मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ६ मंगलबार ०७:५८:००
Read Time : > 1 मिनेट
प्रदेश

 बागमती प्रदेशको बजेट अधिवेशन जेठ १२ देखि सुरु गर्ने तयारी

Read Time : > 1 मिनेट
२०७७ जेठ ६ मंगलबार ०७:५८:००

बागमती प्रदेशको संसद् बैठक १२ जेठबाट सुरु गर्ने तयारी गरिएको छ ।  करिब १५ दिनअघि नै सुरु हुनुपर्ने बजेट अधिवेशन कोरोना प्रभाव र लकडाउनका कारण रोकिएपछि १२ जेठबाट सुचारु गर्ने प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् बैठकले १२ जेठमा बजेट अधिवेशन सुरु गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । सोमबार मन्त्रिपरिषदबाट निर्णय गरेर १२ जेठबाट बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएसँगै संसद् बैठक सुचारु हुने निश्चित भएको हो ।

मन्त्री जमकट्टेलले १२ जेठ दिउँसो २ बजेटबाट संसद् बैठक सुचारु गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको जानकारी दिँदै अब नीति तथा कार्यक्रम र बजेट संसदमा पेस हुने पक्का भएको प्रतिक्रिया दिए ।

१ जेठमा प्रि-बजेट संसदमा पेस गर्नुपर्ने भए पनि कोरोना प्रभावका कारण बैठक बस्न नसकेपछि सरकारले अध्यादेशमार्फत प्रि-बजेट ल्याइसकेको छ । अब सरकारले संसदमा प्रि-बजेटबारे पनि छलफल गर्ने तयारी गरेको छ । 

संवैधानिक प्रावधानअनुसार तोकिएको समयमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट संसदमा पेस गर्ने तयारी गरेको छ । चालू आव ०७६/७७ मा ४७ अर्बको बजेट ल्याएको प्रदेश सरकारले आगामी आव ०७७/७८ का लागि ५० अर्ब हाराहारीको बजेट पेस गर्ने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको तयारी छ ।

त्यस्तै, कोरोना प्रभावकाबीच सञ्चालन गरिने संसद् बैठकमा विशेष स्वास्थ्य सुरक्षा अपनाइने सभामुख सानुकुमार श्रेष्ठले बताए । उनका अनुसार, 'संसदमा भौतिक दूरी कायमका लागि सबै व्यवस्थापन पूरा भइसकेको छ । यसैगरी सबै सांसदको पिसिआर परीक्षणका लागि सरकारसँग समन्वय पनि भइरहेको छ ।'

मिडिया डेस्क र दर्शकदीर्घा हटाइयो

साँघुरो संसद् बैठक बस्ने सभाकक्षमा मिडिया डेस्क र दर्शकदीर्घा हटाएर दूरी कायमका लागि कुर्सी राखिएको सभामुख श्रेष्ठले जानकारी दिए । 'हाम्रो संसद् सुरुवातदेखि नै साँघुरो छ,' उनले भने, 'यो विषम परिस्थितिमा भौतिक दूरी कायम अतिआवश्यक रहेकोले मिडिया डेस्क र दर्शकदीर्घा हटाएर व्यवस्थापन गरिएको हो ।'