मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ८ बिहीबार ०५:१५:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

बिरामी भेन्टिलेटरमा, कुरुवा क्वारेन्टाइनमा, गाउँमा रहेका श्रीमती र छोराछोरी सूचना आतंकमा

Read Time : > 6 मिनेट
२०७७ जेठ ८ बिहीबार ०५:१५:००

कोरोना संक्रमणले २३ जनवरी (९ माघ)मा चीनको वुहान लकडाउन भएपछि संक्रमण रोक्न विश्वभर तयारी सुरु भएको चार महिना भएको छ । १८ फागुनमा नेपाल सरकारले कोरोना रोकथाम र उपचारका लागि उच्चस्तरीय समिति गठन गरेर बैठकमाथि बैठक गरिरहेको छ । त्यति मात्र होइन, कोरोना संक्रमण देखिएपछि ११ चैतदेखि नेपाल पनि लकडाउनमा छ । तर, वुहानको ‘आउटब्रेक’यताका एक सय १७ दिन र नेपाल लकडाउनयताका ५८ दिनसम्म नेपालमा कस्तो तयारी भयो ?

बुटवलमा उपचार गराइरहेका गुल्मीका बिरामीको कथाले हाम्रो तयारीको ऐना स्पष्ट पार्छ । बिरामी भेन्टिलेटरमा छन्, उनको हेरचाह गर्न आएका भाइ क्वारेन्टाइनमा राखिएका छन् । श्रीमती र छोराछोरीलाई फेसबुकका समाचारले सताइरहेका छन् । तर, उपचार र बिरामीको अवस्थाबारे न अस्पताल बोल्छ, न सरकार । बिरामीकी श्रीमती र भाइ मात्र होइन, अस्पताल प्रशासनसँगको संवादका सिलसिला मिलाएर यो समाचार तयार पारिएको छ ।

यही कारुणिक अवस्था नै अहिलेको हाम्रो वास्तविकता हो । 

पानीमा भिज्नुभएको थियो, ज्वरो आयो : श्रीमती 

हाम्रो घर गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह हो । मेरो श्रीमान् स्थानीय विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । लकडाउनले विद्यालय दुई महिनादेखि बन्द छ । तर, प्रधानाध्यापक भएकाले एक्लै विद्यालयका सानातिना काम गरिरहनुभएको थियो । विद्यालयमा अरूको आवतजावत छैन । 

२४ वैशाखमा उहाँलाई हल्का ज्वरो आयो, टाउको दुख्यो । पानीमा भिज्नुभएको थियो, त्यसैले होला भन्ने लाग्यो । पुर्कोटदहको मदाने मालिका पोलिक्लिनिकबाट ३ खुराक ज्वरोको औषधि ल्यायौँ । ठीक नभएपछि फेरि जाँच गर्दा टाइफाइड भएको भनेर औषधि दिए ।

त्यो औषधिले ज्वरो बिसेक भयो । टाउको दुख्न पनि छाड्यो । तर, खाएको नपच्ने भयो । जे खाए पनि बान्ता हुन थाल्यो । उहाँलाई खानै मन नलाग्ने हुन थाल्यो ।

३१ वैशाखमा रगत जाँच्न भनेर फेरि त्यही पोलिक्लिनिकमा गयौँ । किड्नीमा समस्या हुन सक्छ भन्दै सन्धिखर्क जानू भन्नुभयो । हाम्रो गाउँबाट गुल्मीको तम्घास जानुभन्दा अर्घाखाँचीको सन्धिखर्क नजिक हुन्छ । त्यसैले उहाँ आफन्तको मोटरसाइकल चढेर सन्धिखर्क जानुभयो ।

सन्धिखर्कको छाया पोलिक्लिनिकमा जाँच भयो । किड्नी सुन्निएको छ, टाइफाइड भएको छ, रगतमा पनि समस्या छ । बुटवल जानुपर्छ भनेर क्रिमसन हस्पिटल ‘रिफर’ गरिदिएछ । यसरी ३१ वैशाखको साँझ ८ बजे पोलिक्लिनिकले नै एम्बुलेन्समा राखेर बुटवल पठाइदियो । 

राति ११ बजे उहाँहरू (बुटवल र भैरहवाको बीचमा रहेको) मनिग्रामस्थित क्रिमसन हस्पिटल पुग्नुभयो । अस्पतालको गेटमा एम्बुलेन्स रोकिएपछि उहाँ हिँडेरै भित्र जानुभएको हो । भर्ना गर्न दुई–तीन घन्टा लागेछ । म रातभर जाग्राम थिएँ, बिहान ३ बजे भर्ना भयो भन्ने खबर आएको थियो । अर्को बिहान एक गिलास पानी, चिया र बिस्कुट खानुभएको थियो । 

