मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १० शनिबार ०८:०४:००
Read Time : > 1 मिनेट
सप्तरंग

गायक सन्दीप लामिछाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १० शनिबार ०८:०४:००

कोभिड–१९ को महामारी नहुँदो हो त यतिवेला लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा आफ्नो स्पिन बलिङको जादु देखाइरहेका हुन्थे ।

तर, महामारीले यो सिजनको आइपिएल नै अनिश्चित बनाइदियो । यहीवेला उनले नयाँ गीत ल्याएका छन्, ‘समर्पित’ शीर्षकमा । शाहिल जमिर अलीको शब्दमा सन्दीपले स्वर दिएका छन् । गीतमा सन्दीप र शाहिलको कम्पोज तथा कमल रानाको संगीत छ । क्रिकेटसँगै गायन करिअर पनि सुरु गरेका हुन् सन्दीपले । दुवैलाई समानान्तर अगाडि बढाइरहेका छन् । यसअघि उनले ‘बगी जाने खोला’, ‘भेटुँ कसरी’, ‘रुम नम्बर ट्वान्टी फाइभ’लगायत गीत ल्याएका थिए ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको सय बलको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ तथा इन्डियन प्रिमियर लिग (आइपिएल) दुवै अनिश्चित बनेको फुर्सदलाई क्रिकेटर सन्दीप लामिछानेले नयाँ गीतमार्फत सदुपयोग गरेका छन् ।

सन्दीपले आफ्नो गीतसँगै समकक्षी खेलाडीहरूलाई संकटको यो समयमा उपलब्ध खाली समयलाई कुनै रचनात्मक काममा सदुपयोग गर्न प्रेरित गरेका छन् । ‘हामीले यो गीतका लागि लामो समयदेखि मिहिनेत गरेका छौँ । बिग बास लिग खेल्न अस्ट्रेलिया जाँदादेखि नै मैले यो गीतको तयारी थालेको हुँ,’ उनले ट्विटरमा लेखेका छन् ।

सन्दीप बिग बास लिग खेल्न गत पुसमा अस्ट्रेलिया गएका थिए । विश्वका प्रायः ठूला फ्रेन्चाइज क्रिकेट लिगमा आफूलाई स्थापित गराइसकेका उनले यस वर्ष खेल्ने तय भएका इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको सय बलको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ तथा आइपिएल दुवै कोभिड–१९ को महामारीका कारण असम्भव बनेका छन् । ‘द हन्ड्रेड’का लागि उनी डेढ करोड रुपैयाँमा अनुबन्ध भएका थिए, जुन अर्को वर्षका लागि सारिएको छ । यस्तै, दुईपटक मिति परिवर्तन गरिएको आइपिएल पनि यही वर्ष हुने सम्भावना टर्दै गएको छ ।

जेठ ०७५ मा उनले ‘उदास थियो’ बोलको पहिलो गीत सार्वजनिक गरेका थिए । विनोद तिमिल्सिनाका शब्द, सनिश सुनुवारको म्युजिक एरेन्जमेन्ट र सन्दीपको गायन छ, यस गीतमा । गायनलाई उनले आफ्नो दोस्रो सोख बताउने गरेका छन् । उनको गीत ‘बगी जाने खोला’ गत कात्तिकमा आएको थियो, जसमा राजन मगरको शब्दमा सन्दीपको स्वर र फणिन्द्र राईको एरेन्ज छ । त्यससँगै आएको ‘भेटुँ कसरी’ बोलको गीतमा उनको स्वर, संगीत र शब्द पनि थिए । शब्द र संगीतमा उनलाई राजन मगरले साथ दिएका थिए । गत पुसमा आएको गीत ‘रुम नम्बर ट्वान्टी फाइभ’मा पनि उनकै शब्द, स्वर र संगीत थियो ।