मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निर्मार्णाधीन बञ्चरेडाँडा फोहोर प्रशोधन केन्द्र ।
२०७७ बैशाख २८ आइतबार १०:२७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

म्याद सकिँदा पनि बन्चरेडाँडा फोहोर प्रशोधन केन्द्र अधुरै 

सिसडोलमा फोहोरको पहाड, वर्षायाममा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या हुने 

Read Time : > 3 मिनेट
२०७७ बैशाख २८ आइतबार १०:२७:००

लकडाउनका कारण बन्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम प्रभावित बनेको छ । समयमा प्रशोधन केन्द्र तयार नहुँदा यस वर्षको वर्षायाममा काठमाडौंको फोहोर व्यवस्थापन गर्न समस्या हुने भएको छ । 

हाल प्रयोगमा रहेको अस्थायी सिसडोल फोहोर प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी फोहोर थुपारिएको छ । अब सिसडोलमा फोहोर फ्याँक्ने ठाउँ बाँकी छैन । ल्यान्डफिलसाइट आसपाससमेत क्षमताभन्दा बढी फोहोर थुपारिएका छन् । नजिकैको कोल्फु खोलामा फोहोरबाट निस्किएको हानिकारक ‘लिक्विड’ बग्छ । यही दूषित र हानिकारक पानी स्थानीयको भान्सासम्म पुगिरहेको छ । अव्यवस्थित प्रशोधन केन्द्रका कारण स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ । 

गत पुसमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित उपत्यकाका मेयरहरूको टोलीले निर्माणाधीन ल्यान्डफिल्डसाइटको अवलोकन गरेको थियो । त्यसवेला निर्माण कम्पनीले फागुन मसान्तभित्र काम सम्पन्न हुने र फोहोर व्यवस्थापन गर्न सहज हुने भन्दै नयाँ कार्यतालिका पेस गरेको थियो । तर, ठेकेदार कम्पनीले नयाँ कार्यतालिकाबमोजिम काम गरेन । 

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले प्रशोधन केन्द्र निर्माणमा भएको प्रगति र ढिलाइबारे बोल्न चाहेनन् । ‘दश वर्षदेखि अलपत्र प्रोजेक्ट एक वर्षदेखि मैले हेर्दै आएको छु, अहिले मैले मात्रै जवाफ दिनुपर्छ भन्ने लाग्दैन । मसँग यसको जवाफ छैन । काम गर्न चाहने हो भने अब एक महिनामा काम सकिन्छ, तर त्यसका लागि निर्माण सामग्री र जनशक्ति दुवैको व्यवस्थापन हुनुपर्छ,’ मैनालीले भने । काठमाडौं महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले प्रशोधन केन्द्र निर्माणमा आधाभन्दा बढी काम भइसकेको बताए ।

सहरी विकास राज्यमन्त्री मानन्धरले भने प्रशोधन केन्द्र निर्माणलाई आफूले प्राथमिकतामा राखेर ताकेता गरिरहेको बताए । उनले भने, ‘निर्माणको काम धमाधम भइरहेको छ, यसअघि नै काम सकेर १ वैशाखदेखि फोहोर खसाल्ने तयारी भएको थियो । तर, काम पूरा भएन । ठेकेदारलाई यथाशीघ्र काम सक्न निर्देशन दिएको छु ।’ निरीक्षणका लागि बन्चरेडाँडा पुगेका सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले असार मसान्तबाट बन्चरेडाँडामा फोहोर व्यवस्थापनको काम थाल्ने गरी पूर्वाधार निर्माणको काम पूरा गर्न निर्देशन दिएर फर्किएका छन् । 

आधा मात्रै काम

सहरी विकास तथा भवन निर्माण विभागले नुवाकोट र धादिङको सीमास्थित बन्चरेडाँडामा आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउन गत वर्ष २२ वैशाख ०७६ मा लुम्बिनी/कोसी एन्ड न्यौपाने जेभीलाई ठेक्का दिएको थियो । सम्झौताअनुसार गत २२ वैशाखमा म्याद सकिएको छ । तर, केन्द्र निर्माणको काम आधाभन्दा अघि बढेको छैन । निर्माण सामग्री अभाव, ढुवानी र मजदुरको समस्यालगायत कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको हो । १५ मिटर अग्लो फिल्टर बाँधसहितको ट्रिटमेन्ट प्लान्टसहितका संरचना बनाउने इस्टिमेट छ । प्रशोधन केन्द्रमा अहिले सतहको काम मात्रै भइरहेको छ । त्यसमाथि जियोमेमरेन राखेर लिक्विड कलेक्सन पाइप राख्नुपर्छ । त्यसका लागि नेपालमा दक्ष कामदारसमेत छैनन् ।