अस्पताल ल्याएको दुई दिनपछि नमुना संकलन भयो, त्यसको तीन दिनपछि मात्र रिपोर्ट आयो : बिरामीका भाइ 

१ गते बिहान ३ बजे उहाँलाई अस्पतालमा औपचारिक रूपमा भर्ना गरियो । टाइफाइड, जन्डिस र निमोनिया भएको छ भन्ने रिपोर्ट आयो । कोरोनाले निमोनिया हुन्छ, मिर्गौला र कलेजोमा पनि असर गर्छ भनेर तीन–चार महिनादेखि सबैतिर चर्चा भइरहेको छ । तर, त्यति धेरै लक्षण मिल्दा पनि अस्पतालले कोरोनाको शंका गरेन । बरु, म्यानेन्जाइटिसको शंका गरेछ । त्यसैले साँझतिर उहाँको ढाडबाट पानी निकाले । तर, अस्पतालले यो विषयमा छलफल नै गरेन । ढाडबाट पानी तानेपछि दाइ एक्कासि बेहोस हुनुभयो । तत्कालै उहाँलाई आइसियूमा भर्ना गर्नुपर्छ भनियो, हामीले वादविवाद गर्ने कुरै भएन । 

तर, आइसियूमा पनि अप्ठ्यारो भयो, उहाँलाई भेन्टिलेटरमा राखियो । अस्पताल भनेको हाम्रा लागि मन्दिर हो । मन्दिर पुगेपछि पुजारीले जे भन्छन्, त्यही मान्ने हो । आफैँ जान्ने हुने होइन । फेरि दाइ बेहोस भएपछि हामी आत्तिएका थियौँ । तर, भेन्टिलेटरमा लगेपछि हामीले नै धक खोलेर अस्पताललाई भन्यौँ, ‘ज्वरो आयो, टाइफाइड भयो, कलेजो र मिर्गौलामा पनि समस्या छ कोरोनाको लक्षण यस्तै हुन्छ भन्छन्, हाम्रो दाइलाई कोरोना त होइन होला । तर, एकपटक जाँच गराउन पाए अलिक ढुक्क भइन्थ्यो होला । लौन प्रयास गरौँ ।’

त्यसपछि मात्र उहाँको स्वाब निकालिएको हो । उहाँसँगै मर्चवारका क्वारेन्टाइनबाट भागेर आएका अर्का व्यक्तिको पनि स्वाब निकालेर प्रदेश ल्याबमा पठाए ।

यो २ गते दिउँसो ३ बजेतिरको कुरा हो । तर, अर्को दिन रिपोर्ट आएन । बिरामी भेन्टिलेटरमा छ, बेहोस छ । तर, रिपोर्ट आएन । अस्पतालले पनि रिपोर्ट किन आएन भनेर चासो नै राख्दैन । यो त अचम्म भयो भनेर मैले आफैँ रिपोर्ट किन आएन भनेर सोधेँ । तर, खोइ किन आएन । भनेर चुप लागे । वास्तै गरेनन् । 

म आफैँले प्रदेशको ल्याब नम्बर खोजेर फोन गरेँ । ल्याबले त त्यो नाम गरेको बिरामीको विवरण यहाँ छैन भन्यो । हामी आश्चर्यमा पर्‍यौँ ।

अस्पतालले स्वाब मात्र पठाएको रहेछ, बिरामीको विवरण पठाएको रहेनछ । ‘तपाईंहरूले यो के गर्नुभएको ? भेन्टिलेटरमा गम्भीर बिरामीको बारेमा तपाईंहरूले के यस्तो लापरबाही गरेको’ भनेर म कराएँ । 

त्यसपछि मात्र उनीहरूले विवरण ल्याबमा पठाए । तर, भोलिपल्ट पनि रिपोर्ट आएन । स्वाब संकलन गरेको तीन दिनपछि ५ गते मात्र रिपोर्ट आयो । रिपोर्ट आयो भनेर हामीले खुसी हुन पाएनौँ । दाइको कोरोना पोजेटिभ आयो । 

दाइ बिरामी हुनुहुन्थ्यो । हामी हेरचाहमा थियौँ । तर, उहाँको कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल सिल भयो । हामीलाई पनि क्वारेन्टाइनमा राखे । हाम्रो पनि हिजो स्वाब लगेका छन् । अझै रिपोर्ट आएको छैन ।

