मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल सुर्खेत
२०७७ जेठ ८ बिहीबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार

भारतबाट कर्णाली प्रदेशमा १२ सय भित्रिए, अनिवार्य क्वारेन्टाइनमा राख्न अझै भएन पहल

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ जेठ ८ बिहीबार १२:०७:००

कर्णाली प्रदेशमा बुधबार राति मात्र भारतको विभिन्न ठाउँबाट आएका एक हजार दुई सय सातजना नागरिक प्रवेश गरेका छन् । 

भारतका विभिन्न ठाउँबाट उनीहरू बबई आइपुगेका हुन् ।

बबईमा आइपुगेकामध्ये दैलेखका पाँच सय, सुर्खेतका तीन सय २०, सल्यानका दुई सय ६६, जाजरकोटका ७७ र कालिकोट जिल्लाका ४४ जना छन् । 

यसरी आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्न भने अझै व्यवस्था हुन सकेको छैन । 

प्रदेश सरकारले उनीहरूलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने जनाएको छ । साथै उनीहरूलाई क्वारेन्टाइनमा राख्न कुनै पनि ठोस निर्णय भने अझै हुन सकेको छैन । 

भारतबाट ठूलो संख्यामा नागरिक कर्णाली प्रदेशमा आउने क्रम बढेकाले त्यसरी आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि प्रयास थालेको प्रदेश सरकारले जनाएको छ । 

त्यसका लागि स्थानीय सरकार, प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध पक्षलाई अनुरोध गर्ने काम भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । 

‘आवश्यक सहयोगका लागि राजनीतिक दल, नागरिक समाजलगायतलाई अपिल गरिएको छ,’ उनले भने, ‘दबाबले होइन, स्वेच्छाले अनिवार्य क्वारेन्टाइनमा बस्न भारतबाट फर्कनुभएका नागरिकलाई अनुरोध गरेका छौँ ।’

भारतबाट एकैपटक ठूलो संख्यामा नागरिक आइपुगेपछि कर्णाली प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति बबईमा राखेको जनाएको छ । 

तत्काल सात सय किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कर्णाली प्रदेश सरकारले कर्णालीका भारतबाट २० हजार नागरिक भारतबाट भित्रिने अनुमान गरेको छ ।