मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुशील बिके
२०७७ जेठ ३ शनिबार १७:४४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

कोरोना संकटको सन्देश

Read Time : > 4 मिनेट
सुशील बिके
२०७७ जेठ ३ शनिबार १७:४४:००

महामारी वा विपत् जुनसुकै वेला पनि आउन सक्ने र जोसुकैलाई पनि प्रभावित गर्न सक्ने हुँदा पर्याप्त पूर्वतयारी गरिनुपर्ने दृष्टान्त कोरोना भाइरसले दिएको छ । चीनको वुआनमा पहिलोपटक देखिएको भाइरस अहिलेसम्म विश्वका २१३ देशमा फैलिएको छ । यसका कारण विश्वभर लाखौँ मानिस संक्रमित भएका छन् भने हजारौँको ज्यान गएको छ । अहिलेसम्म पनि न याे रोगको औषधि पत्ता लागेको छ, न खोप नै । यसको अन्त्य अर्थात् नियन्त्रण कहिले, कसरी, कुन बिन्दुमा पुगेर हुन्छ, भन्न सक्ने अवस्था छैन । यद्यपि अहिले मानवजाति आफ्नो अस्तित्वरक्षाका लागि नोबल कोरोना भाइरस (कोभिड–१९) सँग लडिरहेको छ ।

यसले विश्वको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थामाथि नै हलचल ल्याएको छ । यसको तत्कालीन र दीर्घकालीन असर कस्तो हुनेछ, अहिले नै त्यसको आकलन गर्न सकिने अवस्था छैन । कोरोनाले सारा विश्व ठप्पजस्तै बनेको छ, जसका कारण उत्पादन, उद्योग, व्यापार, पर्यटनजस्ता अर्थतन्त्रका मुख्य खम्बाहरू प्रभावित भएका छन् । यी तथ्यले विश्वको अर्थतन्त्र गम्भीर संकटमा पर्ने देखिएको छ । नेपालजस्ता अति कम विकसित देशमा यसले चुनौती थपेको छ । 

कोरोना नियन्त्रण किन जटिल ?
विज्ञान र प्रविधिसँगै भएकोे कनेक्टिभिटीको विकासले जसरी मानवजीवन सहज भएको थियो, त्यही माध्यमबाट कोरोना पनि विश्वभरि सजिलै फैलियो । चीनसँगै दक्षिण कोरिया, जापान, मलेसिया, इटली, अमेरिका, फ्रान्स, बेलायत, स्पेन, जर्मनी, भारत, इरानजस्ता विकसित र शक्तिराष्ट्रहरूमा यसको फैलावट बढी देखिएको छ । दक्षिण एसिया, अफ्रिकालगायत कम विकसित मुलुकको तुलनामा विकसित मुलुकमा संक्रमण बढी हुनु अध्ययनको विषय बनेको छ । 

युरोप र अमेरिकाजस्ता विश्वस्तरको स्वास्थ्य व्यवस्था भएका शक्तिशाली देशहरूले समेत यसलाई रोक्न सकेनन् । ती देशमै सोचेभन्दा वढी भयावह हिसाबले संक्रमित र मृतकको संख्या बढेको छ । घटनाक्रमले विश्व यस्ता महामारीविरुद्ध लड्न तयार थिएन भन्ने दखिन्छ । 

कोरोना प्रकोपका कारण अर्थतन्त्र प्रभावित भएसँगै सीमान्तकृत समुदाय, गरिब र मजदुर विश्वभर प्रभावित भएका छन् । बिस्तारै उनीहरूलाई हातमुख जोर्न पनि कठिन हुँदै गएको छ । यसले ल्याउने ठूलो जटिलता भनेकै गरिबी र खाद्यसंकट हो ।

मानव अस्तित्वमाथि नै गम्भीर संकट ल्याउने यस्ता महामारीको आकलन, सोबमोजिमको पूर्वतयारी, पर्याप्त जनशक्ति, प्रविधि, स्रोत–साधन, औषधि, उपकरण र प्रभावकारी योजना नभएको देखियो । विकसित देशमा समेत यसको अभाव देखियो भने विकासोन्मुख देशमा त हुने नै भयो । विगतमा सार्स र मार्सजस्ता रोगसँग लडेको अनुभवका कारण चीन, दक्षिण कोरिया, ताइवान, हङकङ, सिंगापुरजस्ता केही एसियाली देशले केही हदसम्म कोरोना रोकथामका लागि सकारात्मक ढंगले काम गरिरहेका छन् । तर, युरोपेली र अमेरिकी देशहरू सुरुमा गम्भीर नहुनु, चीनको मात्र समस्या मान्नु, हाम्रोमा आउँदैन र आए पनि हामी छिटै नियन्त्रण गरिहाल्छौँ भन्ने अहं देखाउनु र चीनबाट सिक्दै आवश्यक पूर्वतयारी नगर्नुजस्ता कारणले अहिले ती देशको अवस्था भयावह बनेको छ, अकल्पनीय क्षति भएको छ । 