म बाहिर क्वारेन्टाइनमा छु, दाइ भित्र भेन्टिलेटरमा हुनुहुन्छ । उहाँको अवस्था के छ, अस्पतालले केही जानकारी गराएको छैन । के–के उपचार भयो ? के–के जाँच गरियो ? अवस्था के छ ? हामीलाई केही थाहा छैन । दाइलाई कोरोना संक्रमण छ भन्ने रिपोर्ट आएको बखतदेखि अस्पतालका कसैले पनि हामीसँग सम्पर्क गरेका छैनन् । देशमा सरकार छ, प्रशासन छ । कोरोना आउँदै छ भनेर माघदेखि सरकारले तयारी थालेको छ भनेर हामीले समाचार पढेका हौँ । मन्त्रीहरू एकपछि अर्को बैठकमा बसेको दृश्य पनि टेलिभिजनमा देखेका हौँ । तर, माघदेखि आज चार महिनासम्म के तयारी भयो ? तर, अस्पताल आएको बिरामीको न जाँच हुन्छ, न उपचार हुन्छ । न उनीहरूको अवस्था के भनेर जानकारी प्राप्त हुन्छ । न अस्पताल बोल्छ न सरकार बोल्छ । गाउँबाट भाउजू रुँदै फोन गर्नुहुन्छ, मैले उहाँलाई के जवाफ दिने ? दाइलाई बिसेक हुन लागेको छ भन्ने कि, झन् गम्भीर हुनुहुन्छ भन्ने ? जीवनमा यस्तो संकट कसैलाई नपरोस् ।

अस्पताल र सरकार बोल्दैन, फेसबुकका समाचारले त्रसित बनाइरहेका छन् : श्रीमती 

मेरो श्रीमान् भेन्टिलेटरमा हुनुहुन्छ । हेरचाह गर्ने त्यही देवर क्वारेन्टाइनमा हुनुहुन्छ । दाइलाई कस्तो छ भनेर दिनमा १० पटक देवरलाई फोन गर्छु । बिचरा उहाँ आफैँलाई केही थाहा छैन । फेसबुकबाट समाचार आउँछन् । समाचार खोल्दा डर लाग्छ भनेर हेर्दिनँ । बुबालाई कस्तो भयो होला भनेर छोराछारीले मन खटाउन सक्दैनन् । फोन खोलेर हेरिहाल्छन् । झन् तनाव हुन्छ । 

आज बिहान बालबच्चा रुँदै आए । मम्मी, मम्मी, बुबा त मर्नुभएछ भनेर रुन थाले । कसले भन्यो भनेर सोधेको ? फेसबुकमा समाचार आएको रहेछ । मैले पनि हेरेँ । हाम्रो परिवार बर्बाद भयो । हामी चिच्याई–चिच्याई रुन थाल्यौँ । छिमेकीहरू आए, यो वेलामा नजिक आउन जसलाई पनि डर छ । तर, अलिक परै उभिएर हाम्रो रुवावासी हेरे ।  फेरि दुई घन्टापछि फेसबुकमा खबर आयो, ‘होइन, गुल्मीको मान्छे क्रिमसनको भेन्टिलेटरमा छ, मृत्यु भएको छैन ।’ 

मान्छेको जीवन मृत्यु र परिवारको भावनामाथि यति ठूलो खेलबाड । मैले देवरलाई फोन गरेँ । देवरले पनि पहिले मृत्यु भयो भन्ने खबर आएको थियो, अहिले होइन भन्ने आएको छ भन्नुभयो । मृत्यु भयो भनेर अन्तर्वार्ता दिने पनि प्रदेश ५ का मन्त्री सुदर्शन बराल रहेछन् ।

उनी पनि गुल्मीकै हुन् । आफ्नो जिल्लाको जनताको उपचार के भएको छ, नमुना परीक्षण गर्न किन ढिलाइ भएको छ, यो सबमा चासो नराख्ने मन्त्रीलाई जनता मर्‍यो भनेर अन्वर्तार्ता दिन किन हतार लागेको होला ? 

श्रीमान् अहिलेसम्म जीवित हुनुहुन्छ भन्ने लागेको छ । तर, उहाँलाई साँच्चै कोरोना लागेको हो भने छोराछोरीलाई के होला भन्ने डर लागिरहेको छ । १९, १८ र १५ वर्षका तीन छोरा छन् । उहाँलाई कोरोना छ भनेर रिपोर्ट आएको दोस्रो दिन (६ जेठ) हामी सबैको नमुना लगेको छ । हाम्रो नमुना के भयो, कसो भयो ? अस्पताल, सरकार कसैले केही खबर गरेको छैन । उता बाबुको बारेमा अनेक समाचार देखेर उनीहरू रोएकारोयै छन् । म त झन् के बोल्ने, कोसँग बोल्ने ? सबै अन्धकारजस्तै भएको छ । भगवान्, यो सब डरलाग्दो सपना मात्र होस्, म बिउँझिएपछि सब ठीक होस् भन्ने कामना गरिरहेकी छु । 

(यो संवाद कम्प्युटरमा उतारिरहँदा संक्रमित शिक्षककी श्रीमतीले कलब्याक गरिन् । सोधिन्, ‘सर, उहाँलाई त रोग (कोरोना) छैन भन्ने सुनियो । के हो, कसो हो लौन बुझेर खबर गरिदिनुहोस्)

