मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मञ्जु टेलर काठमाडाैं
कञ्चन न्यौपाने काठमाडाैं
२०७७ जेठ २ शुक्रबार ०६:४३:००
Read Time : > 2 मिनेट
नयाँCity

संक्रमणको जोखिमबीच सडकमा ड्युटी

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ जेठ २ शुक्रबार ०६:४३:००

सिंहदरबार अघिल्तिर ड्युटीमा भेटिए, ट्राफिक प्रहरी जवान टीकाराम बुढा क्षत्री । उनले अनुहारमा मास्क लगाएका थिए भने हातमा पन्जा । ब्यारेकमा पनि दुई मिटरको दूरी कायम गरिएको बताउँदै थिए उनी । सडकमा व्यस्त रहँदा नेपालगन्जबाट आउने परिवारको फोनले भने सचेत गराउँछ उनलाई । ‘सडकमा खटिनुपर्ने भएकाले भाइरस सर्ने चिन्तामा छन् उनीहरू,’ उनी भन्छन्, ‘तर, आफू सुरक्षित रहेको बताउँदै उनीहरूलाई घरबाट ननिस्किन भन्छु ।’ नेपालगन्जभन्दा काठमाडौंमा कम जोखिम रहेको उनले परिवारलाई बताउने गरेका छन् ।

सिंहदरबार इलाकामै नियमित ड्युटीमा खटिन्छिन्, ट्राफिक प्रहरी जवान दिलकुमारी यादव पनि । आफ्नो काम नै मानिसहरूका बीचमा रहेर गर्नुपर्ने भएकाले जिम्मेवारीसँगै संक्रमणको जोखिमबाट सचेत रहेको उनी बताउँछिन् । संक्रमण बढ्दै गएमा दैनिकी अझै जटिल हुने उनले बुझेकी छिन् । भन्छिन्, ‘त्यसैले पर्याप्त सरसफाइ र सावधानी अपनाइरहेका छौँ । मनमा एक किसिमको डर त रहन्छ नै ।’

सडकमा खटिएका ट्राफिक प्रहरीहरू कोरोना भाइरसको महामारीलाई मानिसले गम्भीर रूपमा नलिएकामा अनौठो मान्छन् । भन्छन्, ‘मानिस किन गम्भीर नबनेका होलान् ?’

कलंकी चोकमा ड्युटी गरिरहेका प्रहरी जवान शंकर अवस्थीलाई अरू वेलाभन्दा तनावमुक्त छन् अहिले । काठमाडौं आउजाउ गर्ने प्रमुख नाका भएकाले सामान्य समयमा कलंकीमा ड्युटीमा रहँदा अति व्यस्त रहनुपथ्र्यो । सवारीसाधनको कम चाप रहँदा पनि उनी अहिले सचेत र सतर्क छन् । भन्छन्, ‘पहिले र अहिलेमा निकै भिन्नता छ । संक्रमणमा परिने जोखिम छ, तर सावधानी अपनाउँदै खटिरहेका छौँ ।’

नागढुंगामा खटिएका प्रहरी सहायक निरीक्षक (असइ) प्रकाश गौतम भने मानिसले यति ठूलो महामारीलाई गम्भीर रूपमा नलिएकामा अनौठो मान्छन् । ‘काठमाडौं भित्रिने गाडीको संख्या कम हुनुपर्ने हो । तर, विभिन्न बहाना बनाएर लिएका पास प्रयोग गर्दै काठमाडौं भित्रिन खोज्नेहरूको संख्या कम छैन,’ उनी भन्छन्, ‘मानिस किन गम्भीर नबनेका होलान् ?’

मानिसले बोकेको पास हेर्न नजिक जानैपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘सडकमा निस्केका मानिसलाई सम्झाइबुझाइ घर फर्काउन पनि नजिक जानैपर्छ,’ उनी भन्छन्, ‘त्यस्तो वेलामा तीन मिटरको दूरी कायम राख्नै सकिँदैन । ड्युटीमा खटिँदा संक्रमण हुने हो कि भन्ने डर लागिरहन्छ ।’

अपराध अनुसन्धान र मानिसको भिड व्यवस्थापनमा खटिँदा भौतिक दूरी कायम राख्न गाह्रो हुने महाराजगन्जमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) गोविन्द बस्नेत बताउँछन् । तर, सावधानी अपनाउँदै काम गर्ने बानी लाग्दै गएको उनको भनाइ छ । ‘गाडीलाई टाढै रोक्न लगाउँछौँ अनि टाढैबाट सोधपुछ गर्छौँ,’ उनी भन्छन्, ‘सावधानी अपनाउँदा जोखिम कम हुने विश्वास छ ।’ स्वास्थ्यकर्मीहरूको जस्तो बिरामीसँग सीधा सम्पर्क नहुने भएकाले कोरोना भाइरस सर्ने सम्भावना कम रहेको उनको बुझाइ छ । भन्छन्, ‘तर, घरबाहिर ड्युटी गर्नुपर्ने भएकाले जटिलता त हुन्छ नै ।’

संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्वास्थ्य ब्रिफिङ गरिरहेका छौँ । पब्लिकको सुरक्षा जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यको चिन्ता पनि थपिएको छ ।

सडकमा खटिएका ट्राफिक प्रहरीले साबिककै लुगा लगाएका छन् । चस्मा, मास्क र पन्जा त उनीहरूलाई सामान्य दिनमा पनि दिइने गरेको थियो । अहिले स्यानिटाइजर थपिएको छ । उपलब्ध भएसम्म वेला–वेलामा साबुनपानीले हात पनि धुने गरेका छन् । तर, त्यति नै पर्याप्त नरहेको उनीहरूको बुझाइ छ । जोखिममा रहेर ड्युटी गर्नुपर्ने भएकाले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) आफूहरूलाई दिइए काम गर्न सहज हुने उनीहरू बताउँछन् ।

परिवेश फेरिएको छ, सडकमा जाम कम छ र धुवाँधुलो पनि घटेको छ । तर, ट्राफिक प्रहरीको व्यस्तता उत्तिकै छ । लकडाउन उल्लंघन गर्न नदिन ड्युटी पोइन्ट पहिलेभन्दा विस्तार भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठ बताउँछन् । ड्युटीमा खटिन पर्याप्त सुरक्षा सामग्री उपलब्ध रहेको उनको दाबी छ । ‘आवश्यक परेमा पिपिई पनि उपलब्ध छ,’ उनी भन्छन्, ‘कतै दुर्घटना भए या कसैलाई उद्धार गर्नुपरे पिपिई प्रयोग गर्छौं ।’

महाशाखा प्रमुख एसएसपी भीम ढकाल चोक–चोकमा खटिएका ट्राफिक प्रहरीहरू संक्रमणको जोखिमबाट मुक्त भने नरहेको बताउँछन् । ‘त्यसैले, संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्वास्थ्य ब्रिफिङ गरिरहेका छौँ । ब्यारेक र कार्यालयमा बस्दा होस् या ड्युटीमा खटिँदा, तीन मिटरको दूरीमा रहन भनिरहेका छौँ,’ ढकाल भन्छन् । 

ड्युटी सहज बनाउन डेरामा बस्ने प्रहरीलाई नजिकका पोस्टमा खटाइएको उनी बताउँछन् । भन्छन्, ‘पब्लिकको सुरक्षा जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यको चिन्ता पनि थपिएको छ ।’