नेपाली सेनाले सोमबार लमजुङ जिल्ला सामुदायिक अस्पताल परिसरमा कोरोना भाइरसको संक्रमण बढेपछि गरिने विभिन्न क्रियाकलापसम्बन्धी ‘डेमो’ देखाएको छ ।
लमजुङको उदीपुरस्थित श्रीजंग गणका सुरक्षाकर्मीले कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शनी गरेका हुन् । सेनाले कोरोना भाइरस संक्रमण बढेपछि सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को प्रयोग गर्ने तरिका, कोरोना भाइरस संक्रमित फेला परेपछि अस्पतालसम्म लैजाने तरिका, कोरोना भाइरसबाट मृत्यु भए उक्त शवलाई अस्पतालबाट अन्तिम संस्कार स्थलसम्म लैजानका लागि अपनाउनुपर्ने विधिलगायतमा ‘डेमो’ देखाएका थिए ।
सेनाले विभिन्न जोन निर्धारण गरी सम्भावित संक्रमित र संक्रमणबाट मृत्यु भएको व्यक्तिको तथ्यांक, मुचुल्का, परिवारको सहमति, परिवारको सदस्यलाई सान्त्वनालगायतका कुरा नाटकीय शैलीमा डेमोमार्फत प्रस्तुत गरेको थियो । वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने काममा एकरूपता ल्याउन मद्दत पुग्ने उद्देश्यले डेमो प्रदर्शन गरिएको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले बताए । प्रदर्शनीले जिल्लास्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सरोकारवालाहरूमा निकै सचेतना बढेको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।