टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
विनोद विष्ट काठमाडाैं
२०७७ जेठ ५ सोमबार ०४:४२:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेना : श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो

सिडिओको अनुमतिविनै सडकमा सेना

Read Time : > 5 मिनेट
विनोद विष्ट, काठमाडाैं
२०७७ जेठ ५ सोमबार ०४:४२:००

नयाँ पत्रिका रिपोर्ताज : यो एक समाचार मात्र होइन, एउटा निर्धो नागरिकलाई राज्यले कतिसम्म लखेट्न सक्छ भन्ने सबैभन्दा कुरुप उदाहरण हो । ६७ वर्षीय घनश्याम झालाई बन्दुकको बलमा सेनाले सडकमै नांगो बनायो । राज्यका फरकफरक निकायले १२ घन्टामा १२ ठाउँमा हुर्मत लिए । 

 

आइतबार साँझको ४ बजे, कालिमाटी चोकको सुनसान सडकमा हतारहतार पाइला चाल्दै छन् घनश्याम झा । लकडाउन कार्यान्वयन गराउन भन्दै कालिमाटी चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी मात्र होइन, नेपाली सेना पनि खटिएको छ । 

राष्ट्रिय सुरक्षा हेर्ने जिम्मा सेनाको हो, शान्तिसुरक्षा हेर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अर्धसैनिक र सैनिक फौज परेड खेलिरहेको छ । तर, सरकारले भर्खरै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पोस्ट स्थापना गरेको छ । सिमानामा सशस्त्र प्रहरी पठाएर काठमाडौंको सडकमा सेना किन निस्किएको होला ? घनश्यामजस्ता धेरै नेपाली आश्चर्यमा परेका छन् । 

तर, देशको प्रचलित कानुन, अभ्यास र नागरिकको सरोकारलाई मतलब नगरी लकडाउन सफल पार्न सैनिक सडकमा उतारिएको छ । राजधानीका अन्य चोकमा जस्तै कालिमाटीमा पनि कलम र रजिस्टर समातेका सैनिक सडकमा गुडिरहेका सवारीसाधनको सूची बनाइरहेका छन् । 

१२ वर्षे छोरालाई पछि लगाएर हस्याङफस्याङ गर्दै दौडिरहेका घनश्यामलाई कालिमाटी चोकमा उभिएका सैनिकले रोके । उनलाई डोर्‍याउँदै कालिमाटी तरकारी तथा फलफूल बजारसँगैको फुटपाथमा लगे । अनि उनले लगाएको पोसाकको विषयमा केरकार सुरु भयो । घनश्यामले सैनिकको जस्तो देखिने हाफसर्ट लगाएका थिए । पाइन्ट सामान्य रंगको थियो । उनी सैनिकजस्तो देखिने गरी हिँडेका पनि थिएनन् । तर, सेनालाई ‘हाफसर्ट’ आपत्तिजनक लाग्यो । उनले सर्ट तत्कालै उतार्न आदेश दिए ।

घनश्यामले श्रीमती वीर अस्पतालमा भएको र आफू उनका लागि रगत लिन सोल्टीमोडस्थित ब्लडबैंक जान लागेको भन्दै ‘माफ’ गरिदिन ‘याचना’ गरे । उनले अस्पतालले ब्लडबैंकलाई लेखेको पत्र पनि देखाए । 

तर, सैनिकले सुनेनन् । घनश्यामले लगाएको कमिज नागरिकले लगाउन नमिल्ने भन्दै उनीहरूले तुरुन्तै खोलेर बाटो लाग्न आदेश दिए । कानुन कार्यान्वयन गर्न सेनाले नागरिकलाई सडकको कुनामा लगेर केरकार गरिरहेको वेला नेपाल प्रहरीका अधिकारी भने टाढै बसेर टुलुटुलु हेरिरहेका थिए । 

यो सब के भइरहेको छ भन्ने नबुझेका घनश्यामले निन्याउरो स्वरमा भने, ‘सर, म ब्लडबैंकबाट रगत लिएर अस्पताल पुर्‍याउँछु, अनि यो ‘सर्ट’ फुकालेर फाल्छु है ।’
तर बन्दुकधारी सैनिक गर्जिए, ‘खुरुक्क सर्ट फुकाल ।’ 

अब घनश्याम निरूपाय भए । उनले सर्ट खोलेर भुइँमा थपक्क राखे । अनि, हिँड्न खोजे । 

नागरिकको इज्जत सडकमै उतारेपछि सैनिक महोदयको चित्त बुझेन । उनले फेरि हकारे, ‘कहाँ हिँड्न खोजेको ? यो लुगा ऊ त्याँ परे डस्टबिनमा हाल्ने ।’ 

घनश्यामले सर्ट फेरि उठाए, डस्टबिनतर्फ अघि बढे । तर, सर्ट लिएर घनश्याम फरार होलान् जस्तो गरी सैनिकले पहरा दिइरहेका थिए । अलिक पर फोहोर फाल्ने टोकरी थियो । सैनिकले बन्दकुको नालले देखाएपछि घनश्यामले आफ्नो लुगा डस्टबिनमा फाले । 

बीचसडकमा ६७ वर्षीय घनश्याममाथि भएको यो दुर्व्यवहारको साक्षी बनिरहेका थिए उनका १२ वर्षीय छोरा । वृद्ध बाबुलाई बाटोमा साथ दिन आएका थिए बालक छोरा । तर, अनायसै यस्तो आपत आइपुग्ला भन्ने अनुमान थिएन ।

सडकमा सैनिक ज्यादती अवलोकन गरिरहेको मलाई सैनिकले के हो, किन फोटो खिचेको भनेर हप्काउने कोसिस पनि गरे । पत्रकार हुँ भनेर जवाफ दिएपछि उनले परिचयपत्र मागे । सूचना विभागको परिचयपत्र देखाएपछि नम्बर पनि नोट गरे । सडकमा उत्रिएर सैनिकले पत्रकारको परिचयपत्र जाँच गरेको राजा ज्ञानेन्द्रको निरंकुश शासनमा हो । तर, यो लोकतान्त्रिक गणतन्त्रमा शाहीकालको पुनरावृत्ति भयो । 

उता, घनश्यामलाई ब्लडबैंक जाने हतार थियो, सेन्डो लगाएका बाबुलाई छोराले पछ्याए । बाबुछोरालाई मैले पछ्याएँ । वेलावेलामा सुस्त हिँड्ने छोरालाई अत्याउँदै उनी रेडक्रसको ब्लडबैंक पुगे । 

०६९ सालमा घनश्यामलाई पनि हृदयघात भएको थियो । सरकारी शिक्षकको जागिर थियो । हृदयघातपछि उनले जागिर छाडे । परिवारमा उनीहरू तीनजना मात्र छन् । 

३० वर्षदेखि बाथ रोगले ग्रसित घनश्यामकी श्रीमती लीलादेवी आइतबार बिहानदेखि हिँडडुल गर्नै नसक्ने भइन् । उनलाई बोल्नै पनि मुस्किल भयो । घनश्यामले मुस्किलले एम्बुलेन्स मगाए । स्युचाटारबाट श्रीमतीलाई वीर अस्पताल पुर्‍याए । अस्पतालले भन्यो– हेमोग्लोबिन कम छ, तुरुन्तै रगत चढाउनुपर्छ । अस्पतालले चार पोका एबी पोजेटिभ रगत दिन सिफारिस गरिएको पत्र घनश्यामलाई थमायो । 

अस्पतालको पत्र बोकेर श्रीमतीका लागि रगत लिन सडकमा छोरालाई हिँडाउँदै घनश्याम कालिमाटीको सोल्टीमोडस्थित ब्लडबैंकतर्फ जाँदै थिए । बाटोमै सैनिकले लुगा खोलिदिएपछि पनि उनी ब्लडबैंक पुगे । काउन्टरमा पैसा पनि तिरे । तर, ‘ब्लड’ बोक्ने आइसबक्स उनीसँग थिएन । 

अस्पतालले नै त्यस्तो बक्स दिएर पठाउनुपर्ने हो, तर न अस्पतालले दियो, न घनश्यामलाई थाहा थियो । घनश्यामले त ब्लडबैंकका कर्मचारीले भनेपछि मात्र त्यस्तो भाँडो चाहिन्छ भन्ने थाहा पाए ।

‘डाक्टरले तुरुन्तै रगत ल्याउनु भनेका छन्, जसरी पनि रगत दिनुपर्‍यो,’ पसिनाले निथ्रुक भिजेका घनश्यामले भनिरहेका थिए, ‘लौन हजुर त्यो भाँडो किन्न पाइन्छ भने म तुरुन्तै किन्छु ।’ तर, त्यो उपाय केही थिएन । 

घनश्याम त्यही बाटो कलंकीस्थित सहिद मेमोरियल अस्पतालतर्फ दौडिए । जहाँ उनलाई वीर अस्पतालले दिएका केही नमुना परीक्षण गराउनुपर्ने थियो । सहिद मेमोरियल अस्पताल पुगेर घनश्यामले परीक्षण गराउनुपर्ने नमुना छाडे । 

उनको बसाइ स्युचाटार हो, त्यसैले यही मौकामा लुगा लगाउन त्यतै लम्किए । तर, स्युचाटारको चोकमा खटिएका सुरक्षाकर्मीले उनलाई रोकेर सोधे– नांगै किन हिँडेको ? सडकमा हिँड्दा कपडा लगाउनु भनेर पनि उनले उर्दी दिए । 

बिहानैदेखि भोकै हिँडिरहेका घनश्यामले घर पुगेपछि एक गिलास पानी पिए । हल्का पसिना पुछेर आकासे निलो रङको सर्ट लगाए । छोरालाई घरमै राखेर उनी छिमेकीको घरमा छिरे । 

पाँच हजार रुपैयाँ सापटी मागेर उनी फेरि वीर अस्पतालतर्फ दौडिए । अताल्लिएका घनश्यामले दिनभर लगाएको मास्क घरमै बिर्सेछन् । चोकमा आइनपुग्दै प्रहरीले रोकेर फेरि भने– मास्क खोइ ? उनले गल्ती भयो भन्दै माफी मागे । अलिक पर मेडिकलमा किने । 

वीर अस्पताल फर्किंदै गर्दा अघि कालिमाटी चोकमा रहेको फोहोरको टोकरीमा घनश्यामले नजर पुर्‍याए । उनले अचानक सोधे, ‘अघि यहाँ फालेको लुगा कता गयो ?’ 

