मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १७ शनिबार
  • Saturday, 30 May, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार १०:२२:००
सम्पादकीय

विभेदको यो रूप

नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार १०:२२:००

केही दिनदेखि नेपालका केही टेलिभिजन कार्यक्रममा प्रस्तुत हुने विषय र त्यसमा प्रयोग हुने भाषालाई लिएर प्रतिक्रिया उत्पन्न भएका छन् । खासगरी केही टेलिभिजनमा देखाइने कार्यक्रम प्रस्तोताले मधेसी जाति र समुदायको भाषा, संस्कृति र हाउभाउको अभिनय गरेर अपमान गरेकोमा अधिकारकर्मी, आमनागरिक र प्रदेश नम्बर दुईको सरकारका तर्फबाटै आपत्ति व्यक्त भएपछि यसले विवादकै रूप लिएको छ । प्रदेश २ सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ताले सूचना तथा सञ्चारमन्त्रीलाई पत्र लेखेर विभिन्न टेलिभिजनबाट प्रसारित हुने केही कार्यक्रममा रोक लगाउन माग गरेका छन् ।

वास्तवमा नेपालको मूलधारका केही सञ्चारगृह र पहाडको आमवृत्तमा समेत मधेसलाई हेर्ने दृष्टिकोणमा केही समस्या रहेका छन् । मधेसी चरित्र देखाउनुपर्दा अनुहारमा कालो पोत्नुपर्ने, उनीहरूले खस नेपाली बोल्दा भएको अप्ठेरोलाई हेपेर अनुकरण गर्नुपर्ने र वेशभूषालाई समेत त्यही ढंगले प्रयोग गर्ने चलन पुरानै हो । त्यसलाई निरन्तरता दिन खोज्दा मधेसले आफ्नो पहिचानमाथि आक्रमण भएको मानेको छ भने त्यसलाई सम्मान गर्नु जरुरी छ । यसै पनि नेपाल बहुभाषिक, बहुसांस्कृतिक समुदायको बसोवास भएको विविधतायुक्त समाजले बनेको देश हो । ठूला समूहकै चर्चा गर्दा पनि पहाडे खस, पहाडे जनजाति, मधेसी र मधेसी जनजातिसमेतको विविधतायुक्त समूहको भाषा, संस्कृति, परम्परा र पहिचान छन् ।

कुनै खास जातिको भाषा र संस्कृतिसहितको पहिचानलाई हेय दृष्टिले हेर्ने, अपमानजनक ढंगले चरित्रलाई प्रस्तुत गर्ने र अभिनयका नाममा पहिचानलाई नै अपमान गर्ने कार्य गलत हो
 

यी समूहबीच समाहितीकरणको प्रयास लामो समयदेखि हुँदै आएको हो, जसमा पहाडे खस ब्राह्मण समूहलाई मुख्यगरी नेपाली मानकका रूपमा लिने, उनीहरूको भाषा, संस्कृति र वेशभूषालाई नै नेपालका रूपमा चिनाउने चलन पञ्चायतकालभर निकै बलशाली ढंगले राज्यबाट लादिएको थियो । यसलाई विद्यालय शिक्षादेखि सञ्चारमाध्यमसम्म स्थापित गर्दै लगियो । यही क्रममा खस नेपाली भाषा र संस्कृतिलाई मानक मान्ने क्रममा अरू भाषा र संस्कृति तथा धर्म समुदाय पनि नेपाली नै हुन् भन्ने मान्यतालाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा दमन गरियो । यसले एउटा मनोविज्ञान र अन्तर्घुलन निर्माण गर्दा पहाडे खस र जनजाति समुदायबीच झन्डै समाहितीकरणको अवस्था सिर्जना भयो । तर, तराई–मधेसको भिन्न भाषा, संस्कृति र परम्परामा भने पहाडे संस्कृतिको प्रभाव कमजोर नै रह्यो । यसका खास ऐतिहासिक, भौगोलिक तथा सांस्कृतिक कारण छन् । यता, पञ्चायत गयो र अहिले गणतन्त्रको अभ्यास भइरहेको छ । तर, कतिपय व्यक्ति यसले बोकेको अर्थ बुझ्न अस्वीकार गरिरहेका छन् । कुनै खास जातिको भाषा र संस्कृतिसहितको पहिचानलाई हेय दृष्टिले हेर्ने, अपमानजनक ढंगले चरित्रलाई प्रस्तुत गर्ने र अभिनयका नाममा पहिचानलाई नै अपमान गर्ने काम गरिरहेका हुन्छन् । 

यसलाई रोक्नु आवश्यक छ । नेपालले यतिवेला पनि राष्ट्रियता र भौगोलिक अखण्डताका अनेक पक्षमा संघर्ष गर्दै छ । नेपाली राष्ट्रियता रक्षा गर्न आन्तरिक राष्ट्रिय एकता कायम गर्नु आवश्यक छ । भारतसँग नेपालले आफ्नो भौगोलिक अखण्डता रक्षाका लागि सरकारको नेतृत्वमा गरिरहेको राजनीतिक लडाइँका पक्षमा आमजनमत छ भन्ने देखाउन पनि यस्तो आन्तरिक एकतालाई बलियो बनाउनु जरुरी छ । ससाना विषयले ल्याउन सक्ने मनमुटाव र खण्डित एकता कसै पनि सहयोगी हुँदैन । आन्तरिक एकतालाई बलियो बनाऔँ, बाह्य दबाबसामु जुध्न सजिलो हुन्छ ।