मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जोनाथन फिडल्यान्ड
२०७७ जेठ ५ सोमबार ०७:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

कोरोना–भाइरस : दमनकारी शासकलाई एउटा बहाना

तानाशाहका लागि सत्तामा टिकिरहने राम्रो बहाना कोरोना महामारीले जुराइदिएको छ

Read Time : > 2 मिनेट
जोनाथन फिडल्यान्ड
२०७७ जेठ ५ सोमबार ०७:३६:००

कोरोना भाइरसको मखुण्डोभित्र हुने–नहुने सब हुँदै छ । तपाईं–हामी विश्वव्यापी स्वास्थ्य संकट देखिरहेका छौँ । तर, विश्वका कतिपय सत्तासीनहरू यसलाई मौकाका रूपमा लिँदै छन् । दक्षिणपन्थी या प्रगतिशील दुवै नेताहरू संकटलाई खेर जान दिने पक्षमा छैनन् । कतिपय प्रगतिशील शासक महामारीलाई समाजमा व्याप्त असमानता चिर्ने र प्रकृति संरक्षण गर्ने अवसरको रूपमा लिँदै छन् । तर, अरू पनि छन्, जो भाइरसको निहुँमा प्रतिगमनतिर उद्वेलित छन् । सिरियाका बसर अल असददेखि चीनका सि जिनपिङसम्मलाई राज्यद्वारा अपहेलित समुदायलाई संरचनात्मक रूपमै थप दमित बनाउन कोभिड–१९ एउटा बहाना भएको छ ।

चीनले अझै १० लाख उइगुर मुस्लिमलाई अमानवीय अवस्थामा आवश्यक स्वास्थ्य सेवा र पूर्वाधारविनै ‘नजरबन्द’मा राखिराखेको छ । त्यहाँ कोरोना भाइरस पनि फैलिएको छ । आखिर भाइरसले सफा–सुग्घर खोज्दैन । उइगुर मुसलमानलाई जबर्जस्ती अन्य घरमा बसिरहेका गैरमुस्लिमको ठाउँमा मजदुरी गर्न लगाइएको विषय पनि बाहिरिएको छ । सबैतिर तानशाहका लागि सत्तामा टिकिरहने बहाना पनि महामारीले जुराइदिएको छ । कोरोनाको सुरुमै हंगेरीका राष्ट्रपति भिक्टर ओर्बानले यसविरुद्ध लड्न अनिश्चित समयका लागि संकटकालीन अधिकार मागे । महामारी सकिए पनि त्यो शक्ति रहिरहनेछ र यसमा अफवाह फैलाउनेलाई जेल कोच्नेसम्मको अधिकार छ । अब नागरिकले फेसबुकमा पोस्ट गरेकै आधारमा जेल जानुपर्छ । ओर्बान पहिल्यैदेखि स्वेच्छाचारी शासन चलाउन चाहन्थे अहिले महामारीले उनलाई आफ्ना विरोधीलाई तह लगाउने मौका पनि दिएको छ । त्यसो त धेरै शासकका लागि कोरोना आफ्ना नागरिकको निगरानी गर्ने अवसर पनि भएको छ । 

चार सय ४८ फुटबल मैदानजत्रो घना जंगल क्षेत्र यही अप्रिलमा पूर्ण उजाड पारिएको छ । विश्व कोरोनाबाट आक्रान्त नहुँदो हो त यसको व्यापक विरोध हुन्थ्यो । लाग्छ, यो महामारीमा रूख पनि विनाआवाज शान्तसँग ढल्छ र हामी केही सुन्नै पाउँदैनौँ ।

