मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १० शनिबार ०७:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नयाँ नक्सा समावेश गर्न संविधान संशोधन प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १० शनिबार ०७:००:००

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरिएको नयाँ नक्सा समावेश गर्न सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले शुक्रबार नै संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउने निर्णय गरेको थियो । 

शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएकी हुन् । संविधान संशोधन गर्नुको कारणबारे प्रस्तावमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निसान छाप अनुसूची–३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची–३ को निसान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक पेस गरेको छु ।’

प्रतिनिधिसभामा दर्ता भएको संविधान संशोधन प्रस्ताव शुक्रबार नै सांसदहरूलाई वितरण गरिसकिएको छ । संशोधन प्रस्ताव संसद्मा कसरी अघि बढ्छ ? भन्नेबारे संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘१३ गतेको प्रतिनिधिसभामा पेस गर्नका लागि यो प्रस्ताव लायक भयो । त्यसपछि त्यहाँ सामान्य छलफल हुन्छ । त्यसपछि ७२ घन्टाका लागि संशोधनको म्याद तोकिन्छ । म्यादचाहिँ सभाले निलम्बन गरेर छोट्याउन पनि सक्छ । संशोधनहरू पर्‍यो भने त्यसलाई एकीकृत गरेर सभामुखबाट प्रमाणित गराएर सभामा छलफलका लागि लगिन्छ । न्यूनतम पनि तीनवटा छलफल हुनुपर्छ । त्यसपछि दुईतिहाइ मतबाट पारित हुनुपर्छ । त्यसपछि राष्ट्रिय सभामा जान्छ र त्यहाँ पनि प्रतिनिधिसभाको जस्तै प्रक्रिया दोहोरिन्छ । दुवै सदनबाट पारित भएपछि सभामुखले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गरिन्छ ।’ 

सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार छिट्टै संविधान संशोधन हुने बताएका थिए । उनको भनाइ थियो, ‘यस सदनमा संविधानको अनुसूची ३ जहाँ हाम्रो प्रतीक चिह्न छ त्यो संशोधन गर्न, संविधान संशोधनको यो एउटा मुद्दा प्रस्तुत गरिनेछ ।