मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ५ सोमबार २१:०४:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

यी हुन् नीति तथा कार्यक्रममाथि कांग्रेस नेताहरूका चर्चित टिप्पणी

Read Time : > 5 मिनेट
२०७७ जेठ ५ सोमबार २१:०४:००

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व समुदाय यतिखेर प्रताडित छ । रोग संक्रमण हुन नदिन, संक्रमणपछि उपचार गर्न विश्वभरका सरकारहरू रातदिन लागिरहेका छन् । संक्रमणछि प्रभावकारी कदमदेखि आर्थिक राहत प्याकेजमा कतिपय देशहरू उदाहरणीय बनिरहेका छन् । नेपालमा माघदेखि सुरु भएको संक्रमण यतिखेर बढ्दो छ । सरकारलाई संक्रमण बढ्न नदिन, संक्रमितको प्रभावकारी उपचार गर्नुपर्ने दबाब छ । साथै, संक्रमण बढ्न नदिन गरिएको लकडाउनबाट मजदुर, विद्यार्थी, नागरिक र सिंगो अर्थतन्त्रमाथि परेको असरलाई कमी जानुपर्ने दायित्वमा सरकार छ । 

यहीवेला सरकारलाई नीति तथा कार्यक्रम ल्याएर आवश्यकता र आशालाई पूरा गर्ने अवसर पनि छ । कोरोनाको असरलक्षित कार्यक्रम पनि यसमा छन् । तर, प्रतिपक्षी दल कांग्रेसले भने प्राथमिकता निर्धारण नगरी एक वर्षको भन्दा बहुवर्षीय कार्यक्रम ल्याएको सरकारको आलोचना गरेका छन् । संकटमा ल्याइएको नीति तथा कार्यक्रमले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै प्रतिपक्षीले आलोचना गरेको छ । एकवर्षे कार्यक्रममा तीनवर्षे कार्यक्रम जोडिएको भन्दै कांग्रेसका सांसदहरूले खुलेर कार्यक्रमको आलोचना मात्रै गरेका छैनन् कार्यक्रम पुनर्लेखनको मागसमेत गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका नेताहरूले बोलेका केही प्रतिनिधि टिप्पणी यस्ता छन् । 

पीडा बुझ्ने हृदय नभएको सरकार : शेरबहादुर देउवा
सभापति शेरबहादुर देउवाले आइतबार संसदमा सरकारका मान्छेसँग जनताको पीडा बुझ्ने हृदय नभएको टिप्पणी गरे । ‘पहिलो सन्देश यो सरकारलाई कोभिड– १९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन,’ देउवाले भने, ‘तेस्राे, सरकारसँग यो अप्ठ्यारो वेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । एकवर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनाजस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ ।’ कोरोना संक्रमण हुन नदिन गरिएको लकडाउनमा सरकारले पर्याप्त तयारी नगरेको, राहत, उद्धारमा कमजोरी  देखाएको टिप्पणी गरे । नागरिक, मजदुरको दैनिकी कष्टकर बनेको, उद्योग, पर्यटन र समग्र रोजगारको क्षेत्र प्रभावित बन्दा पनि सरकारको शैली सुस्त देखिएको कांग्रेसको ठहर छ ।

देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धी सम्झौता एमसिसीलाई यो सदनबाट पारित गराउन माग गरे । ‘नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन । यही सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु,’ देउवाले भनेका थिए, ‘पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उल्लंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु ।’ अघिल्ला वर्षको नीति कार्यक्रमले सरकार नै लज्जित हुनुपर्ने अवस्था रहेको टिप्पणी देउवाको थियो । मिचिएको नेपाली भूमि फिर्ता गराउन भारत र चीन दुवैसँग सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको पनि उनको आरोप छ । 

काण्डैकाण्डको सरकार : डा. शशांक कोइराला
कांग्रेस महामन्त्री शशांक कोइरालाले कोरोनाको महासंकटमा पनि सरकार भ्रष्टाचारमा डुबेको टिप्पणी गरे । ‘यती काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड र सांसद अपहरण काण्डपछि यो महासंकटमा सरकारले मेडिकल सामग्री खरिदमा पनि भ्रष्टाचार गरेको विषय छताछुल्ल भएको छ,’ उनले भने । 

