मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार २१:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अडानका साथ वार्तामा बसेर सीमा विवादको समाधान खोज्न प्रधानमन्त्रीलाई सर्वदलीय बैठकको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार २१:४६:००

सर्वदलीय बैठकमा नेताहरूले अडानका साथ वार्तामा बसेर सीमा विवादको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाब दिएका छन् ।

कूटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाब नेताहरूले दिएका हुन् । 

लिपुलेकक्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेको ठहरसहित त्यहाँबाट उसलाई फिर्ता पठाउन सरकारले सबै किसिमका पहल गर्नुपर्नेमा नेताहरुको जोड छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको बैठकमा नेताहरूले समस्या समाधानका लागि सरकारले चालेका हरेक कदममा साथ दिने वचन दिँदै आफ्नो अडान कायम राख्न भनेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

जनतालाई साथ लिएर अगाडि बढ्न पनि नेताहरूले प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेताहरूको सुझाबअनुसार कूटनीतिक वार्ता नै समस्या समाधानको एक मात्र विकल्प भएको भन्दै सरकार अविलम्ब वार्ता गर्ने पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग असल मित्रता चाहन्छौँ, तर त्यसका लागि नेपालको आफ्नो भूमिको रक्षा र आफ्नो राष्ट्रिय हितको रक्षा सर्वोपरी हुन्छ ।’ उनले सरकार सबै राजनीतिक दल र जनताको साथ लिएर अगाडि बढ्ने पनि स्पष्ट पारे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि भारतसँग मात्रै नभएर चीनसँग पनि कूटनीतिक वार्ता गर्नुपर्ने सुझाब दिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको सीमा समस्या द्विपक्षीय वार्ताबाट हल नभए अन्तर्राष्ट्रिय समुदायमा जानुपर्ने बताएका छन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादसम्बन्धी वार्ता गर्न सरकारले कोरोना भाइरसको संक्रमण या लकडाउनलाई बहाना बनाउने अवस्था नरहेको बताएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सीमा समस्या समाधानका लागि सरकार नेपाली जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताए ।