Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ ८ बिहीबार १०:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोनाको त्रासले बढायो ओसिडीका बिरामी

Read Time : > 1 मिनेट
२०७७ जेठ ८ बिहीबार १०:०१:००

भक्तपुरकी मैया तामाङ (५० वर्ष) मा लामो समयदेखि एउटै काम पटक–पटक दोहोर्‍याउने समस्या छ । स्वास्थ्य विज्ञानमा यसलाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसिडी) भनिन्छ । कोरोना भाइरसको प्रसार रोक्न देशव्यापी लकडाउन गरिएयता उनको यो समस्या अझ बढेको छ । त्यसयता सरसफाइ गर्ने निहुँमा यति धेरै पानी चलाउन थालिन् कि घरबेटी आजित भएर कोठा छाड्नसमेत भने । मनोविद्सँग परामर्श लिएपछि अहिले सुधार आएको छ, उनमा ।

काठमाडौंकी हीरामाया खत्रीमा महिना दिनयता अनौठो बानी देखियो । कोरोना भाइरसबाट बच्न उनी आवश्यकताभन्दा बढी सतर्कता अपनाउन थालिन् । घरका भित्ता, सिलिङ मात्र होइन, कम्पाउन्ड र बाहिरको सडक पनि बारम्बार सफा गर्न थालिन् । कोरोना संक्रमणको भयले उनले मोबाइलसमेत साबुनपानीले धुन थालिन् । अस्पताल जान मानिनन्, त्यसैले परिवारले घरमै मनोचिकित्सकलाई बोलाएर परामर्श दिलायो । उनले दिएको औषधि खान थालेयता समस्या कम भएको छ ।

अभिषेक सुवाल (१२ वर्ष)ले घरभित्रकै टेबल, कुर्सी, दराज छुँदा पनि साबुनपानीले हात धुन थाले । त्यो बानी छुटाउन परिवारले स्यानिटाइजर ल्याइदियो । स्यानिटाइजर पनि यति धेरै प्रयोग गर्न थाले कि हात सुक्खा भएर छाला उप्किन थाल्यो । मनोविद्कहाँ पुर्‍याएपछि मात्र उनलाई ओसिडीको समस्या भएको पत्ता लाग्यो । अहिले केही सुधार आएको छ ।

कोरोना संक्रमणको त्राससँगै महिमा सापकोटा (३५ वर्ष)मा पनि ओसिडीका लक्षण देखिएका छन् । दैनिक तीनपटकसम्म नुहाउने र आफू सुत्ने ओछ्यानको तन्ना फेरेको फेर्‍यै गर्छिन्, उनी । आफू मात्र होइन, आठ वर्षकी छोरीलाई पनि आफू सँगसँगै नुहाइदिन्छिन् । उनी अहिले मनोविद्को निगरानीमा उपचारत छिन् ।

के हो ओसिडी ?

ओसिडीको समस्या भएको मानिसले एउटै काम दोहोर्‍याइरहन्छ । अनौठा सोच र व्यवहार देखाउन थाल्छ । यस्तो समस्या भएका अधिकांशमा चुकुल लगाएको छ कि छैन भनेर पटक–पटक ढोकामा पुग्ने बानी हुन्छ । ग्यास बन्द भएको छ कि छैन भनेर बारम्बार हेर्ने, बाटोका खम्बा गनिरहने, धार्मिक प्रवृत्तिको व्यक्ति भए व्रत बसिरहने र पूजापाठ गरिरहनेजस्ता क्रियाकलाप देखिन्छन् ।

मनोविद्हरूका अनुसार, मानिसमा देखिने १० मनोरोगमध्येको एक हो, ओसिडी । अहिले विभिन्न वस्तुमार्फत कोरोना भाइरस सर्ने भयले ओसिडीको समस्या बढाएको उनीहरूको भनाइ छ । समयमै समस्या पहिचान गरेर उपचार नगरिए यसले डिप्रेसनको समस्या पनि निम्त्याउने उनीहरू बताउँछन् । लकडाउनयता ओसिडीका बिरामी संख्या बढेको मनोविद् करुणा कुँवर बताउँछिन् । उनका अनुसार, सुरुवाती चरणमै भए मनोपरामर्शबाट यो समस्या सहजै समाधान हुन्छ । ‘अलि जटिल भइसकेका बिरामीलाई परामर्श र थेरापीसँगै औषधि पनि सेवन गराउनुपर्छ,’ उनी भन्छिन् ।

(व्यक्तिगत गोपनीयताका कारण बिरामीको नाम परिवर्तन गरिएको छ)