मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ८ बिहीबार १८:०४:००
Read Time : < 1 मिनेट
समाचार

राज्यमन्त्री मानन्धर भन्छन्- होटेल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउन सकिन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ८ बिहीबार १८:०४:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले होटेल तथा रिसोर्टलाई क्वारेन्टाइनका रूपमा व्यवस्थापन गर्न सकिने बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित छलफलमा उनले प्रधानमन्त्रीलाई गत ७ वैशाखमै यस सम्बन्धमा सुझाब दिएको जानकारी दिए । 

खाली रहेका होटेललाई निश्चित रकम तिरेर भए पनि नागरिकको जीवनरक्षाका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ । 

स्थानीय तहहरूले निश्चित क्वारेन्टाइन व्यवस्थापन गरे पनि ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमै र भारतमा रहेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमै व्यवस्थापन गर्ने समझदारी बने पनि त्यसो हुन नसक्दा चुनौती थपिएको उनको भनाइ छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले धेरै ठाउँमा खानेपानीको समस्या रहेको बताए । उपत्यकाबाहिरका अधिकांश क्वारेन्टाइनमा सञ्चार सुविधाको व्यवस्थापन नहुँदा मान्छे डराउने, एक्लोपन महसुस गर्ने समस्या देखिएको र भाग्ने गरेका घटना देखिने गरेको उनले बताए । उनले बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पनि आग्रह गरे । 

गृह मन्त्रालयकी उपसचिव गोमादेवी चेम्जाेङले होटेल तथा लजहरूलाई पहिलो प्राथमिकतामा राखेर क्वारेन्टाइन निर्माण गर्नुपर्ने बताइन् । होस्टेल, सामुदायिक भवन र तालिम केन्द्रहरूलाई पनि क्वारेन्टाइनका रूपमा विकास गर्न सके सहज हुने उनको सुझाब छ ।

बैठकमा सहभागीले विदेशबाट आउन चाहने नागरिकको तथ्यांक परराष्ट्र मन्त्रालयले तयार गर्नुपर्ने सुझाब दिएका थिए । स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका व्यक्तिको तथ्यांक यकिन गरेर क्वारेन्टाइनलाई व्यवस्थापन गर्नुपर्ने सुझाब उनीहरूको छ ।