मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार

अनलाइन अध्यापनका लागि शिक्षकलाई कागेश्वरी नगरपालिकाको तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १७:३१:००

कोभिड– १९ को महामारीका कारण लकडाउन लम्बिँदै जाँदा पठन–पाठन ठप्प हुँदै गएपछि विद्यार्थीको पढाइ रोकिन नदिन सरकारी विद्यालयका शिक्षकलाई सूचना प्रविधिमा आधारित अध्यापनसम्बन्धी तालिम दिन थालिएको छ । राजधानी काठमाडौंभित्रैका सरकारी विद्यालयका शिक्षकका लागि कतिपय नगरपालिकाले त्यस्तो तालिम दिन सुरु गरेका हुन् । 

त्यसक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा नेपाल राष्ट्रिय शिक्षक संगठन कागेश्वरी मनोहरा नगर कमिटीले पहिलो चरणको तीनदिने सूचना प्रविधिमा आधारित शिक्षक प्रशिक्षक तालिम दिएको छ । 

४ देखि ६ जेठसम्म सम्पन्न तालिममा नगरपालिकाका ३० जना शिक्षक सहभागी भएका थिए । नगरपालिकाको सहयोगमा पहिलो चरणमा सहभागी ३० प्रशिक्षक शिक्षकबाट कम्तीमा पनि नगरपालिकाका तीन सय शिक्षकलाई सूचना प्रविधिमा आधारित पठन–पाठनमा अभ्यस्त बनाउने गरी लगातार तालिम सञ्चालन गर्दै लैजाने उद्देश्य राखिएको नगर संगठनका अध्यक्ष छत्रबहादुर कटुवालले बताए ।

तालिमका क्रममा अनलाइन भिडियो कन्फ्रेन्स–जुम, जिमिट र जिस्विटलगायतबाट सयजनासम्म विद्यार्थीलाई एकैपटक सहभागी गराएर कसरी अध्यापनमा संलग्न गराउन सकिन्छ भन्नेबारे प्रशिक्षण  दिइएको माध्यमिक तहका शिक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । 

‘अहिलेलाई एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भिडियो कन्फ्रेसबाटै विद्यार्थीलाई शिक्षकले पाठ्य सामग्री उपलब्ध गराउने, पढाउने, गृहकार्य गराउने उद्देश्य राखिएको छ,’ कार्कीले भने, ‘यसको प्रभावकारिता हेरेर नगरपालिकाभित्रका विद्यालयका अन्य तहका विद्यार्थीलाई पनि भिडियो कन्फ्रेन्सबाटै पठन–पाठन अघि बढाउने तयारीमा छौँ ।’

तीनदिने तालिमको मंगलबार समापन गर्दै नगरप्रमुख कृष्णहरि थापाले लकडाउनको अवधिमा घरमा रहेका सरकारी विद्यालयका सबै तहका विद्यार्थीलाई अनलाइन प्रविधिबाट अध्यापन गराउने थप योजना ल्याउन आग्रह गर्दै नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

अर्की शिक्षिका गीता तिमल्सिनाले लकडाउन लम्बिँदै गएको खण्डमा अनलाइन प्रविधिबाट शैक्षिक सत्र प्रभावित नहुने गरी पठन–पाठन गराउन सकिनेमा तालिमबाट आफू विश्वस्त बनेको बताइन् ।