१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ ९ शुक्रबार १९:०५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

परिवारको असहमतिबीच कोरोना संक्रमितको शव ३० घन्टापछि व्यवस्थापन

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार १९:०५:००

क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गुल्मीस्थित मदाने गाउँपालिकाका ४१ वर्षीय कोरोना संक्रमित पुरुषको शव ३० घन्टापछि शुक्रबार व्यवस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा शुक्रबार भएको बैठकको निर्णयअनुसार शवलाई पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुही जंगलमा व्यवस्थापन गरिएको छ । 

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले शव व्यवस्थापनका लागि स्थान पहिचानबाहेक आफूहरूको कुनै संलग्नता नरहेका बताए । उनले सुरक्षाकर्मीहरूले शवको व्यवस्थापन गरेको बताए । 

परिवारका सदस्यले भने शव उठाउन अनुमति दिएका थिएनन् । मृतकका परिवारले अस्पतालले जबर्जस्ती शव उठाएर व्यवस्थापन गरेको भन्दै विरोध जनाएका छन् । उनीहरूले उपचारमा लापरबाही गर्नेलाई छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन् । 

मृतककी श्रीमती, तीन छोरा र एक भाइले विज्ञप्ति जारी गरी उपचारमा लापरबाही गर्ने, बिरामीको सत्यतथ्य जानकारी समयमै नदिएर अफवाह फैलाउने अस्पताल प्रशासन, चिकित्सक र सञ्चालकहरूलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन् । संक्रमणको पुष्टि पहिले कुरुवाको अनुमतिविना ढाडबाट पानी निकालिएको, समयमै बिरामीको छातीको एक्सरे नगरेको, क्वारेन्टाइनबाट भागेर आएका बिरामीलाई सँगै राखेको, कोरोना परीक्षणका लागि पहिले भर्नुपर्ने फाराम दुई दिनपछि मागेर भर्न लगाएको आरोप उनीहरूको छ । 

कोरोना संक्रमणको पुष्टि भए पनि बिरामीलाई कोरोना अस्पतालमा पुऱ्याएर उपचार गर्नुको सट्टा लापरबाही गरेर ज्यान जाने अवस्था सिर्जना भएको भन्दै उनीहरूले न्याय पाउनुपर्ने माग गरेका छन् । 

यसैबीच, संक्रमितका परिवार, उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त २५ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ आएको छ । अझै पाँचजनाको रिपाेर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाटर भवानी शर्माले जानकारी दिए ।