वातावरण, प्रकृति र मानववीच हुनुपर्ने तादाम्य तथा सन्तुलनमा देखिएको कमीले यस्तो समस्या आएको कतिपय विज्ञको भनाइ छ । हुन पनि प्रकृतिको चरम दोहन गरिएका विकसित देशमै महामारी भयावह बनेको छ । विभिन्न देशले कोरोना नियन्त्रणका लागि गरेको लकडाउन र त्रासका कारण उत्पादन पनि हुन सकेको छैन । उत्पादन भएको सामग्री सकिँदै जाँदा भविष्यमा खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको अभावले महामारी नियन्त्रण थप जटिल हुनेसमेत देखिन्छ । 

कोरोना नियन्त्रणका लागि कतिपय देशले लकडाउन गर्दै संक्रमितको खोजी, परीक्षण र आइसोलेसनका माध्यमबाट नियन्त्रणमा ल्याउन सके । चीन, दक्षिण कोरिया, सिंगापुर, हङकङ, ताइवान, भियतनामजस्ता देशले यस विधिबाट सफलता पाएको देखिएको छ । तर, अमेरिका र कतिपय युरोपेली देशले व्यक्तिगत स्वतन्त्रताका नाममा लकडाउन नगर्नु, मानिसले व्यक्तिवादी र बढी स्वतन्त्रामुखी जीवनशैली अपनाउनु जस्ता कारणले यसलाई नियन्त्रण गर्न कठिनाइ देखिएको छ । महामारी नियन्त्रण गर्न सरकार र जनतासँगै लाग्नुपर्नेमा कतिपय देशमा शासकहरू गम्भीर र जवाफदेही बन्न सकेका छैनन् भने कतिपयमा देशमा जनताले लापर्बाही गरेका छन् । विनासंकेत एक मानिसबाट अर्कोमा पैmलन सक्ने गुणको यो भाइरसको औषधि तथा खोप पत्ता नलाग्दा पनि नियन्त्रण जटिल बनेको छ ।

कोरोनाले ल्याएको संकट
यसको प्रकृति र स्वरूपलाई हेरेर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गर्दै ठूलो चुनौती सिर्जना भएको बताएको छ । संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछिको ठूलो विपत्ति भनेको छ । हुन पनि २०औँ शताब्दीको स्पेनिस फ्लुको एक शताब्दीपछि अहिले कोरोनाले मानवजातिको अस्तित्वमाथि नै गम्भीर आक्रमण गरेको छ । अहिलेसम्म मानवजातिले आर्जन गरेको ज्ञान, सीप र आविष्कारले यसलाई रोक्न सकेको छैन । अहिले हामीले सोचेको भन्दा कैयौँ गुणा बढी संकट यस महामारीले ल्याएको छ । नेपालमा अहिले न्यून संख्यामा संक्रमित भएको हुँदा हामीले सामान्य मानौँला । तर, यसबाट बढी प्रभावित भएका देश र त्यहाँका नागरिकको डर, त्रास, पीडा र उनीहरूले गरेको संघर्षको शब्दमा व्याख्या गर्न सकिँदैन । 

लकडाउन र भौतिक दूरी कायम गर्नुपरेका कारण नागरिकहरू घरमै छन् । सेवा तथा उत्पादनजन्य उद्योगहरू अधिकांश बन्द छन् । जसले गर्दा अर्थतन्त्र प्रभावित भएसँगै सीमान्तकृत समुदाय, गरिब र मजदुर विश्वभर प्रभावित भएका छन् । बिस्तारै उनीहरूलाई हातमुख जोर्न पनि कठिन हुँदै गएको छ । यसले ल्याउने ठूलो जटिलता भनेकै गरिबी र खाद्यसंकट हो । 

आवश्यक पूर्वतयारीको अभावले अस्पतालहरूको सीमित क्षमता, उपचार सामग्रीको अभाव, बिरामीको भिड, चिकित्सक पनि संक्रमित हुने र मृत्यु हुने दर बढेसँगै यसले थप जटिलता ल्याएको छ । बिरामीलाई परिवार र आफन्तले चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन भने मृतकको दाहसंस्कार गर्ने ठाउँको पनि अभाव देखिएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जाल कोरोनामय छ । बढ्दै गएको संक्रमितको संख्या, मृतकको संख्या र विकसित देशले समेत नियन्त्रण गर्न नसक्दा विश्वभरका मानिसमा डर, त्रास र भय पैदा भएको छ । मानिसमा मानसिक समस्या देखिने क्रम बिस्तारै बढ्दै गएको छ । कोरोनाले मानवजातिले आर्जन गरेको ज्ञान, विज्ञानलाई नै चुनौती थपेको छ । 

