मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ७ बुधबार ०५:३१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

लुकिछिपी भारतबाट आएका एकै गाउँका १० जनामा कोरोना  

कचनकवल गाउँपालिका सिल गर्ने तयारी

Read Time : > 1 मिनेट
२०७७ जेठ ७ बुधबार ०५:३१:००

झापामा नौजना कोरोना संक्रमित थपिएका छन् । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका थप नौजना युवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो । सबैजना कचनकवलस्थित एकै टोलका हुन् । उनीहरूलाई कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ । 

पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमबार कोरोना देखिएको थियो । नयाँ थपसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । यसअघि संक्रमित बाह्रदशी र दमकका दुईजना उपचारपछि घर फर्किसकेका छन् । ११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकिछिपी कचनकवल नाकाबाट नेपाल प्रवेश गरेको थियो । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए । संक्रमित समूहमा आएका एकजनामा भने कोरोना संक्रमण देखिएको छैन । मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्र्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए । 

भारतसँग सीमा जोडिएको कचनकवलमा एकैपटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बुधबार बैठक बसेर गाउँ सिलको निर्णय गर्ने बताए । ‘हामी १ देखि ५ नम्बर वडा मात्र सिल गरौँ भन्ने पक्षमा छौँ । तर, गाउँपालिकाका अध्यक्षज्यूहरू सातवटै वडा सिल गरौँ भन्नुहुन्छ,’ उनले भने, ‘सम्भवतः सबै वडा सिल गरिन्छ ।’

वडाध्यक्ष राजवंशीका अनुसार संक्रमित १० सहित ३३ जना पथरिया माविको क्वारेन्टाइनमा बसेका थिए । विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित छैन । संक्रमित १० जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टाइनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए । जसका कारण अरूमा पनि संक्रमण सर्ने खतरा रहेको छ । ‘एउटा कोठामा नअटेपछि दुईजनालाई अरू सातजना भएको कोठामा राखेका थियौँ,’ उनले भने, ‘जोखिम एकदमै छ । त्यसैले सबैको स्वाब संकलन गरेर पठाएका छौँ ।’ 

संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालयसमेत एउटै रहेको उनले बताए । ‘जम्मा दुईवटा शौचालय थियो,’ राजवंशीले भने, ‘सबैले एउटै शौचालय प्रयोग गर्थे ।’ स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टाइन व्यवस्थित गर्न नसकिएको उनले बताए । ‘क्वारेन्टाइन व्यवस्थापनमा ठूलो चुनौती छ । केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने ?’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । सीमावर्ती क्षेत्रका स्थानीय तह खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान छन् । ‘कि त सबै मानिस ल्याएर प्रदेश र केन्द्र सरकारले क्वारेन्टाइनमा राख्नुपर्‍यो,’ वडाध्यक्ष राजवंशीले भने ।