सुरक्षामा लाग्नुपर्ने सेना दुःख दिन लाग्यो : प्रकाशमान सिंह
संसद् बैठकमा कांग्रेस सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षामा लाग्नुपर्ने सेना जनतालाई दुःख लागेको बताए । ‘ब्लड लिन गएको कालिमाटीमा घनश्याम झालाई सेनाले दुःख दियो । श्रीमती बिरामी भएर रगत दिन जाने नागरिकलाई नेपाली सेनाले के गर्न खोजेको ? नेपाल प्रहरीले गर्नुपर्ने काम सेनाले गर्ने हो ?’ सिंहले भने, ‘राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने हो सेनालाई । शान्तिसुरक्षा त प्रहरीले गर्नुपर्ने हो नि । यस्तो किन भएको छ ? जनतालाई किन अपमानित गरेको छ ? सरकारको नियतबारे हामी सबै सजग हुनुपर्छ ।’ सरकारको नीति कार्यक्रम कोरोनापछिको समस्यालाई समाधान गर्नेभन्दा भ्रष्टाचारलाई ढाकछोप गर्ने हिसाबले आएको टिप्पणी गरे । बालुवटार काण्ड, सेक्युरिटी प्रेस, खरिद, स्वास्थ्य सामग्री, यती काण्ड यो सरकार काण्डकाण्डमा लागेको आरोप लगाए ।

कम्युनिस्ट सरकारले मदन भण्डारीको नामको सडकको बजेट काट्ने ? : डा. मीनेन्द्र रिजाल
नीति तथा कार्यक्रममाथि संशाेधन हालेका कांग्रेस सांसद मीनेन्द्र रिजालले कार्यक्रम प्रस्तुत गर्ने भाषा सुध्रिए पनि कार्यक्रम नेपालको स्रोतले धान्न नसक्ने गरी आएको बताए । ‘स्रोत साधनले नधान्ने उच्च आकांक्षाको दस्ताबेज आएको छ । उपदेश छन् । संघीयता छैन,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य–मान्यताको अपमान नहोस् भनेका थियौँ । तर, नसुध्रिकोले संशाेधन प्रस्ताव हालेका हौँ ।’ 
जनताको विवेकको अवमूल्यन नगर्न आग्रह गर्दै उनले कोरोनाको असरपछि उद्धार, राहतको लागि के गर्ने भनेर खुला छलफलको माग गरे । ‘खाली कागज लिएर बसौँ । विदेशमा रहेका नेपाली, दुःखमा रहेका किसान, उद्योग, पयर्टनलाई कसरी उठाउने ? छलफल गरौँ,’ उनले भने, ‘तर, मेरो क्षेत्र मदन भण्डारीको कर्मथलो । उहाँको राजनीतिक जीवन बितेको क्षेत्र हो । धेरै कम्युनिस्ट साथीहरूलाई थाहा छ ।  तर, मदन भण्डारीको नामको मार्गको सडकको बजेट काटियो । किनकि यो क्षेत्रमा कांग्रेस चुनाव जित्यो भनेर ।’ गिरिजाप्रसाद कोइरालाले पटकपटक चुनाव जितेको क्षेत्र भएको उल्लेख गर्दै उनको नामको सडकको पनि खर्च काटेर प्रदेशमा पठाइएको भन्दै उनले आलोचना गरे । 

