१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २९ सोमबार १४:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लिपुलेक सडकबारे भारतलाई नेपालको विरोधपत्र, राजदूत क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाइयो

Read Time : > 1 मिनेट
२०७७ बैशाख २९ सोमबार १४:१९:००

भारतले नेपालको कालापानी क्षेत्रभित्र झन्डै १३ किलोमिटर भएर लिपुलेकसम्म सडकमार्ग  खोलेको विषयमा नेपालले सोमबार भारतलाई विरोधपत्र (कूटनीतिक नोट) पठाएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर सडक निर्माणबारे नेपालको असन्तुष्टि राखेका छन् । 

स्रोतका अनुसार यथाशीघ्र परराष्ट्रसचिवस्तरीय वार्ताको मिति तोक्न नेपालले प्रस्ताव गरेको छ । 

नेपालले राजनीतिक र कूटनीतिक तहबाट नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सार्वजनिक रूपमा विरोध जनाएको थियो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्को अन्तर्राष्ट्रिय समिति तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई आइतबार सम्बोधन गर्ने क्रममा भारतसँग कूटनीतिक वार्तामार्फत सीमा समस्या समाधान गर्ने बताएका छन् । 

तर, कोरोनाका कारण वार्ता तत्काल हुने सम्भावना भने छैन ।

भारतले १६ कात्तिकमा कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले दुईवटा र भारतले एउटा जवाफी पत्र पठाएका छन् । 

भारतले शनिबार लिपुलेकका सम्बन्धमा जारी गरेको वक्तव्यलाई वार्ताका लागि भारत तयार रहेको अर्थमा नेपालले बुझेको स्रोतको भनाइ छ । कूटनीतिक स्रोतका अनुसार सरकारले भारतलाई गत मंसिरमा पठाएको चिठीको निरन्तरताका रूपमा वार्ताका लागि प्रयास गरेको छ । 

भारतले १६ कात्तिकमा जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी समेटेपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएर विरोध जनाउँदै वार्ताका लागि आग्रह गरेको थियो । नेपालले ४ मंसिरमा पहिलो र त्यसको एक सातापछि दोस्रो पत्र पठाएको थियो ।

भारतलाई पठाएको पहिलो चिठीमा नेपालले कालापानी समेटिएको नक्साका विषयमा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै विदेशसचिवस्तरीय बैठक कहिले बस्न उपयुक्त होला भन्ने जिज्ञासा राखिएको थियो । 

दुवैतिर बलियो सरकार भएको सन्दर्भमा स्थापित संयन्त्रबाट सीमा विवाद टुंग्याउनुपर्ने नेपालको लिखित धारणा पहिलो पत्रमा समेटिएको जानकार स्रोतहरूले बताए । 

यसबारे भारतले प्रतिक्रिया नदिएपछि नेपालले एक सातापछि दोस्रो पत्र पठाएको थियो । दोस्रो पत्रमा भने नेपालले दुईवटा वैकल्पिक मिति प्रस्ताव गरेको थियो । 

पत्रमा पहिलो मिति डिसेम्बर पहिलो साता (मंसिर १६ देखि २३) का कुनै पनि दिन भनिएको थियो भने यसमा सम्भव नभए डिसेम्बर तेस्रो साता (मंसिर ३० देखि ६ पुस)को कुनै दिन वार्तामा बस्न नेपाल तयार भएको उल्लेख थियो ।

नेपालले दोस्रो चिठी पठाएको एक महिनापछि भारतले जवाफी चिठी पठायो, तर नेपालले उल्लेख गरेका विषयमा जवाफ आएन । 

स्रोतका अनुसार भारतले वार्ताबाट समस्या समाधान गर्न तयार रहेको औपचारिक जवाफ मात्रै पठाएको छ । 

यसबाहेक परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय समकक्षी हर्षबर्धन श्रृंगलालाई पठाएको बधाई सन्देशमा र राजदूत नीलाम्बर आचार्यले उनलाई भेटेर पनि विदेश सचिवस्तरी वार्तामा जोड दिएका  थिए ।