‘सेनाले लग्यो ।’ प्रहरीले झर्को मान्दै जवाफ दिए ।

घनश्याम वीर अस्पताल पुग्दा ८ बजिसकेको थियो । श्रीमती दिउँसो ३ बजेदेखि एक्लै थिइन् । आकस्मिक कक्षको ३० नम्बर बेडमा छटपटाइरहेकी उनी श्रीमान्लाई देखेपछि आशावादी भइन् । तर ‘ब्लड त ल्याएको छैन’ श्रीमान्को भनाइले श्रीमती फेरि झसंग भइन् । 

उता श्रीमती पनि प्रश्न गर्छिन्, ‘के भयो ? अघि अर्कै लुगा थियो, अहिले अर्कै ?’

उनले सैनिकले बाटोमा दुर्व्यवहार गरेको सुनाउन खोज्छन् । तर, अस्पतालको आकस्मिक कक्षमै त्यस्तै रङकै लुगा लगाएको अर्को व्यक्ति देखेपछि घनश्याम आक्रोशित हुन्छन् । ‘लगाउन त अरूले पनि लगाएका छन् त, चोरेर लगाएको हो र ? पसलमा बेच्न दिने, लगाउन नदिने ?’ उनी भुनभुनाउँछन् । तर, उनको कुरामा ध्यान दिने फुर्सद कसैलाई छैन । विस्तृतमा सुनाउने फुर्सद स्वयं उनलाई पनि छैन । 

घनश्याम आएको देखेपछि स्वास्थ्यकर्मी आएर सोध्छन्, ‘रगत खोइ ?’ भाँडो नै नदिएको भनेर घनश्यामले गुनासो गर्छन् । उनले बाकस दिनोस्, म ब्लड लिएर आउँछु भनेर अनुरोध गरे । 

‘सात महिनाजति भयो अस्पतालले आइस बक्स नदिएको । लगेर हराउँछन्,’ ब्लडबैंकले नै आइस बक्स दिनुपर्ने हो,’ स्वास्थ्यकर्मीको जवाफ सुनेपछि घनश्याम रन्थनिए । दुई हातले थाप्लो समाउँदै उनी श्रीमतीलाई राखिएको बेडमा थचक्क बसे । 

तर, उनलाई त्यसरी बस्ने सुविधा कहाँ थियो र ? फेरि हारगुहार गर्न थाले । ब्लड बोक्ने बाकस न अस्पतालले दियो, न ब्लडबैंकले । हारगुहार गर्दै बाहिर निस्किएका उनी करिब मध्यरात वीर अस्पताल फर्किए । यसपालि श्रीमतीको अगाडि उभिँदा उनको हातमा आइस बक्स थियो, बक्सभित्र ब्लड । तर, श्रीमतीलाई सञ्चो बनाएर घर फर्किन्जेल उनलाई राज्यका कुन–कुन निकायले अझै हुर्मत लिने हुन्, जवाफ कसैसँग पनि छैन ।

सिडिओको अनुमतिविनै सडकमा सेना

शान्तिसुरक्षासम्बन्धी काममा सेना ब्यारेकबाट निस्कन कि सुरक्षा परिषदबाट निर्णय हुनुपर्छ कि स्थानीय प्रशासन ऐनअनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले अनुमति दिनुपर्छ । अहिले सेनालाई सडकमा निकाल्न सुरक्षा परिषद्ले कुनै निर्णय गरेको छैन । काठमाडौं जिल्ला प्रशासनले पनि अनुमति दिएको छैन । तर, राजधानीको चोकचोकमा सेनाले जाँच सुरु गरेको छ ।

ज्ञानेन्द्रको शासनकालपछि सेना सडकमा निस्किएर नागरिकका कागजपत्र जाँच गर्न थालेको यो पहिलोपटक हो । शान्ति–सुरक्षाको जिम्मा नितान्त रूपमा नेपाल प्रहरीको हो । सडकमा कसैले नियम–कानुन तोडेको छ भने जाँच र अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो । तर, सुरक्षा परिषद् र जिल्ला प्रशासनको निर्णयविना सेना सडकमा देखिनु आश्चर्यजनक भएको छ ।

शान्ति–सुरक्षाको काममा सेना सडकमा आएकोमा प्रहरी पनि असन्तुष्ट छ । उता, सेनाले भने ट्राफिक प्रहरीसँगको समन्वयमा चेकिङ गर्न थालेको बताएको छ । सेनाले आइतबार बानेश्वर, महाराजगन्ज, कालिमाटी र थापाथलीमा चेकजाँच गरेको छ ।