मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडाैं
२०७७ जेठ ४ आइतबार ०८:४५:००
Read Time : > 1 मिनेट
अर्थ

पर्यटन व्यवसायी भन्छन्- बजेटमा नसच्याइए अर्बौँ लगानी डुब्छ

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ जेठ ४ आइतबार ०८:४५:००

सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत अर्बौँ लगानी रहेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न नीतिगत रूपमै कार्यक्रम आउनेमा व्यवसायी ढुक्क थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष ०७७-७८ को नीति तथा कार्यक्रममा पर्यटन र एयरलाइन्स क्षेत्रका विषय नपरेपछि लगानी डुब्ने जोखिम बढेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘पर्यटन क्षेत्रको अपेक्षाअनुसारको कार्यक्रम ल्याइएन, यसले पर्यटन क्षेत्रलाई राम्रो संकेत गरेको छैन ।'

व्यवसायीहरूले नीति तथा कार्यक्रममा छुटाएको भए पनि बजेट र आर्थिक विधेयकमा समेट्न माग गरेका छन् । व्यवसायी, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको संयुक्त छलफलपछि पर्यटन क्षेत्रको पुनरुत्थान नीति तथा कार्यक्रममा समेट्न भन्दै अर्थ मन्त्रालयलाई आग्रह गर्दै लामो मस्यौदासमेत पठाएका थिए । तर, कुनै पनि विषय नसमेटिएपछि लगानी जोखिममा पर्ने खतरा बढेको उनीहरूको भनाइ छ ।

लगानी नै जोखिममा परेपछि सरकारले लिएको रोजगारीको लक्ष्य पूरा नहुने होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । पर्यटन क्षेत्र शून्यमा झरेका वेला पुनरुत्थानका विषय नीति तथा कार्यक्रममा नआएको शाह बताउँछन् । 

सरकारले नै सिफारिस गरेको समितिले पर्यटन क्षेत्रमा १५ खर्ब ९५ अर्ब लगानी रहेको बताउँदै पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारले सहयोग गर्नुपर्नेसमेत प्रस्ताव गरेको थियो । पर्यटन क्षेत्रका लगानीकर्ता र मजदुरको समेत संरक्षण गर्न सरकारको सहयोग आवश्यक भएकाले आगामी नीति तथा कार्यक्रममा समावेश गर्नसमेत पर्यटन मन्त्रालयले सिफारिस गरेको थियो । ‘सबै विषय नीति तथा कार्यक्रममा आउँदैन र साधारण समयमै जस्तो गरी आउनुले शंका उत्पन्न भएको छ,’ शाहले भने ।  

लगातार दुई वर्ष पर्यटन आगमन संख्या ११ लाख नाघेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु गरिएको नेपाल भ्रमण वर्ष कोभिड-१९ का कारण स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटक–पटक पर्यटन दशक मनाउने र सोहीअनुसार पर्यटन क्षेत्रको पुनरुत्थान गर्नेसमेत बताउँदै आएका छन् । ‘पर्यटन क्षेत्रको अपेक्षाअनुसारको कार्यक्रम ल्याइएन, यसले पर्यटन क्षेत्रलाई राम्रो संकेत गरेको छैन,’ ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने ।