मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ६ मंगलबार ०६:१६:००
Read Time : > 2 मिनेट
सप्तरंग

अमेरिकन आइडलको उपविजेता बने ‘आर्थर गन’

Read Time : > 2 मिनेट
२०७७ जेठ ६ मंगलबार ०६:१६:००

डाइभर्सिटी भिसा (डिभी) परेपछि दाताराम पोखरेलको परिवार सन् २००८ मा काठमाडौंबाट अमेरिका स-यो । उनकी पत्नी मैया तथा छोरीहरू रुबी र सुप्रिया उनीसँगै अमेरिका पुगे । स्कुल तहमै रहेका छोरा दिवेश भने काठमाडौंमै रहे । उच्च माविसम्मको पढाइ सकेर त्यसको ६ वर्षपछि मात्र दिवेश पनि अमेरिका पुगे ।

काठमाडौं कुलेश्वरमा जन्मे–हुर्केका उनी अमेरिका पुगेयता कान्सास राज्यको विचिटामा बाबुआमा र दिदीहरूसँग बस्दै आएका छन् । स्थानीय समयअनुसार आइतबार राति उनी अमेरिकन आइडलको १८औँ शृंखलाको उपविजेता भएको खुसी काठमाडौंमा उनका शिक्षकहरू साटिरहेका थिए ।

दिवेश पोखरेल ‘आर्थर गन’

‘हाम्रो छाती आकाशजत्रै फराकिलो बनाइदियौ तिमीले,’ काठमाडौं रविभवनस्थित ज्ञानकुञ्ज स्कुलमा उनलाई पढाएका जीवन पानी पोखरेलले सामाजिक सञ्जालमा लेखे, ‘हामी सबै शिक्षकको गौरव हौ तिमी ।’ अर्का शिक्षक युवराज काफ्लेका अनुसार दिवेशले कक्षा सातदेखि होस्टेलमा बसेर पढेका थिए । ‘आत्मविश्वास र लगनशीलता भएमा आफ्नो क्षेत्रमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् उनी,’ काफ्ले भन्छन् ।

काठमाडौं कुलेश्वरमा जन्मे–हुर्केका दिवेश पोखरेल ‘आर्थर गन’ अमेरिकी आइडलको उपविजेता बनेका छन् । उच्च माविसम्मको अध्ययन सकेर उनी ६ वर्षअघि अमेरिका पुगेका थिए ।

शिक्षक पोखरेलका अनुसार दिवेशले कक्षा पाँचदेखि ज्ञानकुञ्जमा पढ्न थालेका हुन् । ८ कात्तिक ०५४ मा जन्मेका उनले ०६८ सालको एसएसलसी परीक्षा ८०.८७ प्रतिशत अंकका साथ उत्तीर्ण गरेका थिए । अरू कक्षामा पनि उनी ७५ देखि ८५ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन्थे । ‘उनी कमै बोल्थे, स्कुले जीवनमा गीत–संगीतमा उनको रुचि घरमै सीमित थियो,’ पोखरेल भन्छन्, ‘खासमा, उनी सानै उमेरमा गितार बजाउन सिपालु भइसकेका थिए ।’

उनका अनुसार घरको बाथरुममा बिटबक्सबाट गितार बजाइरहेको सुनेपछि आमा मैयाले दिउँसो न्युरोड पुगेर गितार ल्याइदिएकी थिइन् । साँझ स्कुलबाट घर फर्किँदा आमाबाट गितार उपहार पाएका उनी त्यसपछि घरमै संगीतको अभ्यास गर्थे । ‘त्यही नै उनी संगीतमा लाग्ने प्रस्थान बिन्दु थियो,’ जीवन भन्छन्, ‘घरमा रुचिअनुसारको वातावरण बच्चैदेखि पाएकाले पनि उनले आज यो सफलता हात पारेका हुन् ।’ उनका बाबु दाताराम सरकारी कर्मचारी थिए र पूर्वतिरबाट बसाइँ सरेर काठमाडौं प्रवेश गरेका थिए ।

काठमाडौंमा छँदा ‘कफी सप’ र ‘पब’हरूमा साथीहरूसँग गितार बजाउने र गाउने गर्थे । संगीतमा उनको औपचारिक करिअर भने अमेरिका पुगेपछि नै सुरु भयो । सुरुवाती दिनमा उनी लस एन्जलस, सानफ्रान्सिस्को, न्युयोर्कलगायत सहरमा ‘बस्किङ’ अर्थात् ‘सडकमै सांगीतिक गतिविधि’ गर्थे । वाचिटा बसाइका क्रममा उनी ‘ब्लु ग्रास’ र ‘कन्ट्री सङ’जस्ता संगीत विधामा आकर्षित भए । 

सन् २०१८ मा ‘ग्रहण’ नामक पहिलो एल्बम ल्याए, जसमा आठवटा गीत छन् । सन् २०१९ मा ‘खोज’ नामको एल्बम निकाले, जसमा ‘म’, कर्णाली, ‘खोज’, ‘न्यानो घर’ बोलका गीत छन् । बब डिलन, निक ड्रेक, रोबर्ट जोनसनजस्ता अंग्रेजी गायकहरूबाट उनी प्रभावित मान्छन् आफूलाई । अमेरिकन आइडलको उपाधि भने भोटिङका आधारमा गायिका जस्ट सामले हात पारिन् ।

दिवेश अमेरिकन आइडल १८औँ शृंखलाको अडिसन राउन्डदेखि नै जजहरूको नजरमा परेका थिए । यस सिजनका सबैभन्दा पृथक् भोकल भएका प्रतियोगीका रूपमा उनले जजहरूको प्रशंसा बटुलेका थिए । स्टेज पर्फर्मेन्समा ‘आर्थर गन’का रूपमा उनले आफूलाई चिनाउनुको अन्तर्य फ्रान्सेली कवि स्वर्गीय आर्थर रिम्बडका कविताप्रति उनको मोह हो ।

‘दिवेशको प्रस्तुतिले नेपाली कलाकार पनि प्रतिभाशाली छन् भन्ने फराकिलो सन्देश दिएको छ । यसबाट नेपाली संगीतको बजार विस्तारमा सहयोग पुग्छ ।’

विश्वभर कोभिड–१९ को महामारी फैलिएपछि यसपटकको अमेरिकन आइडलको टप–२० पछिका संस्करण घर–घरबाटै गरिएको थियो । ‘ट्यालेन्ट रिक्याप’ नामक अमेरिकी वेबसाइटले गरेको जनमत सर्वेक्षणमा उनले ५३ प्रतिशत भोट पाएका थिए भने अन्य प्रतियोगी २० प्रतिशतभन्दा तलै थिए । फाइनल राउन्डमा उनले गाएको ‘रुट्स रक समूह’को ‘क्रिडेन्स क्लियरवाटर रिभाइभल’को ‘ह्याभ यु इभर सिन द रेन’ युट्युबको विश्वव्यापी टेन्ड्रिङमा ३८ नम्बरमा छ ।

संगीतकार शम्भुजित बाँस्कोटा अन्तर्राष्ट्रियस्तरमा नेपाली भनेर चिनिनु नै आफैँमा गर्विलोे उपाधि भएको बताउँछन् । ‘दिवेशको प्रस्तुतिले नेपाली कलाकार पनि प्रतिभाशाली छन् भन्ने फराकिलो सन्देश दिएको छ,’ उनी भन्छन्, ‘यसबाट नेपाली संगीतको बजार विस्तारमा सहयोग पुग्छ ।’ गायक–संगीतकार अर्जुन पोखरेल दिवेशको सफलता कलाक्षेत्रमा लाग्नेहरूका लागि गर्वको विषय भएको बताउँछन् । ‘हामीले पूर्वीय कलाक्षेत्रको केन्द्र बलिउडलाई मानिरहेका छौँ,’ उनी भन्छन्, ‘दिवेशले अमेरिकामा आफ्नो करिअर अगाडि बढाएका छन् ।’

अमेरिकन आइडलको फाइनलसम्म पुगेर दिवेशले सानो देशमा जन्मे–हुर्केको हीनताबोधमाथि प्रहार गरेको गायक स्वरूपराज आचार्य बताउँछन् । भन्छन्, ‘एक्सपोजर र बजार पाउने हो भने हामीभित्रै अनगिन्ती राम्रा कलाकार भएको ‘बेन्चमार्क’ दिवेशले बनाएका छन् ।’ जन्मभूमि छाडेर अमेरिका पुगे पनि दिवेशले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको गायक नवीन के भट्टराई बताउँछन् । ‘उनको यो सफलतालाई नेपालीले मात्र होइन, एसियाकै बासिन्दाले सम्मान गर्नुपर्छ,’ गायिका कुन्ती मोक्तान भन्छिन् ।