नीति तथा कार्यक्रम तपाईंको कविताजस्तो होइन : गगन थापा
कांग्रेस युवा नेता गगन थापाले कोरोनाको असरपछि धेरैका आँखा सरकारतिर पनि भए पनि सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता निर्धारण गर्न नसकेको आरोप लगाए । ‘यो दस्ताबेज प्रधानमन्त्री एक्लैले लेख्नुभएको कविताजस्तो हाेइन, न कुनै मन्त्रीहरूले लेख्नुभएको अध्यादेशजस्तो हो । यो त पहिला लेखियो होला,’ थापाले भने, ‘सचिव, मन्त्री, प्रधानमन्त्रीको टिम अनि प्रधानमन्त्रीले यहाँँ ल्याउनुभन्दा पहिला पटक–पटक पढ्नुभयो होला । यो महामारीले गर्दा विश्व व्यवस्था र अवस्थामा खलबल ल्याएको छ  र यसबाट हामी अछुतो हाेइन झन् बढी प्रभावित भएका छौँ भनेर यो दस्ताबेज लेख्दै गर्दा कसैले भनेन ?  नागरिकको खल्ती खाली हुँदा यसले घरको खुत्रुके मात्रै रित्तिने हाेइन देशको ढुकुटी पनि रित्तिने भन्दै थापाले नीति तथा कार्यक्रमले सबै गरौँ भनेको, तर केही गर्ने सामर्थ्य नराखेको टिप्पणी गरे । कोरोनाविरुद्धको काम गराई अहिलेजस्तै हुने हो भने केही दिनदेखि यसको संक्रमणबाट मर्ने मानिसको संख्या गन्नै नसकिने भन्दै सरकारलाई थापाले सचेत गराएका छन् । सीमाबाट नागरिक ल्याउन नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने सोच्नै नसकिने उनको भनाइ थियो । 

उपप्रधानमन्त्रीको कालापानी निरीक्षण व्यक्तिगत कि औपचारिक : दिलेन्द्रप्रसाद बडू
सांसद दिलेन्द्रप्रसाद बडूले राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी क्षेत्रको अनुगमनका निमित्त औपचारिक पत्र पठाएर हेलिकाेप्टर माग गर्दा सरकारले असमर्थता देखाएको बताए  । तर, सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलाई त्यसलगत्तै आफ्ना पार्टीका नेता र कार्यकर्तालाई लिएर सेनाको हेलिकाेप्टरमा कालापानी क्षेत्रमा गएको भन्दै उनले प्रश्न गरे, ‘त्यो औपाचारिक निरीक्षण हो कि व्यक्तिगत ?’ 

नीति तथा कार्यक्रम हास्य कार्यक्रम : भीमसेनदास प्रधान
सांसद भीमसेनदास प्रधानले कोरोनाको त्रास र असरबीच आएको नीति चता कार्यक्रम हास्यकलाकारको जस्तो भएको टिप्पणी गरे । ‘तीन घन्टाको नीति तथा कार्यक्रमको सम्बोधनमा जनतालाई हसाउने मनोरञ्जनको कार्यक्रम पनि राखिएको छ,’ प्रधानले भने, ‘ हास्य कलाकार मदनकृष्ण र हरिवंशले नेताहरूको कुरा राखेर हसाउनुहुन्छ । भोकले कोही मर्दैनन्, भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ भनेर मनोरञ्जन कार्यक्रम राखेर जनतालाई हसाइएको छ ।’ प्रधानले भारतले खुला सीमाको फाइदा उठाउँदै भारतले फेरिफेरि पनि सीमा मिच्न सक्ने भन्दै नेपाली सेनलाई सीमा रक्षाको लागि पठाउनुपर्ने टिप्पणी गरेका छन् । ‘भारतसँग वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ,’ उनले भने,  ‘आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सेनालाई सीमामा पठाइहाल्नुपर्छ । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ । त्यसलै हामीले आफ्नो तयारी गरिहाल्नुपर्छ ।’

