१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ ८ बिहीबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार

दुई छोरा मिलेर बाबुको हत्या, घरभित्रै खाल्डो खनेर गाडेको अवस्थामा शव बरामद 

Read Time : < 1 मिनेट
२०७७ जेठ ८ बिहीबार १०:५४:००

विराटनगरमा दाजुभाइ मिलेर आफ्ना बाबुको हत्या गरेका छन्। हत्यापछि घरभित्रै गाडिएको शव प्रहरीले बरामद गरेको छ। 

विराटनगर महानगरपालिका– १४ का ५५ वर्षीय सत्यनारायण चौहानलाई उनका जेठा र माइला छोरा मिलेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ। हत्यापछि घरभित्र गाडेको अवस्थामा प्रहरीले बुधबार साँझ सत्यनारायणको शव उत्खनन गरेर बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीका अनुसार बाबुको हत्या गरेको अभियोगमा दुवै छोरा पक्राउ परेका छन्। उनीहरूलाई बिहीबार दिउँसो २ बजे सार्वजनिक गरिने उनले बताए। हत्यामा संलग्न जेठा छोराको नाम रोहित भए पनि माइला छोराको नाम भने प्रहरीले खुलाएको छैन।
 
प्रहरीका अनुसार घरमा जेठा  र माइला छोरासँगै बुबा सत्यनारायण बस्दै आएका थिए।  कान्छा छोरा नगेन्द्र चौहान विराटनगरको भटिमोडमा बस्दै आएका छन्।  

लकडाउनमा खर्च माग्न बाबु सत्यनारायण कान्छा छोराकोमा जाने गरेका थिए। तर, चार दिनदेखि  बुबालाई फोन गर्दा नउठेपछि बुधबार उनी घर गएर ढोका खोलेर अवस्था बुझेका थिए। 

घरभित्र खनिएको आलो माटो देखेपछि उनले शंका लागेर प्रहरीलाई खबर गरेका थिए।  खनेको स्थानमा उत्खनन गरेर हेर्दा गाडेको अवस्थामा सत्यनारायणको शव फेला परेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवै छोराले रक्सीको सुरमा घर झगडा हुँदा बाबुको कुटेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। उनीहरूले कहिले हत्या गरे खुलेको छैन। करिब चार दिनअघि नै हत्या भएको अनुमान प्रहरीले गरेको छ।