अहिले यहाँ न क्रिकेट खेल्न खेलाडी पुग्छन्, न त दर्शक । मैदानभित्र सरसफाइ कर्मचारी मात्र देखिन्छन् । कोरोना भाइरसको प्रसार रोक्न सरकारले देशव्यापी लकडाउन गरेपछि क्रिकेट मैदान सुनसान बनेको हो । लकडाउन खुलिहाले पनि त्रिवि मैदानमा क्रिकेट प्रतियोगिता तत्काल सुरु हुने सम्भावना छैन । कारण– भौतिक दूरी कायम गर्न कठिन हुने खेलमध्येमा पर्छ, क्रिकेट पनि ।

करिब एक सय ५५ हेक्टरमा फैलिएको मुलुकको पहिलो त्रिभुवन विश्वविद्यालय परिसर नै सुनसान छ अहिले । लकडाउनयता पठनपाठन ठप्प छ । त्रिवि परिसरबाटै गुड्ने सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्किएका छन् । शनिबार र अन्य बिदाका दिनमा पनि चहलपहल रहने त्रिवि परिसरमा सन्नाटा छ, अहिले ।

त्रिवि परिसरको अर्को परिचय हो, यहाँको प्राकृतिक वातावरण । काठमाडौं उपत्यकाको कंक्रिटको जंगलबाट त्रिवि परिसरमा पुग्दा नजिकको वन क्षेत्रमै पुगेको अनुभूति हुने गर्छ । हरियालीभित्र चराचुरुंगीको आवाजले विरक्तिएको मन पनि बहलाउँछ । दुःख र पीडा बिर्साइदिन्छ अनि आनन्दानुभूति गराउँछ । त्यो प्राकृतिक वातावरण त कोरोना भाइरसले कसरी खोस्न सक्थ्यो र ! खाली त्यसको आनन्द लिन त्रिवि परिसर पुग्ने मानिस भने लकडाउनले अड्किएका छन् सहरतिरै । त्रिवि परिसरको शान्त वातावरणबीच चराचुरुंगी सडकमै उफ्रिरहेको देखिन्छन् । त्रिविभित्र हिँडिरहँदा कुनै ध्यान केन्द्रमा प्रवेश गरेको अनुभूति हुन्छ अहिले ।

त्रिविको प्रशासनिक भवनको गेटमा सुरक्षा गार्डले पहरा दिइरहेका छन् । सामान्य दिनमा गेटअघिल्तिर सडकको दायाँ–बायाँ लस्करै बसिरहेका हुन्थे, चनाचटपटे र पानीपुरी बिक्री गरिरहेका व्यवसायी । अहिले न ती व्यवसायी छन्, न त तिनका ग्राहक नै ।

त्रिवि परिसरको खुला ठाउँ बाइक र स्कुटर सिक्नेका लागि गतिलो गन्तव्य थियो । अहिले फाट्टफुट्ट मात्र देखिन्छन्, सिकारु चालकहरू । खासगरी, त्रिवि सेवा आयोग छेवैको चौर सामान्य दिनमा बाइक सिक्नेहरूले व्यस्त रहन्थ्यो दिनभर । त्रिविका शिक्षा र विज्ञान केन्द्रीय विभागअघिल्तिर पनि सिकारु चालकहरू डराई–डराई बाइक चलाइरहेका हुन्थे । त्रिवि प्रशासनले ‘यहाँ बाइक सिकेमा १० हजार जरिवाना गरिनेछ’ भनेर सूचना नै टाँस्दा पनि अटेर गर्थे उनीहरू ।

एक मध्याह्न त्रिविको व्यवस्थापन केन्द्रीय विभागअगाडि आधा दर्जन कुकुरले पहरा दिइरहेका थिए । सामुन्नेमा रहेका पुस्तक पसल र क्यान्टिन बन्द थिए । त्रिविको मुख्य भवन परिसरमा रहेको चौरका कुर्सी खाली देखिन्छन् । कुर्सीमा बसेर पढ्ने र गफिने विद्यार्थी देखिँदैनन् । त्रिविआसपासका बासिन्दा पनि यता पस्दैनन् अहिले । किनकि, सरकारले कोरोना भाइरसबाट बच्न घरभित्रै बस्न आग्रह गरेको छ । सामान्य दिनमा स्थानीय बासिन्दा त्रिवि परिसरमै सुस्ताइरहेको देखिन्थे । कीर्तिपुरमा डेरा लिएर बस्ने विद्यार्थी बिदाका दिनमा पनि चौरमा बसेर पढिरहेका हुन्थे । अहिले ती विद्यार्थी काठमाडौंबाहिर आ–आफ्ना घर फर्किएका छन् ।

अर्थशास्त्र केन्द्रीय विभागको गेटमा ताल्चा मारिएको छ । बाहिरपट्टि भने ढकमक्क फुलेका फूलले आगन्तुकको प्रतीक्षा गरिरहेको भान हुन्छ । सरसफाइ कर्मचारीमध्ये कोही घाँस काटिरहेका देखिन्छन् भने कोही फूल गोडमेल गरिरहेका । 

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), गणित विभाग, कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी, भौतिक विज्ञान, वनस्पतीशास्त्र, रसायनशास्त्रलगायत केन्द्रीय विभाग सुनसान छन् । त्रिवि केन्द्रीय पुस्तकालय पनि बन्द छ । ठ्याक्कै अगाडि रहेको पूmलबारीमा रंगीबिरंगी फूलहरूले भर्खरै वसन्त ऋतु बिदा भएर गृष्म ऋतु सुरु भएको संकेत गर्छन् ।

त्रिवि परिसरभित्रै रहेको एउटा भवनमा भने बिहानदेखि राति अबेरसम्म ठाकठुक र र्‍याइँर्‍याइँ आवाज सुनिन्छ । मानौँ त्यहाँ कुनै उद्योग या मोटर ग्यारेज सञ्चालनमा होस् । सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र हो यो । केन्द्रमा अहिले कोभिड–१९ बाट बच्न आवश्यक भेन्टिलेटर, नर्सिङ रोबोट, कोरोना टेस्टिङ बुथ, एरोसल बक्स बनाउने काम भइरहेको पुन बताउँछन् । 

उनका अनुसार केन्द्रमा अहिले १०÷१२ जना वैज्ञानिकले आवासीय रूपमा दिनरात काम गरिरहेका छन् । यो केन्द्र त्रिवि व्यवस्थापन विभागको डिनको कार्यालयनजिक छ, जहाँ शिक्षा केन्द्रीय विभाग अघिल्तिरबाट त्रिवि छापाखाना, व्यावहारिक विज्ञान र प्राविधिक अनुसन्धान केन्द्र हुँदै पनि पुग्न सकिन्छ ।

व्यवस्थापन विभागको डिनको कार्यालय रहेको ठाउँमा तारबार छैन । त्यसैले, बाहिरबाट सर्वसाधारण निर्वाध प्रवेश गर्न सक्छन् । एक महिला आफ्ना सन्तानलाई त्यतै डुलाउँदै गरेको भेटिइन् । ‘उनीहरूलाई भुलाउन यता आएको,’ उनी भन्दै थिइन् । सामान्य दिनमा मर्निङवाक र इभिनिङवाकमा निस्किए सर्वसाधारण अहिले त्रिवि परिसरमा देखिँदैनन् । ती महिलाजस्तै फाट्टफुट्ट स्थानीय बासिन्दा मात्र घुमिरहेको देख्न सकिन्छ ।