युवा पुस्ता त डिजिटल प्रविधिमा अभ्यस्त छ । उनीहरूका बुबा–आमा पनि त्यसबाट धेरै टाढा छैनन् । तर, अहिले हजुरबुबा–हजुरआमाको उमेरमा रहेका ज्येष्ठ नागरिक आधुनिक प्रविधिबाट टाढा छन् । उनीहरूलाई प्रविधिमैत्री बनाउने समय पनि हो यो । भर्चुअल दुनियाँमा प्रवेश गराउन सकियो भने उनीहरूले चाहेका सामान मोबाइलमै हेर्दैै खरिद गर्न सक्नेछन् ।
-अधिकांश ज्येष्ठ नागरिक मोबाइलमा नम्बर थिच्न र परिवारसँग कुरा गर्न सक्ने भएका छन् । अब उनीहरूलाई इन्टरनेट चलाउन सिकाइयो भने त्यसमार्फत उनीहरू आफन्तजनसँग भिडियो च्याटमा रमाउन सक्नेछन् । कतिपय ज्येष्ठ नागरिक टिकटकमा पनि देखिन थालेका छन्, यो सकारात्मक सुरुवात हो ।
-कोभिड–१९ को महामारीबाट बच्न लगाइएको लकडाउनले मानिसलाई अनलाइन भुक्तानीमा पनि अभ्यस्त हुन सिकाएको छ । हजुरबुबा–हजुरआमालाई पनि मोबाइलबाटै भुक्तानी गर्न सिकाउने हो भने इच्छाएको सामान आफैँ मगाउन सक्नेछन् । त्यसैले, उनीहरूलाई अनलाइन कारोबार सिकाउनु आवश्यक छ ।
-डिजिटल युगमा नुनदेखि सुनसम्म अनलाइनमै उपलब्ध छन् । हजुरबुबा–हजुरआमालाई कपडा, तरकारी, गरगहना पाइने अनलाइन स्टोर देखाइदिनुपर्छ । आफ्नो क्षमताले भ्याउने सामान उनीहरू त्यही स्टोरबाट खरिद गर्न सक्छन् ।
-उनीहरूलाई युट्युबलगायत डिजिटल प्लेटफर्म या मोबाइल एप हेर्ने तरिका सिकाउन सक्दा आफूले चाहेको कथा सुन्ने र हेर्ने बानी लाग्छ । अनि ई–बुक डाउनलोड गर्न सिकाउँदा आफूले चाहेका पुस्तक छानीछानी पढ्न पाउँछन् ।
-उनीहरूलाई यतिवेला नै हो, डिजिटलसम्बन्धी तालिम दिने । सबैका हजुरबुबा–हजुरआमा आफैँमा इतिहास हुन् । त्यसैले प्रविधिमैत्री बनाएर उनीहरूलाई अझ बढी अपडेट बनाउन सक्नु ठूलो उपलब्धि हुन सक्छ ।