१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ३१ बुधबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार

महोत्तरीका कोरोना संक्रमित पुस्तकपसले

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३१ बुधबार ११:५९:००

महोत्तरीका दुईजनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

संक्रमित हुनेमा एकजना जलेश्वर नगरपालिका– ३ का ३५ वर्षीय पुरुष र अर्का बल्वा नगरपालिका– १० धमौराका १६ वर्षीय किशोर छन् ।

३५ वर्षीय संक्रमित पुरुषले जनकपुरमा पुस्तक पसल सञ्चालन गर्दै आएको पाइएको छ । ‘संक्रमित पुरुषको जनकपुरमा पुस्तक पसल छ । उनी लकडाउनपछि घर आएका छैनन्,’ परिवार स्रोतलाई उद्धृत गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने । 

संक्रमित १६ वर्षीय किशोर भारतबाट लकडाउनको वेला नेपाल  आएका हुन् । सिडिओ खत्रीले भने, ‘भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने क्रममा धनुषाकै नाकामा उनी समातिएका थिए । त्यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको क्वारेन्टाइनमा राखिएको थियो ।’

क्वारेन्टाइनमै उनको स्वाब लिइएको थियो । लकडाउनपछि उनीहरू दुवैजना महोत्तरी प्रवेश नगरेकाले महोत्तरीमा उनीहरूबाट संक्रमण फैलिएको आशंका नगर्न खत्रीले आग्रह गरे । ‘तर, महोत्तरीलाई खतरामुक्त छ भन्न मिल्दैन, लकडाउनको पूर्ण पालना गर्नु नै कोरोनाबाट जोगिने सबैभन्दा उत्तम उपाय हो,’ उनले भने ।

महोत्तरीमा नाका ठप्प, बजार क्षेत्र बन्द
जिल्लाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि महोत्तरीमा पनि त्रास बढेको छ । संक्रमण फैलिन नदिन बुधबारदेखि थप सुरक्षा सतर्कता अपनाउन थालिएको छ । 

सीमानाकामा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ भने मुख्य बजार क्षेत्र पनि बन्द छन् । भारतले रेलसेवा सञ्चालन गरेकाले लकडाउनको कारण अप्ठ्यारोमा परेका नेपालीसमेत लुकिछिपी नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नाकाहरूमा थप कडाइ गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

बुधबार बिहानैदेखि सदरमुकाम जलेश्वर  र आसपासका क्षेत्रमासमेत प्रहरीको सक्रियता बाक्लो देखिएको छ ।