नेपालको पहल 
कोरोनाको उद्गम स्थल वुहानमा रहेका नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्दै नेपालले कोरोनाविरुद्धको लडाइँ सुरु गरेको थियो । तत्पश्चात नेपाल सरकारले विभिन्न समिति बनाएर योजनाबद्ध रूपमा नियन्त्रणका उपाय अवलम्बन गरेको छ । सबै राजनीतिक दल र नागरिक समाज, निजी क्षेत्रसहित सिंगो देश कोरोनाविरुद्धको लडाइँमा एक ठाउँमा छन् । विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएपछि सरकारले लकडाउन ग-यो भने तत्पश्चात विभिन्न रोगीको पहिचान, नियन्त्रण र उपचारका सबै उपाय सरकारले अपनाएको छ । औषधि उपकरण र चिकित्सकका लागि आवश्यक सुरक्षा सामग्रीलगायत अन्य सामग्री खरिदमा अलमल देखिए पनि नियन्त्रणको काम प्रभावकारी रूपमा अगाडि बढिरहेको देखिन्छ । लकडाउनले प्रभावित हुन सक्ने गरिब तथा सीमान्तकृत समुदायलाई राहत वितरण गर्नका लागि प्रदेश र स्थानीय सरकारलाई परिचालन गरिएको छ । 

नेपालको स्वास्थ्य व्यवस्था प्रभावकारी नभएको प्रस्ट छ । व्यापक रूपमा भएको निजीकरण र व्यापारीकरणका कारण हाम्रो स्वास्थ्य क्षेत्र समस्याग्रस्त छ । आधुनिक स्वास्थ्य व्यवस्थामा अब्बल मानिएका अमेरिका तथा युरोपेली देशले पनि रोक्न नसकेको कोरोनालाई हाम्रो स्वास्थ्य व्यवस्थाले कसरी रोक्न सक्ला, यो गम्भीर चिन्ताको विषय बनेको छ । यसैले हामीले सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण विषय भनेको प्रभावकारी, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको विकास गर्दै जुनसुकै पनि वेलामा आउन सक्ने यस्ता महामारीविरुद्ध लड्न पर्याप्त पूर्वतयारी गर्नु नै हो । 

यस्ता महामारी र विपत्को वेला जनतासँगै बसेर भूमिका खेल्न सक्ने स्थानीय सरकार र प्रदेश सरकारलाई स्रोत–साधन सम्पन्न बनाउँदै जवाफदेही र प्रभावकारी बनाउन आवश्यक छ । साथै स्थानीयस्तरसम्म स्वास्थ्यका पूर्वाधारको व्यवस्था गर्ने, बजेट बढाउने र आमसर्वसाधारणको पहँुच पु¥याउन स्वास्थ्य सेवाको जिम्मा सरकारले लिनुपर्ने आवश्यकता देखिएको छ । 

तिनै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र अन्य सरोकारवाला र आमनागरिकको सामूहिक पहलबाट कोरोना नियन्त्रणमा थप लागाैँ । सीमान्तकृत समुदायलाई राहतको व्यवस्था, जनतामा आशा जगाउँदै मनोसामाजिक परामर्शको व्यवस्था, सरकारको निर्णयलाई कडा अनुशासनसहित पालना गर्दा मात्र हामी सफल हुन सक्छौँ । 

मानवजातिको सोच, विचार र जीवनशैलीमा व्यापक परिवर्तन ल्याउनु नै कोरोनाको मुख्य सन्देश हो । व्यक्तिगत जीवनशैलीदेखि विकास निर्माणका कामलाई वातावरण र प्रकृतिअनुकूल बनाउनुको विकल्प छैन । अब सिंगो मानवजातिले प्रकृति विनाश गरेर होइन, ऊसँग अनुकूलन भएर बाँच्न सिक्नैपर्छ । यस्ता प्रकारका महामारीविरुद्ध विश्वव्यापी रूपमा लगानी बढाउने र सबैका अनुभव र सीप आदान–प्रदान गर्दै सहकार्यको वातावरण बनाउनुपर्छ । अब सबै मानवले मानवजातिको अस्तित्व रक्षाका लागि हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन । 
(लेखक सामाजिक अभियन्ता तथा अधिकारकर्मी हुन्)