Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत ललितपुरको हरिहर भवनमा रहेकोे बिउबिजनको विषादी परीक्षण गर्ने प्रयोगशाला । तस्बिर : विनोद विष्ट / नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७७ बैशाख ३१ बुधबार ०७:४७:००
Read Time : > 2 मिनेट
अर्थ

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सुरु

चीनको ग्वान्जाउबाट आपत्कालीनरूपमा ल्याइएको १० हजार थान ‘किट’मार्फत विषादी परीक्षण सुरु

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ बैशाख ३१ बुधबार ०७:४७:००

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सुरु गरेको छ । चीनको गोन्जाउबाट ल्याइएको १० हजार थान किटले विषादी परीक्षण थालेको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । ‘चीनबाट आपत्कालीन सेवाका लागि थोरै परिमाणमा विषादी परीक्षण किट मगाएका थियौँ । अब आयात हुने तरकारीको विषादी परीक्षण निरन्तर अघि बढाइएको छ,’ उनले भने । 

तरकारीको विषादी परीक्षण गर्न कास्कीको पोखरा, काठमाडौंको कालिमाटी, कैलालीको अत्तरिया, बाँकेको नेपालगन्ज, रुपन्देहीको बुटवल, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण एकाइ स्थापना गरिएका छन् ।

सोमध्ये काँकडभिट्टा, सर्लाही, बुटवल र कैलालीमा रहेको एकाइमा किट पठाएर परीक्षण सुरु गरिएको केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख सावित्री बरालले बताइन् । चीनबाट थोरै किट आएकाले बढी तरकारी आयात हुने नाकाको पहिचान गरी आइतबारदेखि परीक्षण थालेको उनले बताइन् । किट अभावमा एक सातासम्म भारतीय तरकारी विषादी चेकजाँच नभई निर्बाध आयात भइरहेका थिए ।

तरकारीको विषादी परीक्षण गर्न कास्कीको पोखरा, काठमाडौंको कालिमाटी, कैलालीको अत्तरिया, बाँकेको नेपालगन्ज, रुपन्देहीको बुटवल, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण एकाइ स्थापना गरिएका छन् ।

किट अभावकै कारण पूर्वी नाका काँकडभिट्टामा २२ चैतदेखि र बाँकेको नेपालगन्जमा रहेको प्रयोगशाला ८ वैशाखदेखि बन्द छ । चीनबाट आएको किट नेपालगन्जको प्रयोगशालालाई उपलब्ध नगराएका कारण अहिले पनि सो एकाइ बन्द अवस्थामा छ । पोखराको प्रयोगशाला ६ महिनादेखि बन्द छ ।

जनशक्ति नभएको र व्यवसायीले समेत परीक्षण नगर्न दबाब दिएका कारण एकाइ बन्द भएको हो । बुटवलमा सबैभन्दा पछि २१ वैशाखदेखि परीक्षण बन्द थियो । भैरहवा नाकाबाट धेरै तरकारी आउने भएका कारण कालिमाटीमा रहेका किटसमेत बुटवलमा लगेर परीक्षण गरिएको थियो । तर, त्यसले पनि नपुगेपछि एकाइ बन्द भएको थियो । किट पुगेपछि गत आइतबारदेखि पुनः बुटवलमा परीक्षण सुचारु छ ।

काठमाडौं कालिमाटीमा रहेको एकाइ गत असोजदेखि नै बन्द छ । आयातीत तरकारीको भन्सार नाकामै विषादी परीक्षण हुने भएकाले कालिमाटीको एकाइ आवश्यक नभएको भन्दै बन्द गरिएको हो । तर, कालिमाटीमा ५० प्रतिशत तरकारी नेपाली किसानको उत्पादन आउने गरेको छ । नेपाली किसानले पनि पछिल्लो समय विषादीको प्रयोग बढाउँदै लगेको विभिन्न रिपोर्टमा उल्लेख छ । यद्यपि, यी तरकारी परीक्षणविनै बजारमा उपलब्ध भइरहेका छन् ।

त्यस्तै, कैलालीको अत्तरियामा रहेको एकाइले किट जोगाउन परीक्षणको संख्या घटाइरहेको थियो । त्यहाँ पनि चीनबाट आएको किट उपलब्ध गराइएको छ । सर्लाहीको नवलपुरमा रहेको प्रयोगशाला बन्द हुने अवस्थामा पुगेका वेला किट उपलब्ध गराएर परीक्षण पूर्ण रूपमा सुचारु गरिएको छ ।

यो एकाइले वीरगन्ज नाकाबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गर्दै आएको चितवनको विषादी परीक्षण प्रयोगशाला लकडाउनभर बन्द छ । भरतपुर महानगरको कृषि बजार बन्द भएकाले परीक्षण गर्न आवश्यकता नभएको भन्दै बन्द गरिएको हो ।

सिंगापुरबाट किट ल्याउन पहल

सिंगापुर विमानस्थलमा रोकिएको २ लाख थान किट ल्याउन कृषि मन्त्रालयले पहल थालेको छ । केन्द्रीय कृषि प्रयोगशालाले २ करोड २५ लाख रुपैयाँको किट ल्याउन टेन्डर गरेको थियो । सो सामान ताइवान हुँदै सिंगापुर आएका वेला लकडाउनका कारण रोकिएको छ ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले सिंगापुरमा रोकिएको किट ल्याउन पर्यटन मन्त्रालयमार्फत पत्राचार भइसकेको जानकारी दिए । ‘सिंगापुरबाट औषधि वा अन्य कुनै सामान बोकेर नेपालमा जहाज आउने भएछ भने विषादी परीक्षण गर्ने किटसमेत ल्याउन पर्यटन मन्त्रालयलाई हामीले जानकारी गराएका छौँ र पर्यटन मन्त्रालयले पनि सिंगापुरको सम्बन्धित निकायलाई यो विषयमा अनुरोध भइसकेको छ,’ उनले भने, ‘सिंगापुरबाट कुनै कन्साइनमेन्ट आयो भने विषादी परीक्षण गर्ने किट पनि आउने अपेक्षा गरेका छौँ,’ उनले भने । सो किटले करिब ६ महिनासम्म परीक्षण गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।