मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज भण्डारी काठमाडौं
२०७७ जेठ ६ मंगलबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

सिसडोल क्षेत्रका ४७२ जनाको कारोना परीक्षण

Read Time : < 1 मिनेट
भोजराज भण्डारी काठमाडौं
२०७७ जेठ ६ मंगलबार १९:१०:००

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइट आसपासको क्षेत्रका चार सय ७२ जना स्थानीयको मंगलबार कोरोना परीक्षण गरिएको छ ।

काठमाडौं महानगरपालिकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराइएको महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए । महानगरका स्वास्थ्य सहायक ऋषि भुसालकाअनुसार ल्याण्डफिल साइटनजिक रहेको स्वास्थ्य चौकीमा तीन सय २० जना र भवानी माविमा एक सय ५२ जना गरी चार सय ७२ जनाको कोरोना परीक्षण गरिएको हो । उनीहरूमध्ये एक सय ५२ जनाको पिसिआर विधिबाट र अन्यको आरडिटी विधिबाट परीक्षण गरिएको थियो ।

फोहोरको अन्तिम व्यवस्थापन हुने सिसडोलको सन्निकट क्षेत्रका स्थानीयको प्रतिनिधिमूलक परीक्षण गराइएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताए । उनले भने, ‘आजको परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३, धादिङको धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौंको तारकेश्वर नगरपालिका वडा ३ का स्थानीय सहभागी  थिए ।’

ककनी गाउँपालिकाले आइतबार मात्र फोहोर व्यवस्थापनका कारण कोरोनाको जोखिम उच्च भएको भन्दै सिसडोलमा एक सातासम्म फोहोर फाल्न नदिने निर्णय गरेको थियो । तर मंगलबार काठमाडौं महानगर र ककनी गाउँपालिकाबीच छलफलपश्चात् स्थानीयको कोरोना जाँच गराउने र फोहोर व्यवस्थापन सहज बनाउने सहमति भएको थियो । कोरोनाको जाँच भएसँगै स्थानीयसँग फोहोर फाल्ने दिने सहमति भएको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।