१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ बैशाख ३१ बुधबार ०८:०६:००
Read Time : > 1 मिनेट
अर्थ

प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिमको आर्थिक वृद्धि केन्द्रभन्दा बढी

चालू आवमा सबैभन्दा बढी सुदूरपश्चिममा ४% आर्थिक वृद्धिदर, सबैभन्दा कमजोर बागमती प्रदेशमा १.२३% र प्रदेश– ५ मा २% मात्रै

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ बैशाख ३१ बुधबार ०८:०६:००

चालू आर्थिक वर्ष ०७६-७७ मा चार प्रदेशको आर्थिक वृद्धिदर केन्द्रको भन्दा बढी हुने देखिएको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमको आर्थिक वृद्धि मुलुकको समग्र आर्थिक वृद्धिभन्दा बढी हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ । 

विभागले चालू आर्थिक वर्ष मुलुकको राष्ट्रिय आर्थिक वृद्धि २ दशमलव २८ प्रतिशतको हुने अनुमान गरेको छ । चालू आवमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत हुने प्रक्षेपण विभागको छ । त्यस्तै, कर्णाली प्रदेशको ३ दशमलव ५८ प्रतिशत, प्रदेश– १ को ३ दशमलव ४१ र गण्डकी प्रदेशको २ दशमलव ६८ प्रतिशत आर्थिक वृद्धि हुने विभागको अनुमान छ । 

सबै प्रदेशको आर्थिक क्रियाकलापमा कोभिड–१९ को महामारी र त्यसको संक्रमणबाट जोगाउन गरिएको लकडाउनको असर स्पष्ट रूपमा देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार फागुनसम्मको तथ्यांकको आधार र आउँदो जेठ–असारमा पनि अर्थतन्त्र सामान्य हुने अपेक्षासहित यो प्रक्षेपण गरिएको हो । तर, कोरोनाको असर जेठ–असारमा अझ बढी हुने देखिएकाले आर्थिक वृद्धि झनै घट्ने देखिन्छ ।

‘चैतअघि पनि आर्थिक गतिविधि सोचेजति उत्साहप्रद नभएको तथ्यांकले देखाउँछ,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘अहिलेको प्रक्षेपणले पनि जेठ र असारमा अवस्था सामान्य हुन्छ भन्ने अनुमान गरिएको हो । सामान्य नभए अझ घट्न सक्छ ।’  

तर, बागमती र प्रदेश ५ को वृद्धिदर भने राष्ट्रियभन्दा पनि कम हुने देखिएको छ । चालू आवमा बागमती प्रदेशको वृद्धिदर १ दशमलव २३ प्रतिशत र प्रदेश ५ को आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुने विभागको अनुमान छ ।

गत आवमा प्रदेश २ को वृद्धिदर सबैभन्दा बढी ८ दशमलव १२ प्रतिशत र बागमतीको सबैभन्दा कम ६ दशमलव ४० प्रतिशत थियो । सबै प्रदेशको आर्थिक क्रियाकलापमा कोभिड–१९ को महामारी र त्यसको संक्रमणबाट जोगाउन गरिएको लकडाउनको असर स्पष्ट रूपमा देखिएको विभागले जनाएको छ ।

राष्ट्रिय जिडिपीमा बागमती प्रदेशको योगदान बढी, कर्णालीको कम

तथ्यांक विभागले चालू आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३७ खर्ब ६७ अर्ब हुने अनुमान गरेको छ । सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको छ । राष्ट्रिय जिडिपीमा बागमती प्रदेशको हिस्सा ३५ दशमलव ८४ प्रतिशत छ ।

बागमतीको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा १३ खर्ब ५० अर्ब हुने विभागको अनुमान छ । राष्ट्रिय जिडिपीमा सबैभन्दा कम (४ दशमलव २७ प्रतिशत) योगदान कर्णाली प्रदेशको हुनेछ । कर्णाली प्रदेशको उपभोक्ता मूल्यमा करिब १ खर्ब ६१ अर्ब हुने अनुमान छ ।

अघिल्लो आवमा जस्तै चालू आवमा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान गर्ने प्रदेशहरूमा क्रमशः प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी र सुदूरपश्चिम रहेको विभागले जनाएको छ ।