केही भ्रष्ट नेताले कोरोना भाइरसका कारण आफ्ना करतुतप्रति जिम्मेवार बन्नुपरेको छैन । किनकि, विश्वकै ध्यान महामारीमा छ, तिनले लत्याइरहेको नीति–नियमप्रति कसैको ध्यान पुग्न पाएको छैन । कोरोना नियन्त्रणमा असफलतालाई लिएर डोनाल्ड ट्रम्पको आलोचना भइरहेको छ, उनले सिर्जेको अस्तव्यस्तता सबैले देखिरहेका छन् । तर, यतिखेरै उनी आफ्ना समर्थकद्वारा हुल्लडबाजी प्रदर्शन गराइरहेका छन् । यसतर्फ कसैको ध्यान गएको छैन । यही साताको गार्जियनको रिपोर्टअनुसार यो महामारीको मौकामा ट्रम्प प्रशासन वातावरणविरोधी नीति–निर्माणमा तल्लीन छ । लकडाउनबीच ट्रम्पले वायु प्रदूषणको मात्रा कम गराउन अपनाइने कारको अधिकतम इन्धन खपत मापदण्ड लत्याएका छन् । उनले प्रदूषणकारीको पक्षमा कानुन बनाउँदै छन् । ट्रम्पकै अनुयायी ब्राजिलका बोल्सेनारोले आफ्नो गुरुलाई उछिनेका छन् । वातावरण संरक्षणकर्मी निकायलाई पन्छाएर अमेजन जंगलको संरक्षण गर्न सेनालाई पठाएका छन् । अमेजन वनविनाशका लागि कोरोना भाइरस सबैभन्दा ठूलो मौका भएको छ । एनबिसी न्युजले स्याटलाइट तस्बिरका आधारमा निकालिएको अनुसन्धानअनुसार अघिल्लो वर्षको अप्रिलमा भन्दा यो वर्षको अप्रिलमा वनविनाश ६४ प्रतिशतले बढेको छ । चार सय ४८ वटा फुटबल मैदानजत्रो घना जंगल क्षेत्र यही अप्रिलमा पूर्णतः उजाड पारिएको छ । यो विश्वको फोक्सो हो, यदि विश्व कोरोनाबाट आक्रान्त नहुँदो हो त यसको व्यापक विरोध हुन्थ्यो । लाग्छ, यो महामारीमा रूख पनि विनाआवाज शान्तसँग ढल्छ र हामी केही सुन्नै पाउँदैनौँ ।

अर्का ट्रम्पका प्रशंसक भारतका नरेन्द्र मोदीलाई पनि उनले अराष्ट्रिय भनि दाबी गरेकालाई दमन गर्न महामारी एउटा अर्को मौका बनेको छ । अभियन्ताहरूका अनुसार भारतको लकडाउनलाई प्रहरीले मुस्लिम नागरिक र अगुवाविरुद्ध हतियारका रूपमा प्रयोग गर्दै छ । लकडाउनका कारण पक्राउ परेकाहरू वकिल भेट्न र कानुनी उपचार खोज्न वञ्चित भइरहेका छन् । मूलधारका हिन्दू राजनीतिज्ञले कोरोनालाई ‘मुस्लिम भाइरस’को संज्ञा दिइरहेका छन् भने मोदी समर्थित मिडियाले यसलाई ‘कोरोना जिहाद’विरुद्धको लडाइँ भन्दै मुस्लिम समुदायको मानमर्दन गर्दै छन् । मोदीले हिसाब गरिरहेका छन् कि बहुसंख्यक हिन्दू अतिवादी उनको समर्थनमा छन् । त्यति मात्र होइन, इजरायलका बेन्जामिन नेतन्याहु यही जुनबाट प्रक्रिया सुरु भएर भविष्यमा प्यालेस्टाइनको क्षेत्र हुन लागेका पश्चिमी किनाराका केही भूभाग कब्जा गर्ने दाउ छोपिरहेका छन् । यस्तो विश्व संकटको समयमा यो घटना समाचार पनि नबन्न सक्छ । जे भए पनि विश्वका तानशाह, दमनकारी र भ्रष्ट नेताका लागि यो कोरोना महामारी अँध्यारोमा लुकेर स्वार्थानुकूल कदम चाल्ने मौका बनेको छ ।

(ब्रिटिस पत्रकार फिडल्यान्ड द गार्जियनका स्तम्भकार हुन्)
द गार्जियनबाट