मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडौं
२०७७ जेठ १० शनिबार ०६:५५:००
Read Time : > 2 मिनेट
अर्थ

लकडाउनले उत्पादन क्षेत्रका  सहकारीमा ५ अर्बभन्दा बढीको क्षति

साना सहकारी उच्च जोखिममा, कर र राहत प्याकेज प्रदान गर्न माग

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ जेठ १० शनिबार ०६:५५:००

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण कृषि उत्पादनमा आधारित सहकारी क्षेत्रहरूलाई ५ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । उत्पादनले बजार नपाउँदा र औषधि उपचारको व्यवस्था नहुँदा सहकारीले गरेका उत्पादन कृषकका बारीमा र बाटोमा नै नष्ट भएका छन् । त्यस्तै, बन्दाबन्दीका कारण बचत संकलन, कर्जा असुली तथा कर्जा विस्तार पनि हुन सकेको छैन । फलस्वरूपः सहकारीहरूमा तरलताको समस्या बढेको सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए । कोरोना संक्रमणपछि साना तथा परिवारले नै चलाएका साहु सहकारी जोखिममा पर्ने सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले बताए । सहकारी सिद्धान्तमा आधारित सहकारीमा खासै ठूलो समस्या नपर्ने, तर पैसाका लागि साहुले सञ्चालन गरेका सहकारी डुब्ने उनको भनाइ छ ।  

चियाखेतीमा ३ अर्बको नोक्सानी
बन्दाबन्दीको अवधिमा टिपेको चिया बजारमा पुर्‍याउन नसक्दा ३ अर्बबराबरको नोक्सानी भएको केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालले बताए । नेपालको चिया निर्यात हुने भारत, युरोप, अमेरिका, इटालीलगायतका मुलुक कोरोनाको चपेटामा छन् । समयमै चिया टिप्न नपाउँदा ६० लाख किलो चिया नष्ट भएको अध्यक्ष दाहालले बताए । उनका अनुसार नेपालमा वार्षिक २ करोड २५ लाख किलो चिया उत्पादन हुन्छ ।

दैनिक डेढ करोडको दूध, १ करोडको तरकारी क्षति 
दूध उत्पादक कृषकहरूले दैनिक डेढ करोड रुपैयाँबराबरको नोक्सानी व्यहोर्नुपरेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले बताए । सहकारीमा आबद्ध भएका कृषकहरूले दैनिक ५ लाख लिटर दूध आपूर्ति गर्दै आएका छन् । तर, ढुवानी र बजारको व्यवस्था नहुँदा ५० प्रतिशत दूध खेर गइरहेको उनले बताए । उनका अनुसार १८ सय ७२ वटा दूध सहकारीमा ४ लाख परिवार आबद्ध छन् । उत्पादन नियमित भए पनि बिक्री नहुँदा लकडाउन सुरु भएदेखि दैनिक १ करोड रुपैयाँबराबरको तरकारी खेर गइरहेको केन्द्रीय तरकारी तथा फलफूल सहकारी संघका अध्यक्ष विनोद पराजुलीले बताए । १ सय १० सहकारी संलग्न केन्द्रीय कृषि तथा फलफूल सहकारीमा १३ हजार घरपरिवार संलग्न छन् ।  

१० करोडभन्दा बढीको जडीबुटी क्षति 
उत्पादन, बजारीकरण र प्रशोधनको समस्याका कारण जडीबुटी नष्ट हुँदा १० करोड रुपैयाँभन्दा बढीको नोक्सान भइसकेको केन्द्रीय जडीबुटी सहकारी संघका अध्यक्ष ईश्वरी पाण्डेले बताए । उनका अनुसार मेन्था नामक जडीबुटी मात्र २ करोडको क्षति भएको छ । त्यस्तै, सिटोमेला २ करोड, केमोमाइल ५० लाख रुपैयाँ, रोजमेरीको बोट छिप्पिँदा ३ करोडको क्षति भएको छ । जडीबुटी उद्योगमा मासिक ५ सय श्रमिकले रोजगारी पाइरहेको भए पनि लकडाउनका कारण ९० प्रतिशत बेरोजगार भएका छन् । 

सुपारी कृषकलाई डेढ करोडको घाटा
उत्पादन भएको सुपारी बजारीकरण गर्न नसक्दा नेपाली सुपारी कृषकले डेढ करोड रुपैयाँबराबरको घाटा व्यहोर्नुपर्ने अवस्था आएको केन्द्रीय सुपारी सहकारी संघका अध्यक्ष विश्वनाथ ढकालले बताए । नेपालमा उत्पादन गरिएको सुपारी केही नेपालमा नै बिक्री हुन्छ भने धेरैजसो भारतीय बजारमा बिक्री हुन्छ । उनका अनुसार २५ सय मेट्रिकटन सुपारी नेपालमा र ९ हजार ७ सय ३५ मेट्रिकटन भारतीय बजारमा बिक्री हुन्छ । २२ सय सहकारी आबद्ध केन्द्रीय सुपारी सहकारी संघले वार्षिक १५ करोडबराबरको कारोबार गर्छन् । 

मौरीपालन कृषकलाई ५० करोडभन्दा बढी घाटा 
लकडाउनका कारण कृषक र मौरीको समयमा नै भेट हुन नसक्दा मह उत्पादन घटेको छ । उत्पादनमा कमी आउँदा लकडाउन अवधिभरमा ५० करोेडभन्दा बढी नोक्सानी भएको केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले बताए । चैत अन्तिम र वैशाखदेखि कृषकहरूले लकडाउनका कारण मह नै काढ्न पाएनन् । 

जुनार उत्पादनमा २० प्रतिशत कमी हुने 
आगामी वर्ष जुनार उत्पादनमा १५ देखि २० प्रतिशतले कमी आउने केन्द्रीय जुनार सहकारी संघका अध्यक्ष दीपक कोइरालाले बताएका छन् । लकडाउनका कारण दक्ष जनशक्ति अभाव हुँदा जुनार गोडमेल गर्न, विषादी छर्किन, प्राविधिकले सूचना नपाउँदा आगामी वर्ष उत्पादनमा कमी आउने उनले बताए । सहकारीमा आबद्ध कृषकले वार्षिक १ अर्बको जुनार कारोबार गर्दै आएका छन् ।