१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राज सरगम काठमाडाैं
२०७७ जेठ ८ बिहीबार १०:२६:००
Read Time : > 1 मिनेट
सप्तरंग

संकटमा चेतनामूलक सिर्जना

Read Time : > 1 मिनेट
राज सरगम, काठमाडाैं
२०७७ जेठ ८ बिहीबार १०:२६:००

प्रकृतिको हो एउटै ईश्वर भगवान् अर्काे छैन ।
सभ्यता शिष्टताको अर्काे विकल्प छैन ।

डा. भोला रिजालको शब्द रहेको यस गीतलाई संगीतकार अशोक लुहारुङ राईले कम्पोज गरेका छन् । डा. रिजालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट बच्न चेतना जगाउने उद्देश्यले यो गीत रचना गरेका हुन् । ‘प्रकृतिलाई बुझ्न नसकेका कारण मानिस वेला–वेलामा महामारीबाट पीडित बन्ने गर्छ,’ उनी भन्छन्, ‘हाम्रा धेरै कमी–कमजोरीका कारण कोरोना भाइरसको संक्रमण नेपालमा बढ्यो । त्यो कमजोरी अब दोहोरिनु हुँदैन भन्ने सन्देश गीतमार्फत दिन खोजिएको हो ।’ यो गीतलाई ‘विश्वका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा’ लेख्दै उनले फेसबुक वालमा पोस्ट गरेका छन् । यस गीतलाई अंग्रेजीमा पनि अनुवाद गरेकी छिन् रजनी रिजालले ।

डा. रिजालले नै अर्को चेतना गीत तयार पारेका छन्– ‘कोरोना नोबेल कोरोना, हाम्रो छेउ आउँदै न आ ।’ यस गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका छन् भने डेभिड शंकर र बेनिशा पौडेलले स्वर दिएका छन् । ‘संकटका वेला आममानिसमा चेतना दिने उद्देश्यले सन्देशमूलक गीत तयार पारेका हौँ,’ शर्मा भन्छन्।

यस्तै, ‘नयाँ युग तिमीलाई’ बोलको गीत पनि डा. रिजालले नै रचना गरेका हुन् । यस गीतमा नारायण वलीको संगीत र कर्ण दासको स्वर छ । गीतकार–संगीत विपिन आचार्यले अर्को चेतनामूलक गीत तयार पारेका छन्– ‘छोडौँ हात मिलाउन, जोडौँ अब सबैले दुई हात । कोरोना भाइरसबाट बच्न नमस्कार छ हाम्रो साथ ।’ गायिका माण्डवी त्रिपाठीको स्वर रहेको यस गीतले मानिसलाई नमस्कारबाट अभिवादन साटासाट गर्न प्रेरित गर्छ ।

चिरञ्जीवी सापकोटाको शब्द रहेको ‘भाग् जा भाग् जा कोभिड कोरोना’ बोलको र्‍याप गीत यतिवेला नयाँ पुस्ताबीच लोकप्रिय बनेको छ । यसको एरेन्ज पनि विपिन आचार्यले नै गरेका हुन् ।

लकडाउनका वेला गायक–संगीतकारहरू स्टुडियो पुग्न पाएका छैनन् । तर, घरमै बसेर युट्युबमार्फत चेतना गीत ल्याइरहेका छन् । गायक राजु परियारले पनि त्यही शैली पछ्याएका छन् । बुकन गन्धर्वको सारंगी भाकामा उनको गीत आएको छ– ‘नजिकै चाडबाड आउने, पिर पर्‍यो के खाने के लाउने !’ नजिकिँदै गएका चाडपर्वमा कोभिड–१९ को महामारीले खान लाउनै समस्या पार्नेतर्फ सचेत रहनुपर्ने सन्देश उनले दिन खोजेका छन् ।

यहीवेला नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयलाई पनि स्रष्टाहरूले गीतमार्फत खबरदारी गरिरहेका छन् । शिखर गजरकोटेको शब्दमा गायक बद्री पंगेनीले स्वर दिएका छन्– ‘कोही बोल्दैनन् सीमा मिच्दा, कस्तो हुन्छ घाँटी थिच्दा । नगरिदेऊ बोलेजस्तो, बोल्दै मुटु पोले जस्तो ।’ यही सन्दर्भलाई गायक–संगीतकार नारायण रायमाझी र शान्तिश्री परियारले गीत बनाएका छन्– ‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो ।’ यस्तै, गायक अस्मिन घिमिरेले भारतले मिचेका सीमाक्षेत्र समेटेर गीत ल्याएका छन्, ‘मलाई कालापानी हेर्न मन छ, मलाई नालापानी हेर्न मन छ ।’ यस गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, शोभित बस्नेत, बद्री पंगेनीलगायत कलाकारलाई फिचर गरेर म्युजिक भिडियो बनाइएको छ ।