मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ जेठ ७ बुधबार ०७:३३:००
Read Time : > 2 मिनेट
अर्थ

नेपालमा वार्षिक २९.१५ खर्बको कारोबारबाट साढे ८ खर्ब नाफा

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ जेठ ७ बुधबार ०७:३३:००

देशभर सञ्चालन भएका प्रतिष्ठान (एकाइ)को आर्थिक क्रियाकलापबाट वार्षिक ८ खर्ब ५३ अर्ब २१ करोड ३० लाख नाफा भएको अध्ययनले देखाएको छ । 

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को (दोस्रो भाग) प्रतिवेदनअनुसार देशभरका प्रतिष्ठानले वार्षिक कुल २९ खर्ब १५ अर्ब ६० करोड ९० लाख आम्दानी तथा बिक्री गरेका छन् । त्यस्तै, २० खर्ब ६२ करोड ६० लाख सञ्चालन खर्च गर्छन् । ‘यसबाट वार्षिक साढे ८ खर्बभन्दा धेरै सञ्चालन नाफा हुन्छ भन्ने देखाउँछ,’ विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले भने । सञ्चालन मुनाफाबाट केही प्रतिशत रकमबराबर प्रशासनिक एवं वित्तीय खर्च घटाएपछि खुद नाफा निस्किन्छ । 

मुलुकमा दर्ता नभएका प्रतिष्ठान ५० प्रतिशत, तर कुल नाफामा हिस्सा साढे ८ प्रतिशत मात्र, औसतमा एउटा उद्योगको वार्षिक नाफा ९ लाख ४७ हजार 

प्रतिष्ठानहरूको आम्दानी तथा बिक्री भन्नाले आर्थिक एकाइले गरेको सम्पूर्ण आम्दानी बिक्रीको (कच्चा पदार्थ, उत्पादित वस्तु वा सेवा बिक्री, अन्य बिक्री आम्दानी आदि) मोटामोटी रकमलाई बुझाउँछ । त्यस्तै, खर्च भन्नाले आर्थिक एकाइले गरेको कच्चा पदार्थ खरिद, सञ्चालन खर्च आदिमा गरिएको रकमलाई बुझाउँछ ।

यसरी गरिएको बिक्री आम्दानी र खर्चको फरकबाट नै नाफा–नोक्सान निकालिएको छ । यो नाफा २०७४ सालमा भएको आर्थिक क्रियाकलापका आधारमा तयार गरिएको नाफा–नोक्सान, आम्दानी तथा बिक्री र सञ्चालन खर्चको नजिता प्रतिवेदन हो । 

आम्दानी र खर्चको विश्लेषण गर्ने हो भने यो नाफालाई अस्वाभाविक मान्न सकिन्छ । बिक्रीमा नाफाको हिस्सा ३० प्रतिशत देखिन्छ । सञ्चालन खर्चतर्फ भने उद्योगी–व्यवसायीले खर्चमा ४० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गरिरहेको देखिन्छ ।

अध्ययन गर्ने वेलामा देशभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान सञ्चालनमा छन् । प्रतिवेदनले आर्थिक एकाइमा संलग्न जनशक्तिको संख्या ३१ लाख १५ हजार १ सय १२ रहेको देखाएको छ । नतिजाअनुसार एक प्रतिष्ठान (प्रतिएकाइ)को नाफा ९ लाख ४७ हजार रुपैयाँ भइरहेको देखिन्छ । त्यस्तै, आर्थिक एकाइमा संलग्न एकजनाबराबर २ लाख ७४ हजार नाफा हुने देखिन्छ । 

दर्ता भएका प्रतिष्ठानको नाफा धेरै 

देशभर ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानमध्ये ४ लाख ६२ हजार ६ सय ५ दर्ता भएका छन् । बाँकी ४ लाख ६० हजार ४ सय २२ प्रतिष्ठान दर्ता छैनन् । तर, नाफा भने दर्ता भएका प्रतिष्ठानको धेरै देखिएको छ । दर्ता भएका प्रतिष्ठानको नाफा ७ खर्ब ८१ अर्ब १० करोड रुपैयाँ रहेको छ । जबकि दर्ता नभएका प्रतिष्ठानको नाफा ७२ अर्ब ७ करोड रुपैयाँ मात्र छ । यसले दर्ता नभएका प्रतिष्ठान कुल प्रतिष्ठानको ४९ दशमलव ९ प्रतिशत भए पनि नाफा भने थोरै देखिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक अनिल शर्माले जानकारी दिए । 

प्रतिआर्थिक एकाइ सबैभन्दा धेरै नाफा विद्युत्, ग्यासमा

आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिआर्थिक एकाइ सबैभन्दा धेरै नाफा विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्तिमा हुने देखिएको छ । यस क्षेत्रमा वार्षिक प्रतिआर्थिक एकाइ नाफा २ करोड २२ लाख ७४ हजार रहेको छ । धेरै देखिनुमा आर्थिक एकाइको संख्या न्यून हुनु एउटा कारण रहेको तथ्यांक विभागको भनाइ छ । त्यसपछि सूचना तथा सञ्चारमा वार्षिक प्रतिआर्थिक एकाइ नाफा १ करोड ९८ लाख ७१ हजार रहेको छ । त्यस्तै, सबैभन्दा थोरै नाफा कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापमा वार्षिक ४ लाख ४६ हजार रहेको छ ।  

त्यस्तै, आर्थिक एकाइमा संलग्न प्रतिव्यक्ति नाफा पनि विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्तिमा देखिएको छ । यस क्षेत्रमा संलग्न एक व्यक्तिले वार्षिक १७ लाख ८२ हजार रुपैयाँसम्म नाफा गर्न सक्छ । कृषि, वन तथा माछापालन व्यवसायमा लागेको व्यक्तिले वार्षिक ३ लाख २२ हजार नाफा गर्न सक्छ भने सबैभन्दा न्यून कला, मनोरञ्जन तथा मनोविनोद त्रियाकलापमा संलग्न प्रतिव्यक्ति वार्षिक औसत नाफा ७९ हजार रुपैयाँ रहेको छ ।