फोन गर्दा उनको स्वरमा आशाको तरंग थियो । हामीले तत्कालै अस्पतालमा फोन गर्‍यौँ । अस्पतालले सम्बन्धित बिरामीलाई कोरोना छैन भन्ने रिपोर्ट नआएको बतायो, साथै बिरामीको स्वास्थ्यमा पनि कुनै सुधार नभएको जानकारी दियो । यो यस्तो खबर थियो, सीधै फोन गरेर बिरामीकी श्रीमतीलाई तुरुन्तै निराश बनाउन हामीले सकेनौँ । बरु, क्वारेन्टाइनमा रहेका भाइलाई फोन गर्‍यौँ– भाउजूलाई पनि खबर गरिदिनु है भनेर अनुरोध गर्‍यौँ।

मृत्युको खबर कसरी फैलियो, अस्पताललाई पनि थाहा छैन : चन्द्र बस्याल, जनसम्पर्क अधिकृत, क्रिमसन अस्पताल 

बिरामी अस्पताल ल्याउँदा नै ज्वरो, टाइफाइडको समस्या देखिएको थियो । महामारीको यो वेलामा ज्वरोको लक्षण देखिएको बिरामीको कोरोना परीक्षण किन गरिएन ?

कोरोना जाँच गर्ने वा नगर्ने भन्ने कुरा सुरुमा बिरामीले आफ्नो ‘मेडिकल हिस्ट्री’ के दियो के दिएन भन्ने कुरामा भर पर्छ । हिस्ट्री सही भएन भने अलमल हुन्छ । यस्ता कुराहरू डाक्टरसापहरूलाई नै थाहा होला । ‘इमर्जेन्सी’मा आएको अवस्थामा समस्या जटिल भएपछि आइसियूमा राख्नुपर्छ । यो ‘केस कम्प्लिकेटेड’ छ भनेर नै डाक्टरसापहरूको टोलीले निर्णय गरेपछि आइसियूमा लगिएको हो । वैशाख ३१ गते राति बिरामी आउनुभयो । जेठ २ गते कोरोनाको नमुना पठाइयो । ५ गते रिपोर्ट आयो । अहिलेचाहिँ बिरामीको अवस्था स्थिर छ ।

उपचार गर्न एम्बुलेन्समा आएको बिरामीले अस्पतालमा आफ्नो ‘मेडिकल हिस्ट्री’ किन ढाँट्छ ? आफन्तले सन्धिखर्क र गुल्मीका मेडिकल रिपोर्ट दिएका थिए । त्यो रिफरल रिपोर्टमै ‘हिस्ट्री’ हुन्छ । अर्काे कुरा, बिरामीलाई निमोनिया पनि छ भनेर अस्पताल आफैँले भनेपछि त्योभन्दा ठूलो ‘मेडिकल हिस्ट्री’ के चाहिने हो ?

बिरामीका आफन्तले तपाईंहरूलाई के भने ? चिकित्सकलाई के भने भन्ने कुरा अस्पतालको ‘हिस्ट्री’बाट थाहा हुन्छ । जे प्रमाणमा छन्, हामी त त्यही बोल्ने हो । 

३१ गते राति आएको बिरामीको स्वाब २ गते मात्र संकलन भयो । तर, भेन्टिलेटरमा भएको बिरामीको विवरण अस्पतालले २४ घन्टापछि ३ गते मात्र पठायो, अनि ५ गते रिपोर्ट आयो, यो ढिलासुस्ती र अन्योल किन ?

यो विषयमा हामीलाई जानकारी भएन । स्वाब र विवरण २ गते नै पठाइएको हो । हामीले नमुना पठाएपछि विवरण इमेल गरेका थियौँ । तर, ३ गतेसम्म इमेल खोलिएको रहेनछ । त्यसैले अर्को दिन पनि इमेल गरेका हौँ । बिरामीका आफन्तले ३ गते सिकायत गरेपछि हामीले ल्याबमा फोन गरेर इमेल खोल्नुस् है भनेका हौँ । तर, ल्याबका मान्छेले हामीसँग कामको प्रेसर छ, हामी हेर्छौं, नअत्याउनुहोस् भन्नुभयो । हामीले पटकपटक अनुरोध गरेपछि मात्र उहाँहरूले ५ गते इमेलमार्फत रिपोर्ट दिनुभएको हो ।

अनि, अस्पतालमा उपचाररत बिरामीको मृत्युको खबरचाहिँ कसरी फैलियो ?

यसबारे मलाई जानकारी छैन । मृत्यु भएको भए अस्पतालले सरकारलाई जानकारी गराउने, स्पष्ट रूपमा विज्ञप्ति निकाल्ने गरिहाल्छ नि ।