प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र बनाउन सरकारले बन्चरेडाँडा, सिसडोल र ओखरपौवाका स्थानीयको एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणमा मात्रै ६२ करोड खर्च भइसकेको छ । फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित चार सय ७२ रोपनी जग्गा छ । ठेकेदार कम्पनी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीले भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार आठ सय ९५ रुपैयाँमा काम पूरा गर्ने सम्झौता गरेको थियो । विभागले अहिलेसम्म ६ करोड ८० लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । कम्पनीले गत २२ पुसमा परिवर्तित कार्यतालिका बुझाए पनि सोअनुसार काम नगर्दा काममा ढिलाइ भएको विभागले जनाएको छ । हाल प्रयोगमा रहेको सिसडोल र आसपास फोहोरले भरिएका कारण फोहोर लैजाने सवारी फस्ने भएकाले वर्षायाममा फोहोर पुर्‍याउनै समस्या हुने स्थानीय बताउँछन् । काठमाडौं महानगरका वातावरण विभागका प्रमुख श्रेष्ठले भने बन्चरेडाँडा ल्यान्डफिल्डसाइट तयार नभइन्जेल सिसडोलमै फोहोर फ्याँक्ने गरी तयारीमा रहेको बताए । 

                                                           सिसडोलमा फोहोरको थुप्रो ।

२५ वर्षदेखि प्रशोधन केन्द्र निर्माणमा अलमल

सरकारले बन्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भन्दै पहल थालेको २५ वर्ष बितेको छ । तर, सधैँ अलमल मात्रै भइरहेको छ । बरु ३६ महिनाका लागि फोहोर फाल्न स्वीकृति लिएको सिसडोल अस्थायी फोहोर प्रशोधन केन्द्र १४ वर्षसम्म प्रयोगमै रहेको छ । ०५१ सालमै बन्चरेडाँडामा फोहोर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको सरकारले ०६२ सालपछि बल्ल फिल्डमा काम थाल्यो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४० वर्षे सम्झौता गरेर बन्चरेडाँडामा प्रशोधन केन्द्र बनाउने सरकारको योजना थियो । 

आफ्नो जग्गाको मुआब्जा पाइने र गाउँमा सडक, अस्पतालजस्ता पूर्वाधार विकाससँगै रोजगारी पनि मिल्ने आश्वासनपछि स्थानीयले स्वीकृति दिए । सरकारले तत्कालका लागि दुई किलोमिटर वरको सिसडोलमा तीनवर्षे सहमति गरेर चार सय ५१ रोपनी जग्गा अधिग्रहण गर्‍यो र फोहोर थुपार्न थाल्यो । तर, सहमतिबमोजिम प्रशोधन केन्द्र नबनेको र सिसडोलमा थुप्रिएको फोहोरले प्रदूषण फैलिएको भन्दै स्थानीयले पटक–पटक विरोध गरिरहे । सरकारले हरेकपटक विभिन्न आश्वासन दिएर स्थानीयलाई झुलाइरह्यो । सम्झौताबमोजिम बन्चरेडाँडामा प्रशोधन केन्द्र निर्माणका लागि निर्धारित समयमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नै हुन सकेन । ०६६ सालमा बल्ल वातावरणीय प्रभाव मूल्यांकन भयो । स्थानीय विकास मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत ठेक्कामार्फत काम थाले पनि सर्वोच्चमा मुद्दा पर्‍यो र काम हुन पाएन । 

०६८ मा डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बन्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र बनाउने जिम्मा लगानी बोर्डलाई दियो । बोर्डले प्रशोधन केन्द्र निर्माण सहरी विकास मन्त्रालयअन्तर्गत अगाडि बढायो र फोहोर व्यवस्थापनको काम नेप वेस्ट नामक निजी कम्पनीमार्फत गर्न सहमति गर्‍यो । तर, स्थानीय तहमा जनप्रतिनिधि आएपछि लगानी बोर्डले निजी कम्पनीलाई फोहोर व्यवस्थापन गर्न दिएको जिम्मेवारी स्वीकार गरेनन् । त्यसपछि फोहोर व्यवस्थापनबाट लगानी बोर्डले हात झिकेको थियो ।