मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७७ जेठ १ बिहीबार ०४:४१:००
Read Time : > 2 मिनेट
समाचार

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७७ जेठ १ बिहीबार ०४:४१:००

अतिक्रमित कालापानी क्षेत्रभन्दा १२ किलोमिटर तल छाङरुमा बिओपी स्थापना, छाङरुकै सीतापुल र छियालेकमा यसअघि नै प्रहरी चौकी छन्

कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको वेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ । छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि नेपाली भूमि कालापानी, नावी र नावीढाङमा भारतीय फौजका आठ क्याम्प छन् । 

स्थानीय जितसिंह बोहराका घर भाडामा लिएर अहिले बिओपी राखिएको छ । बुधबार बिओपी स्थापना भएपछि छाङरुमा सशस्त्रका इन्स्पेक्टर लिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको जनशक्ति खटिनेछ । तर, बुधबार भने त्यहाँ आठजनालाई मात्रै पुर्‍याइएको छ । बाँकी सिपाही बन्दोबस्तीका सामानसहित बिहीबार छाङरु उतारिने सशस्त्रको ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

कालापानी क्षेत्रको नेपाली भूभागमा ५८ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले सो क्षेत्रका तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।

नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतीय फौजले छाङरुभन्दा माथि जान नेपालीलाई निषेध गर्दै आएको छ । त्यसैले नेपालीहरू त्यो क्षेत्र जाने अन्तिम यही हो । सशस्त्रको बिओपी पहिलोपटक स्थापना भए पनि यो छाङरुको सीतापुलमा र त्योभन्दा १२ किलोमिटर पूर्व (चीन)तर्फ टिंकरस्थित छियालेकमा नेपाल प्रहरीको चौकी छ । तर, हिउँदमा चिसो बढ्दै गएपछि माथिको प्रहरी चौकीका जनशक्ति तल झर्दछ ।

चिसो बढ्न थालेपछि छियालेकका प्रहरी सीतापुल आउँछन् । चिसो अझै बढेपछि दुवै चौकीका प्रहरी ४३ किलोमिटर तल राप्लाको दुम्लिङ झर्छन् । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा प्रहरी चौकी छ । 

दुम्लिङभन्दा तल हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेवमा नेपाल प्रहरीका चौकी छन् । अझै तल सदरमुकाम खलंगामा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक गुल्म छन् । 

तस्बिर : सशस्त्र प्रहरी बलको फेसबुकबाट

यसरी कालापानीबाट १२ किलोमिटर तल छाङरु, त्यहाँबाट ४३ किलोमिटर तल दुम्लिङ पर्छ । त्यस्तै दुम्लिङबाट १३ किलोमिटर तल धौलाकोट र धौलाकोटबाट नौ किलोमिटर तल हुती र हुतीबाट चार किलोमिटर तल हिकिलामा पनि प्रहरी चौकी छ । हिकिलाबाट १० किलोमिटर तल ब्रह्मदेवको दुहु र दुहुबाट १० किलोमिटर तल दार्चुला सदरमुकाम खलंगा पर्छ । यसरी नेपालले दार्चुला सदरमुकाममाथि छियालेकसम्म सात ठाउँमा प्रहरी चौकी राखेको छ । उता भारतले भने दार्चुदा सदरमुकामपारि धार्चुलाबाट नेपालको कालापानी क्षेत्रसम्म १५ स्थानमा २८ क्याम्प बनाएको छ । २० क्याम्प भारततर्फ छन् भने नेपालको कालापानी क्षेत्रको तीन ठाउँ गुन्जी, कालापानी र नावीढाङ आठ क्याम्प राखिएको छ । 

भारतको व्यापार प्रतिनिधिसमेत बस्ने गुन्जी क्षेत्रमा एसएसबी, कुमाउँ स्काउटको भारतीय सेना र सिख बटालियन तैनाथ छन् । कालापानीमा आइटिबिपी (इन्डो–टिबेतियन बोर्डर पुलिस), एसएसबी र भारतीय सेनाका दुई गुल्म छन् । कालापानीबाट लिम्पियाधुरातर्फ नावीढाङमा आइटिबिपी र भारतीय सेनाको एक गुल्म तैनाथ छ ।

तस्बिर : सशस्त्र प्रहरी बलकाे फेसबुक पेजबाट

गुन्जी, कुटी र नावी गाउँ ०१८ सम्म नेपालले जनगणना गरेको क्षेत्र हो । वरिष्ठ पत्रकार तथा सरकारका तत्कालीन अफिसर भैरव रिसालले नै ०१८ सालमा जनसंख्या गणना गरेका थिए । ती नेपाली बस्ती हुन्, तर भारतले कब्जा गरेकाले नेपाल र त्यहाँका बासिन्दाबीच संवाद अवरोध भएको छ । 

बिओपी स्थापनासँगै नेपाल प्रहरीको टोलीलाई पनि बिहीबार कार्यक्षेत्रमा पठाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर विष्टले बताए । ‘चिसोका कारण टिंकर छियालेक र सीतापुल चौकीका प्रहरी तल झरेका थिए । अब चिसो कम भए पनि बाटोको समस्या हुँदा अहिलेसम्म प्रहरी पठाउन सकिएको थिएन, अब सेनाको हेलिकोप्टरबाट चौकीमा जवानहरू पठाउने तयारी भइरहेको छ,’ उनले भने ।