विश्वयुद्ध र एटमबमभन्दा पनि कोरोनाको संकट खतरा : प्रदीप गिरि 
कांग्रेस सांसद प्रदीप गिरिले नीति तथा कार्यक्रमको दस्ताबेजमा मानव जातिले भोग्नुपरेको कष्टकर दैनिकीबारे ठोस प्रस्ताव नभएको टिप्पणी गरे । ‘सुशासन र भ्रष्टाचार हुन दिन्नौँ भन्ने कुरा छन् । कसैलाई भोकै रहन दिन्नौँ भन्ने छ । तर, भोकले नै मर्ने अवस्था आउँदै छ । रोगभन्दा भोकले मर्ने अवस्था आउँदै छ भनेर संवेदनशील मानिस र नेताहरूले भनिसके । तर, राज्यको संयन्त्र यसप्रति उदासीन छ । भनिन्छ रक्सीको नसा खाएपछि लाग्छ । पैसाको नसा पाएपछि लाग्छ । तर, सत्ताको नसा गाएपछि लाग्दोरहेछ । तपाईं कति ठूलो, तपाईं कति महान् । यो देश बनाउन तपाईंको जन्म भएको भनेपछि मान्छे बेहोस हुनेछ,’ गिरिले भने, ‘यो देशका खासगरी सत्ताधारीहरूलाई मुलुकको समस्याको जानकारी छैन जस्तो लाग्छ मलाई । मानवताको इतिहासमा कोराेनाको महामारी द्वितीय विश्वयुद्ध र एटमबमको भन्दा पनि खतरापूर्ण छ । तर, यस्तो वेला यो गरिनेछ र त्यो गरिनेछ भन्ने लिस्टले पुग्छ ?’ 

सरकारप्रतिको विश्वसनीयता गुम्यो : पुष्पा भुसाल
पुष्पा भुसालले नीति तथा कार्यक्रम पट्यारलाग्दो, वैराग्यपूर्ण, जनताले रूपान्तरणको अनुभूत गर्न नसक्ने रहेको बताइन् । ‘देशका समस्या, विदेशमा रहेका नेपाली विद्यार्थीको चीत्कार र खाडीमा रहेका लाखौँ नेपालीको पीडालाई सम्बोधन गर्न सकेन । हावा मात्रै उडेको कार्यक्रम,’ भुसालले भनिन्, ‘एक वर्षभित्र समस्याको समाधान गर्ने विषय आएनन् । रोग, भोग र आर्थिक संकटको समस्याको एक वर्षमा समाधान गर्ने विषय कार्यक्रममा ल्याइएन ।’ 

जनतालाई सुखी होइन गरिब बनाउने कार्यक्रम : डा. डिला संग्रौला
कोरोनाबाट नागरिकहरू पीडामा रहे पनि सरकारले नीति तथा कार्यक्रममा प्रभावकारी राहत प्याकेज नल्याएको आरोप उनले लगाइन् । ‘समस्यामा रहेका मजदुरहरूका लागि ६ महिनादेखि एक वर्षसम्मको राहत प्याकेज घोषणा गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले घोषणा गरेका कार्यक्रमहरू कर्मकाण्डी मात्रै छन् । यसरी जनताको पीडा कम गर्न सकिँदैन । सरकारले नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपालीको नारा राखे पनि यथार्थमा भने देशको अवस्था गरिब नेपाल, दुःखी नेपालीमा परिणत हुँदै गएको छ ।’

सबैलाई निराश पार्ने कार्यक्रम : सञ्जय गौतम
कोरोनाको त्रासपछि जनतालाई आश्वास्त पार्नुपर्ने कार्यक्रमले उल्टै निराशा थपेको गौतमले बताए । ‘कोरोनाको संक्रमण नहोस् भनी गरिएको लकडाउनपछि सीमामा नागरिक अलपत्र छन् जनतामा कोलाहलको अवस्था छ । उद्योग कारखाना बन्द छन् । पर्यटन क्षेत्र सबैभन्दा प्रभावित छ,’ गौतमले भने, ‘तर, सांसद अपहरण हुन्छन् । पार्टी विभाजन गर्न रातारात अध्यादेश आउँछ । सुशासनको कुरा प्रधानमन्त्री गर्नुहुन्छ, तर जहीँतहीँ भ्रष्टाचार छ । कस्तो हास्यास्पद ।’ उनले तत्काल ठोस राहतको प्याकेज ल्याउन सरकारसँग माग गरे । वर्तमानमा देखिएको समस्यालाई सम्बोधन नगर्ने भन्दै नीति कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग उनको थियो ।